लकडाउनका १०० दिनहरू : तथ्य तथा अनुभूति



२२ असार २०७७, काठमाडौं

केहि दिनदेखि नै घरमै क्वारेन्टाइनमा थिए । विश्व–विद्यालयका पढाईहरू बन्द भईसकेका थिए । सोच्थे यो के भईरहेको होला ? चीनमा भाइरसले वितण्डा मच्चाईरहेको थियो । चीनकी राजदूत होउ यान्छी एक कार्यक्रममा रूँदै भन्दै थिईन्–‘चीनलाई तपाईंहरूको सहयोग र माया चाहिएको छ’ स्टेफन हकिन्सलाई मैले धेरै सम्झिरहेको थिए । उनी भन्थे–‘मानिसले पृथ्वी माथि यसरी नै दोहन गर्दै जाने हो भने केहि सय वर्षमा नै मानव अस्तित्व लोप हुनेछ ।’

प्रकृति माथिको दोहन उन्नाइसौं–बिसौं शताब्दीमा नै यूरोप–अमेरिकाले अत्याधिक मात्रामा गरिसकेका थिए । क्वान्टम थ्योरी अनुसारको विकास नै मानव सभ्यताको विकासका मानकहरू हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्न थालिएको विश्वमा सयौं वर्ष भईसकेको थियो । जुन विकासले पृथ्वी माथिको भार एकातिर थेगी नसक्नु भएको थियो भने अर्कोतिर पर्यावरणमा देखिएका अनियमितता र विचलन पृथ्वीमा डरलाग्दो भएर आईरहेको पाईन्थ्यो । यसैको पृष्ठभूमीमा नै केहि बर्षहरूका अन्तरालमा देखापर्ने गरेका नयाँ–नयाँ रोगहरू तथा जीवाणुहरूले मानव अस्तित्व माथि नै धावा बोल्ने गरेको पाईन्छ ।

ईस्वी सम्वत् २०१९ डिसेम्बरको अन्तिम साता तिर चीनको वुहान प्रान्तमा एकजना चिनीयाँ नागरिकले चमेरोको मासु खाए रे । त्यहाँका मानिसहरू जंगली जीवजन्तु र पशुपंक्षीको मासु खान संसारमै कहलिएका मानिसहरू हुन् रे । ‘वुहान’ को अर्थ पनि त्यस्तै जंगली जनावरसँग सम्बन्धित छ रे । चमेरोको मासु खाएपछि उक्त मानिसलाई ज्वरो आउने र श्वास प्रश्वासको समस्या भएर केहि दिन पछि नै मृत्यु भएको थियो रे । किन यस्तो भयो ? भनेर अनुसन्धान गर्दा यसको कारण त्यहाँको एक जना डक्टरले पत्ता लगाएकी जुन एउटा खतरनाक भाइरस थियो । जसलाई आज ‘कोभिड–१९’ भनेर नाम दिईएको छ । केहि दिन पछि त्यो भाइरस संंक्रमण भएर उक्त डाक्टरको पनि मृत्यु भयो । यो खतरनाक भाइरस श्वास प्रश्वासको माध्यम हुँदै एक ब्यक्तिबाट अर्को ब्यक्तिमा संक्रमण हुने रहेछ । त्यतिमात्र हैन अन्य कुनै सतहमा पनि यो भाइरस घण्टौ बाँच्न सक्ने रहेछ ।

त्यसपछि चीनको वुहानमा भाइरसको संक्रमण तिब्र भयो । पचासौं हजार मानिसहरू यसबाट संक्रमित भए र भटाभट मानिसहरूको मृत्यु हुन थाल्यो । यद्धपी यो भाइरसको उत्पत्ति, स्रोत तथा बिशेषताहरुको बारेमा आजभोलि धेरै अड्कल बाजीहरू गर्न थालिएका छन् । भर्खर विश्व स्वास्थ्य संगठनले यसको स्रोत पत्ता लगाउने हेतुले अध्ययनको लागि एउटा टोली चीन पठाउने निर्णय गरेको छ । यद्धपी अझै पनि बाँसको पर्दा भनेर चिनिने चीनको भूगोल र राज्य व्यवस्थाको बारेमा सारा बिश्व केबल अडकलबाजीमै सिमित छ ।

यो भाइरस वुहानमा मात्र सिमित नभएर विश्व बिचरण गर्न हजारौं उडानहरुको माध्यमबाट युरोप तथा अमेरिका पुग्दै थियो । त्यसबेला यूरोप र अमेरिका भने चीनमा भाइरसले देखाएको तबाईको तमासा हेर्दै थिए र भन्दै थिए–‘चिनियाँ भाइरस तथा वुहान भाइरस’ भनेर । जब भाइरसले चीन पछि पहिलो पटक युरोपको इटाली र स्पेनमा तहल्का मच्चाउन थाल्यो । ईटाली र स्पेनमा भाइरस बुलेट ट्रेनको गतिमा अगाडि बढन थाल्यो र अलि पछिबाट अन्यत्र पनि यसको संक्रमण देखिन थाल्यो । अनि भाइरस संक्रमणबाट बँच्न ती देशरूले जताततै लकडाउनको घोषणा गर्न थाले । अमेरिकामा पनि यो भाइरस युरोपबाट हजारौं उडानहरुको माध्यम विभिन्न शहरहरुमा छिर्‍यो र शुरूमा न्यूयोर्कलाई तहश–नहश बनाउन थाल्यो ।

यसै शिलशिलामा नेपाल सरकारले पनि सम्भाव्य भाइरस संक्रमणको जोखिमलाई मध्यनजर राख्दै २०७६ साल चैत्र ११ गतेबाट सम्पूर्ण देशमा बन्दाबन्दीको घोषणा गर्ने निर्णय गर्‍यो । केहि दिन देखिनै म घरमा थुनिएकै थिए । केहि फुर्सदमा हुने नै भईयो । सानै देखिको लेख्ने बानीलाई निरन्तरता दिन्छु भन्दै केहि भारी मन लिएर बन्दाबन्दीको पहिलो दिनबाट नै लेख्ने कार्यको शुरुवात गरेको थिए ।

संसारमै यो भाइरसको चाँडै अन्त्य हुनेछ भन्ने आशामा लेख्न थालेको थिए । मेरो अनुमान यस्तै थियो कि करिब दश–पन्ध्र दिनमा यो संकट विश्व बाट नै सकिनेछ । तर आज सय दिन भएछ यो डायरी लेख्न थालेको । चिकित्सा विज्ञान माथि मलाई ठूलो भरोषा थियो तर अहिले यो बिज्ञान आफैं हायल–कायल र अन्यौल भएको देखिन्छ । यो बन्दाबन्दीको सय दिनलाई डायरीमा लेख्दा ५०० पेज भएछ । बिचबिचमा पत्रिकाहरूलाई लेखनका केही अंशहरू उपलब्ध गराउँदै आएको पनि छु ।

हाम्रो देशमा भाइरस संक्रमितहरु कहिल्यै नहुन् । अझ मृत्युको खबर कहिल्यै सुनै नपरोस् भन्ने आशा र केही त्रासमा यो डायरी लेख्न थालेको थिए तर आज हजारौं संक्रमितहरू र केहि मृत्युका खबरहरूलाई दैनिक गिन्ती गरिरहनु पर्दा मन साहै्र भारी भईरहेकोछ । सोच्दै पनि छु–अब यो भाइरस डायरी लेखनको शिलशिलालाई पनि यहि रोकिदिनु पर्ला । पछिका पिढीलाई केहि जानकारी र पाठ होस् भन्ने ईच्छा पनि हो । अहिलेको बिकसित यो संचार जगतमा तथ्य तथा तथ्यांक संकलनको कमि पनि नहोला ।

आजभोलि, एकातिर देशमा बिभिन्न संकटका पीडाहरू भाइरस सँगसँगै जताततै छताछुल्ल हुन थालेका छन् भने अर्कोतिर देश तथा विश्वमै कुनै गतिलो अभिभावक नै नभएको जस्तो देख्दा एक किसिमको ग्लानी पनि हुँदो रहेछ । यहि प्रसंगमा यदि ईश्वर कतै छन् भने अहिले उनीसँग प्रार्थना गर्न मन लागेको छ–‘हे भगवान ! यो विश्वभरिका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई अब अरू दुःख नदेउ । यो भाइरसबाट सबैले चाँडै छुटकारा पाईयोस् ।’

डायरीमा लेखिएका तथ्य तथा तथ्यांकहरूको सानो झलक हेरौं है त !

२०७६–१२–११
आज लकडाउन को पहिलो दिन हो । काठमाडौं पूर्णतः सुनसान छ । धेरै मानिसहरू घर बाहिर निस्केका छैनन् । सवारी साधनहरू पनि सडकमा चलेका छैनन् । यस्तो लाग्छ कि काठमाडौंमा एक किसिमको कर्फयू नै लागेको छ । जनताले लकडाउन सम्बन्धी सरकारको निर्देशनलाई साथ दिएका छन् । आज साँझ सम्म देशभरिमा ६१० जनाको कोरोना परिक्षण गर्दा एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । यो साह्रै खुशीको खबर हो । देश बाहिर भने न्यूयोर्कमा एकजना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको समाचार छ । संसारभरी भने करिब ४ लाख मानिसहरू यो भाइरसबाट संक्रमित भएका छन् र करिब १६,००० भन्दा बढिको मृत्यु भईसकेका छ ।

२०७७–१–१
आज लकडाउनको एक्काइसौं दिन हो । नेपाली नयाँ बर्ष पनि हो । बिसौं दिन देखि बिश्वका चौबिसौं घण्टा चलायमान हुने शहरहरू आजभोलि ठप्प छन् । सब बन्दाबन्दीमा छन् । सबैको लागि यो अकल्पनीय बिषय भएको छ । हाम्रो देशमा भने भाइरस भन्दा खतरा अब भोकमरी आउने पो होकि भन्ने डर बढिरहेको छ । मानिसहरूका काम तथा रोजगारहरू गुम्न थालेका छन् । आजसम्म देशमा कोरोना संक्रमित हरूको संख्या १४ पुगेको छ । बिश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्,‘यो कोरोना भाइरस स्वाईन फ्लु भन्दा दश गुणा खतरनाक छ । भ्याक्सिन बिना यसलाई कसैगरी पनि रोक्न सकिदैन ।’ तर कोरोना भाइरस को कुनै औषधी तथा खोप बनाउँन बिज्ञान आजसम्म पूर्णतः असफल भएको देखिन्छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भने कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी भन्दै थिए,‘मलाई त्यसबेला जे पनि हुन सक्थ्यो’ अमेरिकाको न्यूयोर्क शहर भाइरस संक्रमणले आक्रान्त छ । त्यहाँ आजसम्म १०,०५६ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा संक्रमितहरूको संख्या बिश्व मै सर्वाधिक ५,८६,९४१ पुगेको छ । दोस्रो र तेस्रो देशहरूमा स्पेन र इटाली रहेका छन् ।

२०७७–१–२१
आज लकडाउनको ४१ औं दिन हो । आजसम्म देशभरीमा कोरोना भाइरस संक्रमितहरूको संख्या ७५ पुगेको छ । अब सरकारले कोरोना भाइरस सम्बन्धी महत्वपूर्ण कामहरूको जिम्मा नेपाली सेनालाई दिने रे । देशभरिमा आजसम्म पीसीआर विधिबाट १३,४१४ र आरडिटी विधिबाट ४९,६८८ जनाको कोरोना परीक्षण गरिएको छ । यद्धपी आरडिटी विधि भरपर्दो छैन रे । संसारले यसलाई प्रयोग नगरेर खारेज गरिसकेका छन् । गैरआवासीय नेपाली संघले भनेको छकी आजसम्म नेपाल बाहिर बिभिन्न देशहरुमा रहेका ७३ जना नेपालीहरूको कोरोना भाइरस संक्रमणबाट मृत्यु भईसकेको छ । त्यस्तै ५,२४७ जनाको संख्यामा भारत बाहेक विदेशमा नेपालीहरू संक्रमित भएका छन् रे । बिश्वभरीमा भने संक्रमितहरू को संख्या बढेर ३५,६३,६८९ पुगेको छ । त्यसमध्ये आजसम्ममा ११,५३,८४७ जना निको भएका छन् भने २,४८,१४६ जनाको मृत्यु भएको छ । आजसम्म सर्वाधिक संक्रमित हुने प्रमुख तीन देशहरूमा अमेरिका (११,८८,१२२), स्पेन (२,४७,१२२) र इटाली (२,१०,७१७) रहेका छन् ।

२०७७–२–३
आज लकडाउन को ५४ औं दिन हो । आज कोरोना भाइरस संक्रमणबाट देशमा पहिलो पटक एक जना महिलाको मृत्यु भएको छ । यो दुःखदायी खबर छ । मैले भाइरस संक्रमणको कारण कसैको मृत्यु नहोस् भनेर गरेको कामना पुरा भएन । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे निवासी तर काठमाडौंमा नै ब्यवसाय गरेर बसेकी ती महिला २९ बर्षकी रहीछिन् । उनी आठ दिनको सुत्केरी पनि रहिछिन् । उनी केहि दिन अगाडि आफ्नो घर सिन्धुपाल्चोक गएकी रहिछन् र स्वास्थ्यमा समस्या भएर धुलिखेल अस्पतालमा ल्याई उनलाई सायद एक दिन अगाडि भर्ना गरिएको थियो । उपचारको क्रममा धुलिखेल अस्पतालमै उनको निधन भएको छ । बच्चा भने सकुशल छन् रे । नेपाली सेनाले सुरक्षित तवरले उनको शवलाई पशुपतिको बिद्युतीय शबदाह गृहमा ब्यवस्थापन गरेको जानकारी छ ।

२०७७–२–२०
देशमा लकडाउन गरिएको आज ७१ औं दिन भएको छ । भाइरसबाट संक्रमित हुनेहरूको संख्या देशमा बढिरहेको देखिन्छ । बिश्व स्वास्थ्य संगठनले भनेको छ की नेपालमा संक्रमण बढ्ने सम्भावना भयावह देखिन्छ । तर लकडाउन खोल्नु पर्दछ भन्ने आवाजहरू देशमा जताततै उठन थालेका छन् । विरोध प्रदर्शनहरू पनि हुन थालेका छन् । आजसम्म देशभरीमा भाइरस संक्रमित हुनेहरूको संख्या भने २,०९९ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा बस्नेहरूको संख्या १,४५,३७५ पुगेको छ । भाइरस संक्रमणबाट मृत्यु हुनेहरूको संख्या भने देशमा आजसम्म ८ पुगेको छ । भाइरस संक्रमणको केन्द्र बिन्दु रहेको अमेरिकामा भने एकजना अश्वेत नागरिक जर्ज फ्लोईडलाई पुलिसले घाँटी थिचेर मारिदिए पछि त्यहाँ देशभरि हिंसा भड्किएकोले करिब चालिस राज्यहरूमा कर्फयू लगाईएको छ । लाखौं मान्छे बिरोध प्रदर्शनको लागि रोडमा आएका छन् । अब यो प्रदर्शनले त्यहाँ भाइरस संक्रमण झन बढ्ने अनुमानहरू गर्न थालिएको छ । आजसम्म भाइरसबाट बिश्वमा संक्रमित हुनेहरूको संख्या भने ६४,४१,२८२ पुगेको छ र मृत्यु हुनेको संख्या ३,८१,८५९ पुगेको छ ।

२०७७–३–८
देशमा आज लकडाउनको ९१ औं दिन हो । रसुवा बाहेक देशभरिका ७६ ओटै जिल्लाहरुमा भाइरसका संक्रमित बिरामीहरू देखिएका छन् । आजसम्म संक्रमितहरूको संख्या देशभरिमा ९,५६१ पुगेको छ । त्यस्तै आईसोलेशनमा रहनेहरूको संख्या आजसम्म ७,७८९ पुगेको छ । गैरआवासीय नेपाली संघले भनेको छ की बिश्वका बिभिन्न देशहरुमा संक्रमित हुने नेपालीहरूको संख्या १७,७९२ पुगेको छ ।

बिश्वमा भने भाइरस संक्रमण र मृत्युदर दुबै न्यून हुन थालेपछि लकडाउन खुकुलो पार्दै स्पेनले युरोपबाट आउने पर्यटकहरूको लागि लागू गरेको क्वारेन्टाइनको ब्यवस्था हटाएको छ । फ्रान्सले पनि लकडाउन खुकुलो गरेको छ । रसिया बाहेक युरोपका धेरै देशहरू अब सामान्य हुने कोशिष गर्दै रहेको पाईन्छ । संसारभरिमा भने संक्रमितहरूको संख्या आजसम्म ९१,८२,५७५ पुगेको छ । त्यस्तै भाइरस संक्रमणबाट निको हुनेहरूको संख्या पनि बढेर ४९,१६,९१४ पुगेको छ । अमेरिकामा भने भाइरस संक्रमित हुनेहरूको संख्या फेरि बढ्न थालेको छ ।

२०७७–३–१७
देशमा लकडाउन भएको आज ठ्याक्कै १०० दिन भयो । हाम्रा दिनचर्याहरू खासै बदलिएका छैनन् । देशमा कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गईरहेको देखिन्छ । तर क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने घट्दै गएको छ । यातना गृह जस्ता छन् क्वारेन्टाइनहरू भन्ने आवाजहरू धेरैले धेरै दिन अगाडि देखि नै उठाईरहेका छन् । यद्धपी आज मात्र पनि क्वारेन्टाइनमा बस्नेहरूको संख्या ४८,३६२ रहेको छ । यो कुनै दिन १,५०,००० भन्दा माथि पुगेको थियो । आजसम्म देशभरिमा भाइरसबाट संक्रमित हुनेहरूको संख्या १४,०४६ पुगेको छ । जसमध्ये महिला १,७७४ र पुरूष १२,२७२ रहेका छन् । देशका ७७ ओटै जिल्लाहरु भाइरस बाट संक्रमित भईसकेका छन् । त्यस्तै अस्पतालहरूबाट आजसम्म डिस्चार्ज हुनेहरूको संख्या ४,६५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्दै थिएकी संक्रमित हुनेहरूमा बालबालिकाहरूको संख्या आजसम्म २,०६१ रहेको छ जुन धेरै हो । तसर्थ हामीहरूले बालबच्चाहरूको स्वास्थ्यमा बिशेष ध्यान दिनु आवश्यक छ । एकजना पुरूष सहित मृत्यु हुनेहरूको संख्या भने देशभरिमा आजसम्म जम्मा ३० पुगेको छ । यो धेरै दुःखदायी छ ।

बिश्वमा भने कोरोना भाइरस संक्रमित हुनेहरूको संख्या एक करोड नाघेको केहि दिन भईसकेको छ । गएको २४ घण्टामा बिश्वमा संक्रमित हुनेहरूको संख्या १,०७,९५,१०० पुगेको छ । गएको २४ घण्टामा मात्र सर्वाधिक १,९६,९०१ जना मानिसहरू बिश्वमा कोरोना भाइरसबाट संक्रमित भएका छन् । यस्तै संक्रमणबाट निको हुनेहरूको संख्या पनि बढेर ५९,३४,९९४ पुगेको छ । भाइरस संक्रमणको कारण आजसम्म संसारमा मृत्यु हुनेहरूको संख्या भने ५,१८,०५८ पुगेको छ ।

अमेरिका अहिले भाइरस संक्रमणको केन्द्र बिन्दु रहेको छ । संक्रमण घट्दै गईरहेका अवस्थाबाट एकाएक अमेरिका पुन तिब्र संक्रमण बृद्धिको अवस्थामा आईपुगेको हो । गएको २४ घण्टामा मात्र अमेरिकामा आजसम्म कै सबैभन्दा बढी ब्यक्तिहरू ५१,०९७ जना संक्रमित भएका छन् । आजसम्म त्यहाँ संक्रमित हुनेहरूको संख्या २७,७९,९५३ पुगेको छ । अमेरिकाले आजसम्म देशभरिमा ३,४८,५५,६४२ जनाको भाइरस परीक्षण गरिसकेको छ जुन संख्यामा संसारमै सबैभन्दा धेरै हो । अमेरिकाको कुल जनसंख्या भने ३३ करोड भन्दा माथि रहेको छ । त्यस्तै अमेरिकामा भाइरस संक्रमणको कारण आजसम्म १,३०,७९८ जनाको मृत्यु भैसकेको छ । उता राष्ट्रपति ट्रम्प भने भन्दै थिए, ‘अमेरिकाबाट अब भाइरस चाँडै नै हराउँदै छ ।’

शाशकहरु कतिसम्म सन्की हुन्छन् भन्ने कुरा यी राष्ट्रपति ट्रम्पलाई हेरे पुग्छ । रोम जलिरहेको छ–निरो बाँसुरी बजाइरहेको छन् भने जस्तै छन् अमेरिकी राष्ट्रपति ट्रम्प । बल्ल आज उनले भनेका छन्, ‘सबै अमेरिकीहरूले मास्क लगाउँदा राम्रो नै हुनेछ ।’  नत्र यिनले आजसम्म कहिल्यै मास्क लगाउनु भनेर आफ्ना जनतालाई भनेका थिएनन् । उनी भन्थे, ‘यो अमेरिकीहरूको स्वतन्त्रताको कुरा हो ।’ उनले पनि आफूले आजसम्म कहिल्यै मास्क लगाएका छैनन् । आज एकजना सीएनएनकी महिला पत्रकार भने यिनलाई उडाउँदै भन्दै थिईन, ‘यिनका कुरा के पत्याउनु भनेर ।’ उता अमेरिकाका संक्रमण रोग बिशेषज्ञ डक्टर एन्थोनी फाउची भन्दै थिए,‘ अमेरिकामा संक्रमित हुनेहरूको संख्या चाँडै नै प्रतिदिन एकलाख सम्म पुग्न सक्नेछ ।’ स्वास्थ्य बिज्ञहरुले यो पनि भनिरहेका छन् कि ‘अमेरिकामा प्रतिदिन सबैभन्दा धेरै संक्रमित हुनेहरूको संख्या (उच्च बिन्दु) यहि जुलाई–४ मा हुनेछ ।’

अहिले अमेरिकाका बिभिन्न ३७ राज्यहरूमा संक्रमणको दर बढिरहेको छ । संक्रमित हुनेहरूमा अधिकांश ३५ बर्ष मुनिका मानिसहरू रहेका छन् । धेरै राज्यहरूमा पुनः सामुन्द्रिक बिचहरू, बारहरू र इन्डोर डाईनिङहरू पूर्णतः बन्द गरिएका छन् । एरिजोना, टेक्सास र फ्लोरिडाका अस्पतालहरू भरिभराउ भैसकेका छन् ।

धेरै संक्रमित र मृत्यु हुनेहरूको दोस्रो बरियतामा भने ब्राजिल पुगेको छ । त्यहाँ आजसम्म संक्रमितहरूको संख्या १४,५३,३६९ र मृत्यु संख्या ६०,७१३ पुगेको छ ।

अन्त्यमा, विश्व स्वास्थ्य संगठनका प्रमुखले हालसालै भनेका छन् कि ‘भाइरस संक्रमणका खराब दिनहरू आउन अझै बाँकी छन् । हामीहरू सचेत हुनु जरूरी छ । तसर्थ हामी  सबैले मास्क लगाऔं र सामाजिक दूरी कायम गरौ’ निश्चय नै तपाई–हाम्रा अनुशासन र ब्यवहारले नै यो भाइरसबाट बच्न सकिने रहेछ । त्यसैले हामीहरू सचेत रहौं र स्वास्थ्य सम्बन्धि सबै नियमहरूको पालना गरौं ।

धन्यवाद !

पुनश्चः माथिका तथ्यांकहरूमा नेपालको तथ्यांक संबन्धित दिनको २४ घण्टाको आधारमा स्वास्थ मन्त्रालयले गर्ने दैनिक प्रेश ब्रिफिङबाट लिईएको हो । त्यस्तै बिश्वको भने २४ घण्टाकै आधारमा worldometer.info र बिभिन्न संचार माध्यमहरूबाट लिईएका हुन् ।

यो पनि पढ्नुहोस् : 

भाईरसबाट छुटकारा पाउने कोशिष गर्दैछ, न्यूयोर्क

किन जल्दैछ अमेरिका ?

सुरक्षित रहँदै अरूलाई सहयोग गरौं !

प्रतिक्रिया दिनुहोस्