किन जल्दैछ अमेरिका ?



०२ असार २०७७, काठमाडौं

पूर्ण लकडाउनको ८३ औं दिन पछाडिबाट सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । यसै प्रसंगमा देशभरि ब्यापार–व्यवसाय खुलेका समाचारहरू आइरहेका छन् । काठमाडौंमा प्राय: सबै पसलहरू खुलेका छन्  । निजी सवारी साधनहरू प्रशस्त चलेका छन् र मानिसका चहल पहलहरू बढेका छन् । संक्रमितहरूको संख्या भने प्रतिदिन बढिरहेको छ । संक्रमित हुनेहरूको संख्यामा २३५ बालबालिका र अन्यमा अधिकांश युवाहरु पाईएको भनिएको छ । बृद्धाहरूको संख्या भने १५ को मात्र हाराहारीमा रहेको छ रे ! यो यूरोप–अमेरिकामा देखिने गरेको अनुपात भन्दा नितान्त भिन्न छ । यसले हामीलाई थप सतर्क हुनको लागि संकेत गरेको
छ ।

नेपालमा भाईरस संक्रमणको उच्च बिन्दु साउनको अन्तिम तिर आउने र यो लामो समयसम्म रहिरहने अडकल बाजीहरू केहि बिज्ञहरूले गरेका छन् । उनीहरुको भनाई अनुसार यहाँ संक्रमणको महामारी अहिलेसम्म आएको छैन । त्यसलाई आउन नै नदिने केहि उपायहरू छन् की ? अब सरकारले भाइरस परीक्षणको दायरा हरेक दिन बढाउने प्रयाश जतिसक्दो छिटो–छिटो गर्नुपर्दछ । यो भाइरसको उपचार पद्धति भनेकै ट्रेसिङ्ग,  टेष्टिङ  र आईशोलेशन हो । हामीले अहिलेको देशको  प्रतिदिन परीक्षण संख्यालाई दोब्बर गरिदिदा संक्रमितको संख्या पनि दोब्बर हुनसक्दछ । अहिलेको प्रतिदिन संक्रमितहरू बढिरहेको संख्याले यस्तै हुने कुरालाई  ईङ्गित गरेको छ । यद्धपि सरकारले अझै परीक्षण बढाउँदै लैजाने कुराहरू गर्दै आएको छ । निजी मेडिकल कलेजहरूलाई पनि अब परीक्षण गर्न दिईने भनिएको छ ।

कोरोना भाईरस : बिश्व समसामयीकी
जर्ज फ्लोईडको हत्यापछि अश्वेतहरूको प्रदर्शन (आन्दोलन) यूरोप–अमेरिकामा ब्यापक बन्न थालेपछि कोरोना भाइरसको दोस्रो लहर अमेरिकामा आउन थालेको अडकल बाजीहरू गर्न थालिएको छ । साथै राष्ट्रपति ट्रम्पले देशव्यापी चुनावी अभियान संचालन गर्ने भएपछि पनि त्यहाँ भाइरस संक्रमणको दर बढ्ने संकेतहरू गरिएको छ । यसै प्रसंगमा डा. एन्थोनी फाउचीले भनेका छन् “राष्ट्रपति ट्रम्पको सम्भाव्य र्‍यालीले ठूलो खतराको संकेत गरेको छ । यदि र्‍यालीमा जानु नै छ भने कृपया सबैले माक्स लगाऊनु होला ।”

चीनको बेजिङमा दुई महिना पछाडि सात जना नयाँ संक्रमितहरू देखिएपछि WHO ले यसलाई दोस्रो लहरको संकेत हुनसक्ने भनेको छ । बेइजिङका प्रमुख ठाउँहरूलाई अहिले लकडाउन गरिएको छ । समग्र चीनमा नै अप्रील पछाडि गएको २४ घण्टामा सबैभन्दा धेरै ५७ जना ब्यक्तिहरूमा थप संक्रमण देखिएको थियो ।

उता बेलायतमा भने सरकारले भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न निर्धारण गरिएको एकअर्का बिचको भौतिक दूरी दुई मिटरलाई एक मिटरमा झार्ने निर्णय गर्दै छ रे । व्यवसायीरूले भने रेकी लामो दूरीले ब्यापार–व्यवसायहरूलाई नराम्रो असर पार्न थाल्यो  । यो दूरी नेपाल, डेनमार्क तथा सिङ्गापुर आदि देशहरूमा एक मिटर नै कायम छ । बेइजिङमा १.५ मिटर कायम गरिएको रहेछ भने अमेरिका, ईटाली तथा स्पेन जस्ता देशहरूमा दुई मिटर । WHO ले भने कम्तीमा एक मिटर दूरी कायम गर्नुपर्ने भनेर भनेको रहेछ । अहिले भाइरस संक्रमणको ईपीसेन्टर दक्षिण अमेरिका रहेको छ । त्यसमा सबैभन्दा खराब अवस्था ब्राजिलको रहेको छ ।

भारतमा संक्रमणको दर ब्यापक रुपमा बढेको छ । सामुदायिक स्वास्थ्य प्रणालीहरू संक्रमितहरूको चापले लथालिङ्ग जस्ता देखिन्छन् । यसै प्रसंगमा  दिल्लीका मुख्य मन्त्री केजरी वाल चेतावनी दिदै भन्छन्, “भारतमा भाइरस संक्रमण नियन्त्रण बाहिर गईसकेको छ । सम्पूर्ण भारतकै अवस्था न्यूयोर्कको जस्तो हुन सक्ने खतरा बढेको छ ।” भारत अहिले ‘अनलक–१’ को Re-opening जारी राख्दै “अनलक–२’ को Re-opening मा प्रबेश गरेको छ । यद्धपी संक्रमितहरूको संख्या र मृत्युदर भन त्यहाँ धेरै नै बढिरहेको छ ।

आजको प्रसंग
अमेरिकामा जर्ज फ्लोईडको अन्त्येष्टि पछि शान्तिपूर्ण हुँदै गएका अश्वेतहरूको प्रदर्शनमा फेरि अर्को एउटा पिडा थपिएको छ । अमेरिकाको  एटलान्टामा एकजना (रेसर्ड ब्रक्स) २७ बर्षीय अश्वेत युवालाई पुलिसले गोली हानेर मारिदिएको छ । उनी कारमा सुतिरहेका थिए । गोरा पुलिसले उनलाई ब्युझाएर कार पार्किङ्ग गर्न लगाउँछन् । त्यसपछि ऊनको मुखमा ब्रेथलाईजर लगाईन्छ र पुलिसले हात पछाडी लगेर हतकडी लगाउन खोज्दा उनले प्रतिकार गर्छन् । त्यसपछि  दुई गोरा पुलिसले उनलाई रोडमा लडाउँछन् । ती अश्वेत युपक पुलिसको पन्जाबाट फुत्केर भाग्दै गर्दा पछाडीबाट लखट्दै आएका पुलिसले पेस्तोलबाट तीन गोली हानिदिन्छन् । अश्वेत युवा रोडमा तुरुन्तै लड्छन् । एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याउँदा उनको मृत्यू भईसकेका हुन्छ । यो भिडियो अहिले भाईरल भईरहेको छ ।

अहिले एटलान्टा तनावग्रस्त छ । आन्दोलनकारीहरुले पुलिस कार्यालय जलाइदिएका छन् । त्यहाँका पुलिस प्रमुखले राजीनामा दिएका छन् । अश्वेतहरू माथिको बिभेद बिरूद्धको आन्दोलन बिश्वब्यापी भईरहेका सन्दर्भमा यो घटनाले आन्दोलन थप चर्काउने र कोरोना संक्रमणको जोखिमलाई अझ बढाउने निश्चित छ ।

अर्थतन्त्रको बिश्वब्यापी संकुचनले सिर्जना गरेको बेरोजगारीको तनाव, तेस्रो दर्जाको नागरिक भएर बर्षौंदेखि बाँच्नु परिरहेको पिडा, गोराहरूले गर्ने अपमान, स–साना गल्तीमा पनि कुकुर–बिरालो मारिए जसरी मारिनुपर्ने नियति र हालैको बिश्वब्यापी संक्रमणमा कोरोना भाईरसले गरेको बिभेद्ले अश्वेतहरू आक्रोशित छन् । उनीहरूमा मान्छे बाँच्न नपाएको बर्षौंदेखिको कुण्ठा छ । अश्वेतहरूको यो अमेरिका लगायत बिभिन्न बिकसित देशहरूमा भईरहेका आन्दोलनले के कस्ता परिणामहरू ल्याउने हुन् ? आशा गरौं तमाम् बिभेद्हरूको अब अन्त्य होस् ।

चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय

प्रतिक्रिया दिनुहोस्