जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु संवेदनशिल विषय : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे ।

उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । उनले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताए ।

अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसद्को दुई तिहाइ मत चाहिने समेत स्पष्ट पारे । उनले विद्वेष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताए ।

अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महँगी र मूल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्