भाईरसबाट छुटकारा पाउने कोशिष गर्दैछ, न्यूयोर्क



०८ असार २०७७, काठमाडौं

सुरूका दिनहरूमा भाईरस संक्रमणको केन्द्रबिन्दु रहेको बिश्वका शहरहरूको पनि शहर न्यूयोर्कका गभर्नर एन्डर्‍यु क्योमोको दैनिक प्रेश जानकारीलाई खुबै पछ्याएको थिए । यो लामो संकटको अभियानमा ऊनले न्यूयोर्कबासीहरूसँ एकाकार हुन कहिल्यै कुनै कन्जुस्याइ गरेनन् । बरू लगातार दिनदिनै  उनीहरूका सुख र दुःखका साथी बन्ने प्रयास गरिरहे । कहिले भेन्टिलेटर–भेन्टिलेटर र फेरि पनि भेन्टिलेटर भन्दै पुरा अमेरिका र सारा दुनियाँसँग हारगुहार गरिरहे । कहिले सारा अमेरिकी स्वास्थ्यकर्मीहरूको सहयोग मागे । कहिले उनी पिपिई लगाएर न्यूयोर्कका अस्पतालहरूमा दौडिरहेका हुन्थे त कहिले मृत शरीरको सम्मानजनक र समयमै अन्त्येष्टिका लागि फ्यूनरल हाउसहरूसँग अनुरोध गरिरहेका हुन्थे । कहिले भावुक भएर रुन्थे र भन्थे यस्तो संकट हामीले कहिल्यै भोगेकै थिएनौं । कहिलेकाहीं उनी थकित अनुहार लिएर प्रेश ब्रिफिङमा आउँथे र हिडने बेलामा भन्थे–आज गुड फ्राइडे हो है ?

दुनियाँकै लागि चासो हुनु स्वभाविक पनि थियो–अब न्युयोर्कले  के गर्ला ?  अब त्यहाँ के हुन्छ ? यो संकटको समाधान न्युयोर्कले कसरी गर्ला भन्ने ? यहि चासोलाई पछ्याउँदै मैले पनि उनको प्रेश जानकारीहरूलाई लगातार हेरिरहे । सुनिरहेँ र लेखिरहे ।

तिनै एन्डुर्‍यु क्योमो  हिजो कोभिड–१९ सम्बधि आफ्नो अन्तिम प्रेश ब्रिफिङमा  भन्दै थिए–करिब दश मिनेटको प्रेश ब्रिफिङको सारसंक्षेपः

आज १११ दिनहरू भएछन् । म एक्लै आजको अन्तिम कोभिड ब्रिफिङ संचालन गरिरहेको छु । आज मलाई पावर प्वाईन्टको आवश्यकता पर्ला जस्तो छैन । न्युयोर्कका धेरै समाचारहरू राम्रा छन् । अस्पताल भर्ना हुनेहरूको संख्या आजसम्मकै थोरै १,२८४ छ । त्यस्तै यो हप्ता भरि नै सबैभन्दा कम मृत्यूदर (२५) रह्यो । प्रायः सबै ठाउँहरूमा संक्रमण दर एक प्रतिशत भन्दा कम छ । हिजो मात्र हामीले ७९,००० जनाको परीक्षण गरेका थियौं जुन सबै भन्दा माथिल्लो रेकर्ड हो ।

कोभिड सकिएको भने छैन । अहिले हामीहरू यसको दोस्रो लहरलाई हेरिरहेका छौं । पिछडिएका जनताहरूमा पनि केहि समस्याहरु छदैं छन् । तर गएको तीन महिनामा हामीले असम्भव कामहरू गर्‍यौं । सुरूवाती अवस्थामा हामीहरूकोमा प्रतिव्यक्ति संक्रमण दर देशको मात्र हैन सम्पूर्ण बिश्वकै सबैभन्दा बढी थियो । अहिले हामीहरू सबैभन्दा खराब अवस्थाबाट सबैको भन्दा राम्रो अवस्थामा आईपुगेका छौं । हामीहरूले करिब एक लाख मानिसहरू अस्पताल भर्ना भएर मर्न सक्ने सम्भावनाबाट उनीहरूलाई बचाएका छौं । यो एउटा कल्पना गर्न नसकिने उपलब्धी हो । अहिले हामीले अर्थतन्त्रलाई खुल्ला गरेका छौं र मानिसहरूलाई पनि बचाएका छौं । अहिले अन्य धेरै ठाउँहरूमा भाईरसको संक्रमण बढिरहेको छ । धेरै मानिसहरूको मृत्यु भैरहेको छ । म भन्छु–हामी चनाखो हौं । राजनीति नगरौं । चनाखो भएर बुद्धिमतापूर्वक अर्थतन्त्रलाई खुल्ला गरौं र मानिसको जीवनलाई पनि सँगसँगै बचाऔं ।

अन्त्यमा, स्वास्थ्यकर्मीहरू, स्थानीय सरकार,  सुरक्षाकर्मीहरु, मेरो गभर्नर को–टिम, सरसफाई कर्मचारीहरू, मेरा छोरीहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । सामाजिक संजाल,  ट्वीटर तथा चिठीहरू पठाएर मलाई थम्स–अप गर्ने सबैलाई धन्यवाद छ । म जान्दछु–मलाई यस्ले कति दियो भन्ने कुरा । तपाईहरूकै साथ,  सहयोग र शाहसले म अगाडि बढ्दै गए । पाँच करोड नब्बे लाख भ्यूअरहरूले मेरो दैनिक ब्रिफिङलाई सेयर गरेका छन् । मलाई विश्वास र सहयोग गरेकोमा सबैलाई धन्यवाद छ ।

चिन्ता नगर्नुहोला म कहि पनि जाने छैन । तपाईहरूसगै रहने छु । केबल यो दैनिकी मात्र छाडेको हुँ ।

त्यसबेला म सोच्थे–ती हरेक दिनहरू माउन्ट एभरेष्ट चढिरहेका जस्ता थिए । सामाजिक चुनौतीका खातिर माउन्ट एभरेष्ट चढिरहेको जस्तो (माउन्ट एभरेष्ट भन्दा त म मक्ख परे ।) ४२ दिनहरू पहाडका माथितिर थियौं र ६९ दिनहरू पहाडका तलतिर (अरू साइडहरु तिर ।)

मैले गएको १११ दिनहरूमा न्यूयोर्कवासीहरूसँ माया–प्रेम साटासाट गर्न पाएको छु । यो मेरो लागि धेरै खुशीको कुरा छ । जस्तोकी मानिसहरूले मलाई मास्क दिएका थिए–मैले उनिहरूलाई केयर दिने कोशिष गरेको थिए ।

हामीहरू अब पुनः शसक्तिकरण हुँदै अझ राम्रो गर्नेछौं । मलाई थाहा छ–हामीहरू यो गर्न सक्दछौ ।

सबैलाई धन्यवाद भन्न चाहन्छु ।
ईश्वर ले सबैको रक्षा गरून् ।

यद्धपी, यो दिनसम्म  न्यूयोर्कमा संक्रमितहरूको संख्याः ४,१०,४३४ पुगेको छ भने  भाईरसबाट  ३१,१७४ जनाको मृत्यू भएको छ ।  गएको २४ घण्टामा भने त्यहाँ १५ जनाको मात्र  मृत्यु भएको थियो । अझै त्यहाँ भाईरसका सक्रिय संक्रमितहरूको संख्या  २,९२,१२८ रहेको छ । यो मितिसम्म न्यूयोर्कमा ३३,२७,७९३ जनाको कोभिड–१९ को परीक्षण गरिएको छ ।

नेपालमा संक्रमितहरूको संख्या बढ्दै गईरहेको देखिएपनि जनस्वास्थ्य बिज्ञ डा. महेश मास्के भन्छन्,“हाम्रो देशमा संक्रमण अझै समुदाय स्तरमा पुगेको छैन ।  लक्षण बिनाका संक्रमितहरूको संख्या ९८ प्रतिशत छ जसबाट अरूलाई संक्रमण हुने सम्भावना न्यून रहन्छ । मृत्युदर पनि धेरै कम छ । युरोपको तुलनामा त ८० गुणा कमी छ । भारतको तुलनामा १० गुणा कमी छ । यहाँ आई सी यू र भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि नगन्य छ ।”

यस्तो कुरा सुन्दा आनन्द आउने रहेछ । कोरोना नसकिऊन्जेल यी डाक्टरले भने जस्तै तपाई हाम्रो रक्षा भईरहोस् । क्षति अझ न्यून हुदै जाओस् । आऔ–तपाई–हामी सबै यसैको लागि कामना गरौं ।

चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय

प्रतिक्रिया दिनुहोस्