जबजको मर्म विपरित : नेकपा एमाले बुढानीलकण्ठको दास कमिटीको घोषणा



काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिकाको (दास पदाधिकारीसहित) नयाँ कमिटी घोषणा भएको छ। नवघोषित कमिटीको पदाधिकारीहरुमा पुरानै कमिटी घोषणा गरिएको छ भने सदस्यहरुमा धेरै नयाँ अनुहारहरु थपिएका छन्।

चैत १६ गते उद्घाटन गरेर शुरु भएको दोश्रो अधिवेसनमा सर्वसम्मत कमिटी बन्ने सम्भावना नभएपछि अध्यक्ष मण्डल र निर्वाचन कमिटी गठन गरी आन्तरिक प्रतिष्पर्धा मार्फत श्रेष्ठता हाँसिल गर्ने पद्दतिको घोषणा गरिएको थियो।

वडागत सदस्यहरुमा सर्वसम्मत सदस्य छनोट भएपछि पदाधिकारीहरुमा निर्वाचन गराउने योजनामा निर्वाचन कमिटी पुगेको थियो। निर्वाचनमा उम्मेद्वारी दर्ता गर्नेहरुमा पुरानो पदाधिकारीहरुबाट २ जना थिए भने नयाँ उम्मेद्वारहरु १७ जना रहेका थिए।

कपन ह्याण्डबलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको दोश्रो अधिवेशनको खुल्ला सत्र भव्य रुपमा सम्पन्न भएको थियो भने बन्द सत्र दिउँसो २ बजेबाट बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सुकुन्दा पार्टी प्यालेसमा शुरु भएको थियो।

नगर अधिवेशनको बन्द सत्रमा प्रस्तुत भएका राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेनमा वडागत छलफल गरी टोली नेता र उपनेताले प्रतिवेदनहरुमा सुझाव दिएका थिए।

बेलुकीको करिब ५ बजेदेखि शुरु भएको प्रतिनिधिहरुको नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारहरुको नामावली प्रकाशन सम्मका कामहरु विधिसम्मत रुपमा सम्पन्न भएका थिए।

पार्टीको वडागत सदस्यताको आधारमा बनेका सदस्यहरु र खुल्लाबाट उम्मेद्वारी दिएका सदस्यहरु समेत सर्वसम्मत भए। यसो हुनुमा वडाबाटै वा खुल्लाबाट नगरकमिटीमा प्रतिनिधित्व गर्ने १७ जना सदस्यहरुले पदाधिकारीहरुमा दाबी गरेका थिए। जसले गर्दा सर्वसम्मत नगर कमिटी बन्नमा सहयोग पुग्यो।

पदाधिकारीहरुलाई किन दास भनियो ?

सदस्यहरुको नाममा सर्वसम्मत भएपछि १७२ प्रतिनिधिहरु मतदान गर्ने पक्षमा थिए। बेलुकी ७ बजेदेखि सहमतिको नाटकीय प्रयास गरिएपनि निर्वाचनमा जाँदा पुर्वपदाधिकारीहरु क्लिनस्वीप हुने भएपछि समय थप्दा-थप्दै भोलिपल्ट बिहान ४:१५ बजे २ दिनको म्याद राखी चैत्र २० गते दिनको २ बजेसम्मलाई अधिवेशन स्थगित गरेको घोषणा गरियो।

२० गते २ बजे शुरु गर्नुपर्ने अधिवेशन सहमतिको नाममा बेलुका ६ बजेपछि शुरु भयो। गोजीबाट नाम झिकियो- बाचन गरियो। पुरानैलाई सहमति भन्ने बहानामा पदाधिकारीहरु घोषणा भए। उम्मेद्वारी नै नदिएका ३ जना पदाधिकारीहरुले स्वत: जिम्मेवारी पाए।

निर्वाचनमा जाँदा हारिन्छ भन्ने डरले उम्मेद्वारी दर्ता नगरेका र निर्वाचन हुँदा पत्तासाफ होईञ्छ भन्नेहरु अन्तिममा हर्षले टिका थाप्न लाईन लागे। माथिल्लो कमिटीमा जान उम्मेद्वारी दर्ता नगरेका मात्र होईन हार्ने निश्चित भएकाहरुले पनि कम्तिमा पदाधिकारीहरु उठेका साथीहरुको व्यवस्थापनमा चासो दिएनन् किनभने उनीहरुले नसोचेको जिम्मेवारी प्राप्त भयो। प्रतिष्पर्धामा जानु भन्दा दास हुनु उपयुक्त ठाने र दासहरुको लाईनमा लामबद्द बने।

बुढानीलकण्ठ नगरपालिकाको दोश्रो नगर अधिवेशनबाट पदाधिकारीहरुमा थोरैले जिम्मेवारी पाए। पदाधिकारीहरुले आफूलाई असल दासको रुपमा स्वीकार गरे। जिम्मेवारी पाउनेहरुलाई क्षणिक रमाईलो भयो तर पदाधिकारीहरुमा उम्मेद्वारी दिएका १७ जना प्रभावशाली स्थानीय नेताहरुको राजनीतिक भविष्यको बारेमा न जिल्ला अध्यक्ष दिपक निरौला, न प्रदिप डंगोल, न कथित अध्यक्ष मण्डल वा निर्वाचन समितिले बोले ! यसको परिणाम मिसन २०८४ मा एमालेलाई नगर र प्रदेशमा समेत तेश्रो पार्टी बनाउँने हो वा समान्तर कमिटी बन्ने हो – त्यो भविष्यले नै बताउने देखिन्छ।

दिपक निरौलाले होस् गुमाउँदा

आफूलाई मदन भण्डारीको चेला ठान्ने निरौला मदन भण्डारी फाउन्डेशनको नाममा कार्यक्रमहरु समेत आयोजना गर्छन्। कतिपय अवस्थामा जबजको व्याख्या पनि गर्छन तर उनको चेनाना, व्यवहार र गतिविधिहरु ठिक उल्टा छन् ।

बन्द सत्रको मन्तव्यमा ७७५ पार्टी सदस्य तथा समर्थकहरुलाई लागेको झुट्टा मुद्वा जुन अनुसन्धानकै क्रममा छ। त्यसलाई पार्टीले केहि गरेन भन्ने जवाफमा उनले मुद्वालाग्नेहरुलाई राज्य विरुद्वको अपराधमा संलग्न अपराधी भन्दै अपराधीलाई संरक्षण नगर्ने पार्टीको धारणा रहेको बताए।

न्यायालयमा समेत नपुगेको राजनीतिक घटनालाई अपराधको संज्ञा दिने दिपक निरौला न्यायाधिश हुन कि पार्टी अध्यक्ष हुन् ? यसको बारेमा निकट भविष्यमा पर्ने माथिल्लो कमिटीको उजुरीमा हुने छानविनले नै टुङ्ग्याउने देखिन्छ।

निरौला कार्यकर्तालाई अपराधी भनेर मात्र रोकिएनन्। निर्वाचन मण्डलका सदस्यहरुले करिब ५ मिनेट निर्वाचन आचार सहिता सुनाएपछि स्वघोषित संचालक बने। अशिक्षित समाजमा रहेका मानिसहरुको भिडलाई सम्बोधन गरे झैँ यसो गर्ने र उसो गर्ने भन्दै निर्देशन दिइरहन्थे।

प्रत्येक जसो घण्टामा मन्चमा आएर निर्देशन दिने निरौलाले माथिको निर्देशन भन्दै पदाधिकारीमा उम्मेदवार दिएका १९ जनाको उम्मेद्वारी ३ घण्टा लगाएर खोसे। नेतृत्वले गरेको निर्णय मान्य हुनेछ भन्ने आत्महत्या पत्रमा हस्ताक्षर गराए। पदाधिकारीमा उम्मेदवार दिएकाहरुलाई बाहिर निकालेर बिघटित कमिटीका पदाधिकारीहरु र माथिल्लो कमिटीका नेताहरु राखेर सहमतिको नाममा थप ३ घण्टा बिताए।

माथिल्लो कमिटीको निर्देशन भन्दै त्यो बेलासम्म स्व-विवेकले गरेका कुकर्महरु केन्द्रिय तहका नेताहरुले थाहा पाए अनि साञ्चै माथिल्लो कमिटीको निर्देशनमा १८ गते बिहान ४:१५ बजे बन्दसत्र स्थगित भन्दै २० गतेलाई बन्दसत्र सार्न बाध्य भए।

जर्साबको उपनामले स्थानीय संचारमाध्यममा छाएका उनै निरौला शोकसभामा खित्का छोडेर हाँसेर भाईरल बन्छन् त् कहिले घरमै मतदाता नामावली फोटो खिचाएर। अन्तिम पटक मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरी नियन्त्रमा पुगेका उनी अब पार्टी मुख्यालयमै स्पष्टिकरण दिने अवस्थामा पुगेका छन् !

प्रतिक्रिया दिनुहोस्