‘हिजोआज संगीत भनेको अन्नबाली जस्तै लाग्न थालेको छ’ : शिव परियार



गीतसंगीतलाई मन नपराउने मान्छे सायद कोही हुदैँनन् होला । मान्छे सुखमा होस् वा दुखमा गीत सबैले सुन्ने गरेका छन् । पहिले पहिले गीतहरु मेहेनत गरेर बनाइन्थे । धेरै समयको अन्तरालमा गीतहरु रिलिज हुन्थे । आफूलाई मन परेको गायक गायिकाको गीत सुन्न दर्शक कुरेर बस्थे ।

तर अहिले त्यस्तो छैन । अहिले मेहेनत नगरी गीतसंगीत बजारमा आउँछन् भन्न खोजेको होइन, तर हतारमा काम गर्दा आजभोलीका गीतसंगीतमा मिठास भने पक्कै पनि हराउँदै गएका छन् । हतारमा गीत लेखिन्छ, रेकर्ड गरिन्छ र केहीदिनमै त्यसको भिडियो पनि बजारमा आइसक्छ । हो सुन्दा एकछिन रमाइलो लाग्ला तर केहीदिनमै दर्शकले ती गीतलाई बिर्सिसकेका हुन्छन्, बजारमा नयाँ गीत जो आइसकेको हुन्छ ।

पहिलेका गीतहरुमा यति मिठास पाइन्छ कि, शब्द पनि उस्तै त्यसैले त धेरै दर्शकहरु अहिले पनि पुरानै गीतहरु बढी सुन्न मन पराउँछन् । यो कुरालाई केही कलाकारले पनि मनन गरेका छन् । चर्चित गायक शिव परियारले यसबारे सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राखेका छन् ।

उनले लेखेका छन्, ‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ ।’

आजभोली कलाकार पनि सस्ता पो भएका हुन् कि ? कम्पिटिसनको जमाना भएर पनि होला सबैलाई आफ्नो चर्चा होस् भन्ने लाग्छ, जसका कारण धेरै कलाकारले पछिल्लो समयमा गुणस्तरमा भन्दापनि संख्यामा ध्यान दिएको देखिन्छ । जसका कारण उनीहरुको लोकप्रियता दर्शकमाझ कम पनि हुदैँ गएको छ । त्यसैले धेरै गायक गायिकाले बरु केही समय नै किन नलागोस् तर राम्रो गीत लिएर दर्शकमाझ आउँदा राम्रो होला ।

प्रतिक्रिया दिनुहोस्