रेडियोबाट सिकाइ : सिकाउँदै रीड नेपाल, सिक्दै विद्यार्थी



१५ जेष्ठ २०७७, काठमाडौं ।

बन्दाबन्दी (लकडाउन्)का कारण अहिले देशैभरि विद्यालय बन्द छन् । यो अवस्थामा सबै बालबालिकाहरु घरमा नै बस्न बाध्य भएका छन् ।

विद्यालय कहिलेदेखि सुचारु हुन्छन् अहिले नै भन्न सकिने स्थिति छैन । यही अवस्थालाई मध्यनजर गर्दै सोलुखुम्बुमा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था रीड नेपालले करिब एक महिनादेखि हर १ देखि ८ कक्षाका विद्यार्थीहरुलाई लक्षित गरेर रेडियोबाट सिकाइ कार्यक्रम नाम दिएर नेपाली अंग्रेजी गणित र विज्ञान विषयको कक्षाहरु दैनिक रुपमा स्थानीय एफएम हिमाल र सोलुबाट प्रसारण गर्दै आइरहेको छ । उक्त कार्यक्रमबाट सिकाइमा निकै सहयोग पुगेको भन्दै विद्यार्थी अभिभावकहरुले खुशी व्यक्त गरेका छन् ।

थुलुङ दुधकोशी ६ मुक्ली घर भएकी दिव्या राई कक्षा ७ मा अध्ययन गर्नुपर्ने छात्रा हुन् । कोरोनाका कारण विद्यालय बन्द भएपछि उनले विद्यालय जान पाएकी छैनन् । विद्यालय जान नपाउँदा पढ्ने बानी हराउँछ कि भनेर उनको मनमा पिर थियो । तर आजकाल उनको यो पिर हराएको छ । उनको दैनिकीमा फरक आएको छ । उनी बिहानै उठ्छिन र हातमुख धोएर रेडियोको समय कुर्दै कापीकलम किताब लिएर तयारी अवस्थामा बस्छिन । रेडियो पनि मोबाइलबाटै सुन्छिन् ।

एक हातमा रेडियो बोक्छिन् भने अर्को हातमा कलम आधा घण्टा ध्यान दिएर सुन्छिन र रेडियोबाटै सिक्छिन् । उनीसँगै उनकी बहिनी पनि रेडियोबाट सिक्न दिदीसँगै बस्छिन् ।

रेडियोबाट सिक्दै विद्यार्थीः

दिव्याले बहिनीको कक्षा आउँदा बहिनीलाई समेत सिक्न सहजीकरण गर्दछिन् । बहिनी सुप्राज्ञ राई ४ कक्षामा पढ्छिन् । पढ्ने बानी बिर्सिन्छिन् कि भन्नेथ्यो । रेडियो कार्यक्रमले आफूलाई निकै सजिलो भएको र पढ्ने बानीको विकास भएको दिव्याले सुनाइन् । दिदीबहिनीको दैनिकी नै अहिले परिवर्तन भएको छ । शुरुमा भन्नु परेनी अहिले त भन्नै पर्दैन आफैँ पढ्नलाई बिहान दैनिक तयारी भएर पढ्न बस्ने गरेको र अनलाइनमार्फत् पनि दोहोर्याएर दिउँसो समेत सुन्दै सिक्ने गरेको अभिभावक धनरुपा राईले जानकारी दिइन् ।

त्यस्तै जनजागृति आवि सल्लेरीमा कक्षा ३ मा पढ्ने सिसम राईलाई पनि रेडियोबाट सिक्न रमाइलो लागि रहेको छ । उनले पनि मोबाइलबाटै रेडियो सुन्दै आइरहेकी छिन् ।
⇒लकडाउनमा शिक्षा : उत्तम विकल्प ‘रेडियो’
⇒सोलुखुम्बु : स्थानीय तह प्रकोप व्यवस्थापन कोषलाई रीड नेपालको १ लाख ७५ हजार
प्राय: आफ्नो कक्षा रेडियोबाटै नछुटाई अभिभावक निम डोमा राइले जानकारी दिइन् । उता सोताङमा विद्यार्थीहरु सानो समूहमा मिलेर रेडियो सुन्छन् र सिक्छन । सदिप कार्की बरबोट आवि सोताङका विद्यार्थी हुन् । उनी जहिले रेडियो सुन्छन् र सिक्छन् । रेडियोबाट सिक्न पाउँदा निकै खुशी लागि रहेको बताए । त्यस्तै सल्यानमा शिक्षक चुडाकुमारी केसीको मा वरपरका साना साना नानीबाबुहरु ७ बजे नै कापीकलम बोकेर रेडियो सुन्न आइपुग्छन् ।

उनीहरुलाई शिक्षिकासँगै बसेर सिक्न रमाइलो लाग्छ र नबुझेको कुरा शिक्षक चुडाकुमारीसँग सोध्छन् । सामग्रीको प्रयोग र नबुझेको ठाउँमा उहाँले सहजीकरण गर्दै सिकाउँदै आउनुभएको छ । यसरी सिकाउन पाउँदा आफू खुशी भएको र रेडियोबाट आफूले समेत धेरै कुराहरु सिकी रहेको शिक्षक केसीले जानकारी दिए ।

रेडियोबाट सिक्दै विद्यार्थीः सहजीकरणमा शिक्षिकाः

त्यस्तै दुधकुण्ड हिमालय आविका विद्यार्थी हरुले फोन गरेरै ‘आज त कथा सुन्यौं । गीत गायौं, मिस’ भनेर आफूलाई सुनाउने गरेको शिक्षिका रमा कटेलले जानकारी दिइन् ।

विद्यार्थीहरुलाई मात्र होइन, शिक्षकहरुलाई समेत कार्यक्रमबाट धेरै सहयोग पुग्ने शिक्षकहरुले बताएका छन् । शिक्षक सुमन निरौलाले विद्यार्थीलाई मात्र नभएर आफूहरुलाई समेत पुनर्ताजगी तालिमको काम गर्ने महसुस भएको भन्दै शिक्षकले सुन्दा विषयगत रुपमा नवीनतम शिक्षण कौशलमा फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै शिक्षक केशरी श्रेष्ठले कार्यक्रम ज्यादै राम्रो भएको विद्यार्थीहरुलाई सिकाइमा निकै टेवा पुग्ने विश्वास व्यक्त गर्दै आफूले पनि दैनिक कार्यक्रम सुन्दै आएको बताइन् ।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने र विद्यालय संचालन नहुन्जेल निरन्तरता दिने रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले परिवर्तन खबरलाई जानकारी दिए । अष्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा गत बैशाख २१ गतेदेखि रीड नेपालले नियमित रुपमा “रेडियोबाट सिकाइ” कार्यक्रम प्रसारण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्