सोलुखुम्बु : स्थानीय तह प्रकोप व्यवस्थापन कोषलाई रीड नेपालको १ लाख ७५ हजार



३१ वैशाख २०७७, काठमाडौं

हिमाली जिल्ला सोलुखुम्बुमा दशक अगाडिदेखि शिक्षा क्षेत्रमा सक्रिय रीड नेपालले सोलुखुम्बुभित्र रहेका स्थानीय तह प्रकोप व्यवस्थापन कोषलाई एकमुष्ट १ लाख ७५ हजार उपलब्ध गराएको छ ।

विश्वभर महामारीको रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यानमा राखी संघीय सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन्)का कारण विपन्न परिवारका बालबालिकाहरुलाई समस्या भएको ठानी उक्त रकम उपलब्ध गराएको रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीले परिवर्तन खबरलाई जानकारी दिए ।

सोलुखुम्बुस्थित रहेका सात स्थानीय तहहरु सोलुदुधकुण्ड नगरपालिका, थुलुङ्ग दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, सोताङ्ग गाउँपालिका, महाकुलुङ्ग गाउँपालिका र लिखुपिके गाउँपालिकाका स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा २५ हजारको दरले १ लाख ७५ हजार रकम रीडले उपलब्ध गराएको हो ।

उक्त सहयोग रकमबाट अति विपन्न परिवारका बालबालिकालाई राहत उपलब्ध गराइदिन पनि सस्थाले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

सोलुखुम्बुमा पहिल्यैदेखि रीड नेपाल
रीड नेपालले सोलुखुम्बुमा शैक्षिक गुणस्तर सुधारका लागि पहिल्यैदेखि विभिन्न कार्य गर्दै आइरहेको छ ।

रीडले शिक्षक तालिम, अभिभावक व्यवस्थापन समितिलाई तालिम, बालक्लब गठन र परिचालन, शैक्षिक सामग्री वितरण, भवन निर्माण, शिक्षक सहयोग, प्राविधिक धार कृषि बालीविज्ञान तथा वार्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै विद्यालय तहका अतिविपन्न परिवारका ५०० जना विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ । साथै ४ वटा विद्यालयमा विद्यार्थी हरुका लागि दिवा खाजा कार्यक्रम संचालन गर्दै आएको छ ।

हाल सोलुखुम्बुमा १०० वटा विद्यालयमा काम गरिरहेको रीड नेपालले ११ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै जाने उद्देश्यका साथ अभ्यास गर्दै छ भने १४ ओटा विद्यालयमा प्रारम्भिक कक्षा पठन सीप विकास कार्यक्रम(EGRP) लागु गरिरहेको छ ।

यस्तै यसै शैक्षिक सत्रबाट थप १४ ओटा विद्यालयमा उक्त (EGRP) कार्यक्रम लागु गर्ने लक्ष्य राखेको छ । उक्त सहयोग अष्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा गर्दै आइरहेको छ ।

महामारीमा रेडियोबाट सिकाइ
साथै अहिलेको विद्यालय बन्द रहेको आवस्थालाई मध्यनजर गर्दै रेडियोबाट सिकाइ भनी कार्यक्रममार्फत् १देखि ८ का विद्यार्थीहरुका लागि नेपाली, अंग्रेजी, गणित तथा विज्ञान विषयका कक्षा सोलुखुम्बुको एफएम रेडियो सोलु र हिमालबाट प्रशारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्