पूर्व सचिव पत्नी हत्याको सीसीटिभी फूटेज : कामदारकै संलग्नतामा हत्या [अपडेट]



२७ माघ २०७६, काठमाडौं

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या उनकै घरका कामदार विजय चौधरीको संलग्नतामा भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतअनुसार घरमा रहेको सीसीटिभी फूटेज हेर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार सीसीटिभी फूटेजमा बिहान १०:०८ बजेको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ।
♥ पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा
♥ पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा निधन [अपडेट]
♥ पूर्व सचिव पत्नीको हत्या कामदारको संलग्नतामा भएको आशंका [अपडेट]
भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जनाएको छ। मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए।

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ। उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ।

पूर्व सचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको र घर फर्किँदा त्यस्तो घटना घटेको थियो। कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन्।

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्‍याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्