पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा



२७ माघ २०७६, काठमाडौं

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी छिन्।

घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। ललितपुर उपमहानगरपालिका–२, सानेपाको घरको भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट देखिएको छ।

कार्कीकी श्रीमती मुनालाई उपचारका लागि स्टार अस्पताल लगिएको छ। बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको हो। “प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टारअस्पताल लगिएको छ।” महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रासद राई भने, ‘उहाँको अवस्था गम्भीर छ। यस्तै कामदारको भने मृत्यु भइसकेको अवस्था छ।’

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार श्रीमती कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार अहिले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ।

सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइलफोन फेला परेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्