सिन्धुली आश्रममा छैनन् बम्जन, खोजी कार्य जारी



२४ माघ २०७६, काठमाडौं

तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट भागेको प्रहरीले जानकारी दिएको छ।

हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बम्जनलाई पक्रिन प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार अनुमति लिएको थियो।

पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बम्जनको सिन्धुली आश्रममा पुगेको थियो। बिहीबार रातिसम्म बम्जन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रिन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले बताए।

बम्जनलाई बिहान ७ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजिरहेको छ। बिहीबार सर्लाही जिल्ला अदालतको अनुमति लिएर शुक्रबार बिहान बम्जन आश्रम पुग्दा उनको मूलघरमा ताला लागेको प्रहरीले बताएको छ।

आश्रममा रहेका ४ जना गुरुहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तीमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्