‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ सम्मानित



१५ अषाढ २०७६, काठमाडौं

लोपोन्मुख किराँत थुलुङ भाषालाई एकेडेमिक रुपमा संरक्षण गरेको भन्दै ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ सम्मानित भएको छ ।

भाषा तथा संस्कृति प्रवर्द्धनको निम्ति ठूलो योगदान दिएको भन्दै प्रतिष्ठान ‘हर्कजंग छलिसोभा कला पुरस्कार–२०७६’ बाट सम्मानित भएको हो ।

प्रतिष्ठानले थुलुङ भाषाको कला, भाषा, संस्कृति तथा परम्परालाई अङ्गीकार गर्दै भाषिक पाठ्यपुस्तक प्रकाशनका साथै बालगीतको अडियो भिडियो बनाउने योगदान पुर्याएको छ ।

‘किराँत राई सांस्कृतिक कलाकार संघ’को १४ औं स्थापना दिवसको अवसरमा प्रतिष्ठान १८,८८८ का साथ सम्मानित भएको हो ।

सम्मान ग्रहन गर्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष निर्कुधन राईले खुसी व्यक्त गरे ।

“किराँत थुलुङ राईको भाषा, संस्कार, संस्कृति संरक्षणको क्षेत्रमा आझै धेरै काम गर्न बाँकी छ । हामीले आफ्नो जिम्मेवारी ठानेर पाठ्यपुस्तक निर्माण र अडियो भिडियो निर्माण गरेका छौं, तर आज यस्तो सम्मानसहित हौसला प्रदान गर्नुभएकोमा पुरस्कार प्रदान गर्नुहुने सम्मानित संस्था, संस्थाका पदाधिकारीहरु र सम्बन्धीत सबै व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै सांस्कृतिक कलाकार संघको उज्ज्वल भविष्यको हार्दिक शुभकामना !!” उनले भने ।

नेपालको संविधानले स्थानीय तहमा स्थानीय भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाई पठनपाठन गर्ने, गराउने व्यवस्था गरेसँगैं प्रतिष्ठानले भाषिक पाठ्यपुस्तक प्रकाशित गरि पठनपाठनसमेत सुरु गरिसकेको छ ।

प्रकाशित कक्षा दुईसम्मको भाषिक पाठ्यपुस्तक अहिले नेपालको करिब ५/६ वटा जिल्लाहरुमा पढाई भईरहेको छ ।

साथै किराँत थुलुङ राई भाषा पाठ्यक्रम विकाश केन्द्रले प्रकाशित गरेको थुलुङ राई भाषाको पाठ्यपुस्तकमा समेटिएका ६ वटा बालगीतहरु रेकर्ड तथा छायाँकन पनि भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्