SEE: एक दशकमा शिक्षा प्रणालीबाट झण्डै ९ लाख विद्यार्थी गायब



१३ अषाढ २०७६, काठमाडौं

हालको एसईई दिने विद्यार्थीहरु कक्षा १ मा भर्ना हुँदा १३ लाख ६२ हजार ९ सय २० जना थिए ।

तर, यो १० वर्षको अन्तरालसम्म आईपुग्दा लगभग ९ लाख विद्यार्थीहरु गायब भएका सरकारी तथ्यांकले देखाउँछ ।

विद्यार्थीहरुको संख्यामा देखिएको विशाल अन्तरलाई शिक्षाविद्हरुले विकराल शैक्षिक समस्यका रुपमा हेरेका छन् ।

“शिक्षाको गुणस्तर र परीक्षा नतिजामा धेरै छलफल हुन्छ । तर यति ठूलो संख्यामा हराएका बालबालिकाबारे छलफल भए पनि यस्तो गम्भीर विषयलाई हल गर्न सकिएको छैन ।” प्रा. विद्यानाथ कोइराला भन्छन् ।

सरकारी अधिकारीहरू भने राज्यको प्रयासका कारण बीचमै शिक्षा प्रणालीबाट हराउने विद्यार्थीहरूको सङ्ख्या कम हुँदै गएको दावी गर्छन् ।

समस्या

यसवर्षको एसईई परीक्षामा कूल ४ लाख ७५ हजार ३ जना विद्यार्थीहरु सहभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो तथ्यांकलाई हेर्दा (ड्रपआउट) अर्थात् बीचमै पढाई त्याग्ने बालबालिकाको संख्या धेरै रहेको देखिन्छ ।

एसईईको नतिजा सार्वजनिकसँगैं देखिएको ठूलो संख्याको यो ड्रपआउटलाई कसैले पनि खासै ध्यान नदिईएको कत्तिपय विज्ञहरु तर्क गर्छन् ।

शिक्षामा ‘पढे पढ नपढे नपढ’

प्रा. कोइरालाले ड्रपआउटको तथ्यांक कसैसँग नभएको बताउँछन् ।

ती मान्छेहरूलाई पढिखाने हो भने के बाटो र गरिखाने हो भने के बाटो हो भन्ने जानकारी पनि कसैसँग छैन ।

यस्तै पढाइ र गराइ दुइटा जोड्ने हो भने कसरी लाने र त्यसको जिम्मेवारी स्थानीय सरकार वा विद्यालय कसको हो वा कुनै तरिकाबाट लग्ने प्रष्ट नुहने प्रा. कोइराला तर्क गर्छन् ।

यसरी पढाइ छाड्ने विद्यार्थीको पृष्ठभूमि खोज्न आवश्यक भएको र त्यसका लागि स्थानीय सरकार र विद्यालयले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्छ ।

कक्षा एकमा भर्ना भएकामध्ये झन्डै ३० प्रतिशत विद्यार्थीले कक्षा १० नपुग्दै पढ्न छाड्ने गरेको शिक्षा मन्त्रालयले गत वर्ष प्रकाशित गरेको एउटा अध्ययनले देखाएको छ ।

संसदमा चासो

यो विषयमा कहिलेकाहीँ संसदमा पनि उठ्ने गरेको छ ।

केही समयअघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसरी पढाइ छाड्ने बालबालिका को हुन् र उनीहरू के गरिरहेका छन् भन्नेबारे सरकारले चासो नदिएको उनको भनाइ थियो ।

यस्तै सत्तारूढ दलकै सांसद योगेश भट्टराईले पनि पछिल्लो समयमा निकै सुधार भए पनि ड्रपआउटको समस्या चाहिँ टड्कारो रहेको बताएका थिए ।

सरकारी पक्षको बचाऊः

तथ्यांकको आधारमा ड्रपआउटको संख्यामा कम भएको शिक्षा विभागका प्रवक्ता दीपक शर्मा बताउँछन् ।

“हामीले विद्यार्थी भर्ना अभियानदेखि विद्यालयभित्रको वातावरण सुधार गर्ने र समामुदायिक विद्यालको रूपान्तरणको कुरा ल्याएका छौं ।”उनले भने ।

विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न कक्षाकोठा र शिक्षकको व्यवहार विद्यार्थीमैत्री बनाउनु पर्ने शिक्षाविद्हरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्