देशको सिस्टम अल्मलियो : मेयर खतिवडा



१२ पुस २०७५, संखुवासभा

संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले देशको सिस्टम नै अल्मलिएको बताएका छन् । स्थानिय तहले कुनै काम गर्नको लागि तत्पर भए पनि मुलुकको प्रणालीले गर्दा स्थानिय तह अलमलमा परेको बताए । खाँदबारी नगरपालिकाको आयोजनामा स्वास्थ्य सम्बन्धि पत्रकार र स्वास्थ्यकर्मीहरु संगको मंगलबार गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर खतिवडाले यस्तो बताएका हुन् ।

मेयर खतिवडाले आफुहरुको पहलमा संखुवासभामा यो वर्ष स्वास्थ्य बिमाको कार्यक्रम लागु गर्ने भनीए पनि काममा ढिलाई भएको बताए । मेयर खतिवडाले आफुले पटक पटक बिमा क्षेत्रका व्यतिmसंग कुरा गर्दा पनि केन्द्रमा पटक पटक सम्बन्धित क्षेत्रका व्यतिको सरुवाले गर्दा समस्या भएको प्रदेशले जानकारी दिएको बताए । उनले भने “यसरी देशको सिस्टम अल्मलिएकोले आफुहरुलाई सजिलो गरेको छैन”। उनले थपे “यतिबेला मुलुक संक्रमणकालिन अवस्थामा छ, त्यसैले सबै ठाउँमा समस्या नै समस्या छ, देशको सिस्टम अल्मलिएको छ” । उनले मुलुकको नै काम गर्ने ढिला सुस्तिले गर्दा स्थानिय तहले राम्रो प्रतिफल दिन नसकेको बताए ।

कार्यक्रममा बोल्दै मेयर खतिवडाले नगर स्वास्थ्य क्षेत्रमा संवेदनशिल भएर अघि बढेको बताए । आफुले निर्वाचनपछिको पहिलो बैठकमा नै नगरपालिका स्वास्थ्यको क्षेत्रमा संवेदनशिल भएर अघि बढ्ने निणर्य गरेको भन्दै अहिले ‘एक वडा एक स्वास्थ्य संस्था’को निति पुरा हुन लागेको बताए ।

उनका अनुसार अहिले नगरपालिकाका ११ वडा मध्ये वडा नं ८ मा बाहेक सबै वडाहरुमा स्वास्थ्य सस्था स्थापना भईसकेको छ । नगरपालिकाको वडा नं १ मा जिल्ला अस्पताल सहित वडा नं २, ३, ४, ५, ६, ९, १० र ११ मा स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन् । वडा नं ८ मा छिटै स्थापना गर्ने तयारी गरिएको खतिवडाले जानकारी दिए । उनले भने सकेसम्म आगामी वर्षसम्ममा सवै वडामा स्वास्थ्य सस्था स्थापना गर्ने तयारी गरेको छु ।

उनले नगरपालिका भित्र आखाँ, हाडजोर्नी तथा विभिन्न स्वास्थ्य सम्बन्धिका शिविरहरु विशेषज्ञ चिकित्सक ल्याएर नै गर्ने कार्यतालिका बनिसकेको बताए । खतिवडाले सबै स्वास्थ्य संस्थामा कर्मचारीको पनि व्यवस्थापन गरिसकिएको र गर्भवति महिलाको स्वास्थ्यमा ध्यान दिदै सबै स्वास्थ्य संस्थामा वर्थिङ सेन्टरको स्थापना गरिएको बताए । भौतिक पुर्वाधार निमार्ण गर्नु मात्रै विकास नभएर जनताहरु स्वास्थ्य, शिक्षा र सुचनाको पहुँचमा पुग्नु पनि विकास भएको खतिवडाले टिप्पणी गरे ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. अमुल्य दहालले स्वास्थ्य केन्द्र स्थापना मात्रै ठुलोकुरा नभएर यसलाई टिकाउनु महत्वपुर्ण हुने बताए । उनले भने “नगरपालिकाका सबै स्वास्थ्य सस्थामा औषधि अभाव भएर जिल्ला अस्पताल धाउनु पर्ने अवस्था आउन नदिन प्रतिवद्ध छौँ” ।

कार्यक्रममा नगरपालिकाका केहि स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले औषधिको अभाव भएको बताएका थिए । उनिहरुले औषधिको कुरा गर्दा जिल्ला जनस्वास्थ्यले नगरपालिका र नगरपालिकाले जिल्ला जनस्वास्थ्यलाई देखाएको भन्दै गुनासो गरे । नगर स्वास्थ्य प्रमुख डा.अमुल्य दहालले औषधि खरिद प्रकृया अघि बढेकोले चाडै समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्