तापक्रम घट्यो : देशका विभिन्न प्रदेशमा वर्षा हुने



काठमाडौँ । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ । 

विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने जानकारी दिए । 

उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिए । यो क्रमशः घट्दै जाने उनले बताए । हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तत्काल तापक्रम नबढ्ने उनले बताए । 

केही दिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आइतबार कोशीका केही स्थानमा र सोमबार कोशी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ । 

मङ्गलबार भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार सोही मौसमी प्रणालीका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्