ओझेलमा गुप्तेश्वर महादेव



०७ पुस २०७५, इटहरी

खोटाङको खोटेहाङ गाउँपालिका १ लिकुवापोखरी ताङछोङ स्थित गुप्तेश्वर महादेव संरक्षण र प्रचार प्रसारको कमिले ओझेलमा परेको पाईएकोछ ।

वि.सं २०४१ सालमा धार्मिक आस्थावान् स्थानीयको पहलमा सुचारु भएको गुप्तेश्वरमा हरेक वर्ष बालाचर्तुदशी, शिवरात्री र रामनवमीमा पूजा आराधना गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दथ्यो । उक्त पर्वहरूमा रात्रि मेला लाग्ने भएकाले भजन कृतन गरी रातभर जागाराम बस्ने चलन थियो ।

दिवङ्गत पित्रृहरुको आत्माले स्वर्गमा वास पाउन् भन्ने मनोकामनाले भक्तजनहरूले दिवङ्गत भएकाहरूको सम्झनामा सतविउ छर्ने, ब्राम्हणद्धारा रुद्री पाठ गराउनुका साथै गुप्तेश्वरको दर्शनले सन्तान नभएकाहरूको सन्तान प्राप्त हुने धार्मिक विश्वास समेत रहेको स्थानीय शिक्षक पदम न्यौपानेले बताए ।

हेर्दा आश्चर्यजनक लाग्ने धार्मिक कथाहरूसँग मेल खाने शिलारुपी महादेव पार्वती ( सुम्निमा पारुहाङ ) को वरिपरि नागको आकृति समेत देखिन्छ । गुप्तेश्वरमा स्थानीय लगायत भोजपुरको वासिङथर्पु, धोद्ले खानी, खोटाङको वाप्लुखा, सावाकटहरे, वडकादियाले, डम्र्वखु शिवालय वाट हजारौँ तिर्थालुहरु आउने स्थानीयको भनाई छ ।

तत्कालीन लिकुवापोखरी गाँउपञ्चायतका प्रधानपञ्च प्रेमबहादुर महाराजीको अगुवाइमा  जिल्ला पञ्चायत मार्फत प्राप्त भएको ४५०० रुपैयाँ बजेट ले गुप्तेश्वरको वरिपरि पर्खाल लगाएर चार ढोका निर्माण गरिएको स्थानीयले बताए ।

२०४६ सालको जनआन्दोलन पछि गुप्तेश्वरमा स्थानीयको चासो कम हुँदै गए पनि २०५१ साल सम्म स्थानीय नैन बहादुर खत्रीले नियमित सरसफाइ र पूजा आराधना गर्ने गरेको शिक्षक न्यौपानेले सम्झिए  ।

गुप्तेश्वर महादेव बारे पछिल्लो पुस्तालाई जानकारी समेत छैन । त्यसैले सतविउ छर्नको लागी लिकुवापोखरीवासी भोजपुरको नागछागा, खोटाङको हलेसी सम्म पुग्न पर्ने बाध्यता रहेको छ ।

गुप्तेश्वर प्रति स्थानीय युवाको चासो
गुप्तेश्वर महादेवको संरक्षण गर्न सके तिर्थालुहरुलाई सहज हुने साथै आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुग्ने स्थानीय वताउछन् ।

पछिल्लो समय स्थानीय दीपेश खड्का, शम्भु कटुवाल, एल बी न्यौपाने लगायतका युवाहरूले गुप्तेश्वर महादेवको संरक्षणको लागी आवाज उठाइरहेकाछन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दीपेश खड्काको स्टाटस पढेर देश विदेशमा रहेका लिकुवापोखरी वासीले गुप्तेश्वर महादेव बारे थाहा पाएपछि गुप्तेश्वरलाई संरक्षण गर्न आग्रह समेत गरेका छन् । गुप्तेश्वर लाई संरक्षण गर्नको लागी देश विदेशमा रहेका मनकारीहरू लाई आर्थिक सहयोग गर्न र सल्लाह सुझाव दिन समेत स्थानीय युवाहरूले अनुरोध गरिहेकाछन् ।

आफ्नो वडामा रहेको धार्मिक स्थल लाई संरक्षण गर्न आफूले पनि सहयोग गर्ने वडाध्यक्ष खड्ग बहादुर कार्कीले बताए ।

खोटाङको सदरमुकाम दिक्तेल वाट करिब ९२ कि.मी, भोजपुर बजार वाट करिब ५२ कि.मि साथै उदयपुरको वेल्टार बजार वाट करिब ७० कि.मि दुरीमा गुप्तेश्वर महादेव रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्