इलाम–दार्जिलिङ सम्बन्ध : जहाँ नेपाल र भारतका घर जोडिएका छन्



नेपाल–भारत सीमा संवेदनशील मानिन्छ । तर, इलाम–दार्जिलिङ सम्बन्ध भने मित्रतापूर्ण छ । इलामलाई दार्जिलिङको भर छ भने दार्जिलिङलाई इलामको भर छ । सीमामा दुई देशतिर बनेका कतिपय घरसमेत जोडिएका छन् ।

दुवैतिर नेपालीभाषीको बसोवास छ । त्यसैले जोडिएका घरमा मर्दा मलामी र बिहेमा जन्ती पनि दुवै देशका हुन्छन् । भारतीय बजारलाई नेपालतिरबाट पानी पठाइएको छ । नेपाली विद्यार्थी पढ्न दार्जिलिङका नाम चलेका विद्यालय जाने गरेका छन् ।

अर्मपर्मको ओेहोरदोहोर हुने गरेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए । सीमावारिपारि बिहेबारी पनि हुने गरेको उनको भनाइ छ । पशुपतिनगरका स्थानीयकै कारण दार्जिलिङको व्यापार धानिएको छ ।

दार्जिलिङका विद्यालयका गाडी पशुपतिनगर आउँछन्

दार्जिलिङमा रहेका कलेज उच्च शिक्षाका लागि अब्बल मानिन्छ । अहिले पनि भारतीय कलेजमा अध्ययन गर्न जानेको चाप निकै छ । काठमाडौं, धरान, विराटनगर, इटहरी, पशुपतिनगरदेखि पोखरासम्मका विद्यार्थी पढ्न दार्जिलिङ पुग्छन् ।

दार्जिलिङमा भइरहने गोर्खाल्यान्ड आन्दोलनका बाबजुद नेपालबाट अध्ययनका लागि उता पुग्ने विद्यार्थीको संख्यामा कुनै कमी नआएको दार्जिलिङमा शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएका ज्ञानेन्द्र अर्याल बताउँछन् । उच्च शिक्षाका लागि मात्रै नभएर सानै उमेरमा भारतीय विद्यालय धाउनेको संख्या पनि कम छैन ।

भारतका निजी विद्यालयका चार–पाँचवटा सवारी पशुपतिनगर बजारसम्म आउँछन् । प्रत्येक सवारीमा १५–२० जनका दरले विद्यार्थी भारतीय बोर्डिङमा धाउने गरेका छन् । नेपालभन्दा भारतको पढाइ सस्तो पर्ने र अंग्रेजी राम्रो हुनाले बालबालिकालाई पढ्न उता पठाउने गरेको स्थानीय बताउँछन् ।

भारतीयको भर कुम्भकर्ण बजार

पशुपतिनगरको भारतीय सीमामा कुम्भकर्ण बजार छ । यो बजारबाट पारिका स्थानीयले दैनिक उपभोग्य बस्तु खरिद गर्छन् । दार्जिङका केही ट्राभल एन्ड टुर कम्पनीले पशुपतिनगरलाई पनि पर्यटन गन्तव्यका रूपमा राखेका छन् ।

दार्जिलिङमा पर्यटकको चाप हुँदा पशुपतिनगरमा पनि त्यसको प्रभाव पर्छ । दार्जिलिङ आउने ७० प्रतिशत भारतीय पर्यटक पशुपतिनगर आइपुग्छन् । कपडा, जुत्ताचप्पल, छुर्पीलगायत सामान भारतीयको रोजाइमा पर्छन् । सिजनमा दैनिक आठ सयदेखि हजार पर्यटक सीमावर्ती बजार पशुपतिनगर आउने स्थानीय बताउँछन् ।

गोर्खाल्यान्ड आन्दोलनले पशुपतिनगर पनि प्रभावित

दार्जिलिङमा गोर्खाल्यान्ड माग गर्दै आन्दोलन भएको तीन दशकभन्दा बढी भयो । पछिल्लोपटक भएको एक सय पाँच दिनको बन्दको प्रभाव नेपालमा पनि प¥यो । आन्दोलनका वेला सीमावर्ती बजार पशुपतिनगर प्रायः ठप्प भयो ।

दार्जिलिङ बन्दको प्रभाव भन्सार संकलनमा समेत परेको छ । एक करोड ४६ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको पशुपतिनगर भन्सार कार्यालयमा माघ मसान्तसम्म ४६ लाख ५४ हजार ३७७ रुपैयाँ मात्रै संकलन भएको छ । ‘लामो सयम दार्जिलिङमा भएको आन्दोलनको प्रभाव भन्सार राजस्व संकलनमा परेको छ,’ पशुपतिनगर भन्सार कार्यालयका अच्युत ढकालले भने, ‘बाँकी पाँच महिनामा कार्यालयले राखेको लक्ष्य पूरा हुने सम्भावन छैन ।’

त्यसो त पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालीका कारण गोर्खाल्यान्ड चर्किएको आरोप लगाएकी थिइन् । उनले नेपाली दार्जिलिङ आएर आन्दोलन गरेर फर्कने गरेको आरोप लगाइन् । दार्जिलिङमा अन्दोलन चर्किएका वेला दलका कतिपय नेता–कार्यकर्ताको सेल्टर भूमि नेपाल हुने गरेको छ ।

साहित्यमा सँगसँगै

नेपालीभाषी बाहुल्य रहेको दार्जिलिङसहित अलि परको सिक्किममा समेतमा बाक्लै सहित्यिक कार्यक्रम आयोजना हुन्छन् । यस्ता कार्यक्रममा प्रायः नेपाली साहित्यकारलाई अतिथि बनाइन्छ ।
नेपालमा साहित्यिक कार्यक्रम हुँदासमेत भारतका स्रष्टा देखिन्छन् । इलामका कवि विमल वैद्य कविता सुनाउनै सिक्किम, दार्जिलिङ, सिलिगुडी, कालेबुङ, आसामलगायत ठाउँ पुगेका छन् । उनी मात्रै होइन पुराना स्रष्टा गणेश रसिकदेखि मनु मञ्जिल, हेमन यात्री, गण्डकी पुत्र, सुमन पोख्रेल, केशव आचार्य पनि उता पुगिरहेका हुन्छन् ।

भारतका साहित्यकार मनप्रसाद सुब्बा, मिलन बान्तवा, राजा पुनियानी, केवलचन्द्र लामा, विन्दा सुब्बा, डा. कविता लामा, राजेन्द्र भण्डारी, मनोज बोगटी पनि कविता सुनाउन नेपाल आइरहन्छन् । व्यक्तिगत चिनजानका आधारमा मात्रै नभएर लेखकीय चिनजानका आधारमा पनि स्रष्टाहरूको आउजाउ हुने इलामका कवि वैद्यको भनाइ छ ।

कतिपय भारततिरका साहित्यानुरागी पुस्तक किन्नकै लागि इलाम आइपुग्ने गरेका छन् । ‘राम्रो पुस्तक सुझाउन भन्दै पसलमा बाक्लै भारतीय भूमिका नेपाली आउँछन्,’ इलामस्थित सरस्वती पुस्तक पसलका लक्ष्मी उप्रेतीले भने, ‘कति उनीहरूको रोजाइमा लान्छन्, कतिले हामीले राम्रो छ भनेपछि किन्छन् ।’

मर्दाको मलामी जिउँदाको जन्ती

सीमावर्ती क्षेत्रमा वारिपारिको बिहेबारी चलिरहन्छ । नेपालकी छोरीलाई भारतीयको बुहारी बनाउन या भारतीय छोरीलाई नेपालीको बुहारी बनाउन सीमाले छेकेको छैन । ‘यताभन्दा उता जन्ती मजा हुन्छ,’ स्थानीय मिलन श्रेत्रीले भने, ‘क्षेत्री–बाहुनको बिहेमा उता जन्ती जाँदा अहिले पनि श्लोक सुन्न पाइन्छ ।’ भारततिरका नेपालीभाषीले आफ्नो संस्कृति जगेर्ना गरेका छन् । शुभकार्यमा मात्रै होइन दुःखका वेला पनि उस्तै साथसहयोग आदानप्रदान हुन्छ । मंगलबार निधन भएका साहित्यकार इन्द्रबहादुर राईको अन्त्येष्टिमा बिहीबार दार्जिलिङ जान धेरै नेपाली तयार छन् । नेपाली भूमिमा विवाह या मृत्यु पर्दा पारिका नेपालीभाषी आएर सरौतो (आर्थिक सहयोग, जुन परेको वेला फिर्ता गरिन्छ) लगाउँछन् ।

नेपालको पानी भारतीयलाई

वारि पशुपतिनगर र पारि दार्जिलिङ दुवैतिर खानेपानीको समस्या छ । पशुपतिनगर बजारभन्दा करिब १९ किलोमिटरमाथि मानेभञ्ज्याङ थुम्कीबाट ल्याइएको खानेपानी दुवैतर्फ बाँडिएको छ । नेपालतिरका घरघरमा मिटरजडित धारामा पानी खस्छ । त्यही पानी भारतका १५ घरका लागि पनि बाँडिएको छ । भारततिर एउटा धारो लगिएको छ । धारोको मिटर भने नेपालतिरै राखिएको छ ।

नेपालतर्फ खानेपानी आयोजना बन्नुभन्दा पहिले नेपालीले भारतीय क्षेत्रमा रहेको कुवाको पानी खान्थे । एडिबीको सहयोगमा आयोजना बनेपछि एउटा धारा भारतीयलाई छुट्याइएको स्थानीय मिलन क्षेत्रीले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्