प्रेरक प्रसंग : सच्चा देशप्रेमको उदाहरण



स्वामी विवेकानन्द विदेश भ्रमणमा रहेका वेला बजार घुम्दै थिए । त्यस क्रममा उनले त्यहाँ केही फलफूल किन्ने विचार गरे । त्यसैले उनी एउटा फलफूल पसलमा पुगे । उनले केही स्याउ किन्ने विचार गरे र पसलेसित आफूलाई स्याउ जोखिदिन अनुरोध गरे । पसलेले विवेकानन्दलाई केही स्याउ जोखेर झोलामा राखिदियो । तर, उसले त्यसरी राखिदिएको स्याउमध्ये केही कुहिएका थिए । ती स्याउ खानलायक थिएनन् ।

विवेकानन्दले स्याउ मागेको र पसलेले उनलाई बिग्रेको स्याउ दिएको दृश्य त्यहीँ नजिकै बसिरहेको एक बालकले ध्यानपूर्वक हेरिरहेको थियो । जब पसलेले तोकेको मूल्य तिरेर विवेकानन्द हिँड्न लागे, तब त्यो बालक उनको नजिकै गयो र नम्रतापूर्वक भन्यो, ‘महाशय, कृपया तपाईंले भर्खरै किनेको स्याउ मलाई दिनुहोस् र त्यसको मूल्य मसँग लिनुहोस् ।’ एउटा बालकले यसरी आफूसित स्याउ फिर्ता मागेको सुन्दा विवेकानन्द छक्क परे ।

उनलाई ती बालकको व्यवहार अलिक अनौठो लाग्यो । त्यसपछि उनले टुक्रुक्क बसेर बालकको गाला थप्थपाउँदै सोधे, ‘किन ? म यो स्याउ किन तिमीलाई दिऊँ ? अनि किन तिमी यो स्याउ लिएर रकम तिर्न चाहन्छौ ? यदि तिमीलाई स्याउ खान मन लागेको भए म तिमीलाई यो सबै स्याउ दिन तयार छु । त्यसका लागि तिमीले मलाई एक पैसा पनि दिनुपर्दैन ।’

विवेकानन्दको भनाइ सुनिसकेपछि त्यो बालकले भन्यो, ‘होइन, होइन मलाई यो स्याउ लिएर खानु छैन । पसलेले तपाईंलाई दिएको स्याउ कुहिएको, बिग्रिएको छ । यस्तो स्याउ किनेपछि तपाईंले आफ्नो देशमा फर्किएर त्यहाँ मेरो देशबारे नराम्रो कुरा सुनाउनुहुनेछ । त्यतिखेर मेरो देशका कति बेइज्जत होला ? त्यो मेरा लागि पनि दुःख र लज्जाको विषय हुनेछ । त्यसैले महाशय, कृपया त्यो स्याउ मलाई फिर्ता दिनुहोस् र त्यसको रकम लिनुहोस् ।’

बालकको यस्तो अमूल्य देशप्रेम देख्दा स्वामी निकै प्रभावित भए । उनले सो बालकलाई अँगालो हालेर उसको शिरमा चुम्बन गर्दै भने, ‘मलाई तिम्रो देशप्रेममा असाध्यै गर्व छ । अब म आफ्नो देश फर्किएपछि तिम्रो देशको कुनै पनि नराम्रो कुरा कोही कसैसित गर्नेछैन । बरु म योचाहिँ अवश्य भन्नेछु, यस देशका बच्चाबच्चा देशप्रेमी छन् । उनीहरूमा देशप्रेमको भावना प्रचुर छ । उनीहरू आफ्नो देशको स्वाभिमानमा अलिकति पनि चोट लाग्न दिँदैनन् ।’ (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्