संसदमा शीर्ष नेताहरूको सम्बोधन : संविधान संशोधन, कार्यान्वयन र आर्थिक समृद्धिमा जोड



राष्ट्रिय दलको मान्यता पाएका दलका शीर्ष नेताहरूले संविधान संशोधन र कार्यान्वयन गर्दै मुलुकको अर्थतन्त्र विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेताहरूले समृद्धिमा जोड दिएका हुन् । बैठक सुरु हुनासाथ एमाले नेता माधवकुमार नेपालले जनताले बुद्धिमानीपूर्ण ढंगले वाम गठबन्धनलाई जनमत दिएकाले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताएका छन् । नेपालले वामपन्थी अधिनायकवादी हुन्छन् भन्ने प्रचार गरिएकाले भ्रम चिर्ने वेला आएको बताए । उनले भने, ‘वाम गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ । हामी विधिको शासनमा विश्वास गर्छौँ । यो सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्नुपर्छ ।’

अन्तर्राष्ट्रिय समुदायको नेपालप्रति ठूलो सद्भाव रहेको बताउँदै नेपालले नेपालीहरूको स्वाभिमान उच्च राख्नुपर्ने बताए । उनले केही राष्ट्रिय गीतको उदाहरण दिँदै मुलुकलाई भ्रष्टाचारमुक्त गर्नुपर्ने बताए । कानुनी संरचना र प्रशासन परिवर्तनमा विशेष जोड दिन उनले सरकारलाई सुझाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धन नेतृत्वको सरकारलाई सफलताको कामना गर्दै सरकारको राम्रो काममा सहयोग गर्ने बताए । देउवाले यसअघि संविधान संशोधन गर्न खोजेको स्मरण गर्दै संशोधनमार्फत सबैको भावना समेट्न सरकारलाई सुझाब दिए । तर, उनले संविधानको आधारभूत कुरामा परिवर्तन गर्न नहुने बताए । देउवाले भने, ‘संविधानका आधारभूत कुरालाई परिवर्तन गर्ने काम नहोस् । आधारभूत कुरा नखुस्कियोस् । हामी विपक्षी पार्टीको भूमिका खेल्छौँ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । हामी पूरा सहयोग गर्न तयार छौँ ।’

००७ पछिको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै देउवाले संविधान घोषण तथा यसको कार्यान्वयनमा आफूहरूको भूमिका महत्वपूर्ण रहेको दाबी गरे । स्वदेशी तथा विदेशी लगानी ल्याएर मुलुकको पर्यटन, उद्योग, भौतिक पूर्वाधार, जलस्रोत र ऊर्जाको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गतिशील ढंगले संविधान संशोधन गर्न तयार रहेको बताउनु राम्रो संकेत भएको बताए । प्रचण्डले संविधानलाई विकसित र परिमार्जित गर्न आवश्यक रहेकोसमेत बताए । आफू प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालमा रहँदा पनि संविधान संशोधनको प्रयास गरेको स्मरण उनले गरे ।

संविधानले मुलुक समाजवादउन्मुख हुने बताएको, तर त्यसो हुन नसकिरहेकाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन राष्ट्रिय एकता अपरिहार्य रहेको उनले औँल्याए । उनले भने, ‘हामी लड्दा जनता र देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो । अब मिलेर अघि बढ्ने मौका आएको छ ।’ वाम गठबन्धन धेरै दिन नरहने र छिटै पार्टी एक हुने उनले बताए ।

प्रचण्डले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा मात्रै चल्न नहुनेमा समेत जोड दिए । उनले भने, ‘राजनीतिक नेतृत्व सच्चिन आवश्यक छ । मुलुकको अर्थतन्त्र उकास्ने जिम्मा हाम्रै हो ।’ भ्रष्टाचार संस्थागत रूपमा मौलाइरहेकोप्रति दुःख व्यक्त गर्दै उनले सरकार दण्ड र पुरस्कारको व्यवस्था गरेर अगाडि बढ्नुपर्ने बताए ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मुलुकमा लडाइँ र झगडाको युग समाप्त गर्न चाहेको बताए । महतोले सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्न करिब दुईतिहाइ मतनजिक रहेको वाम गठबन्धनलाई ठूलो छाती बनाउन आग्रह गरे । उनले भने, ‘वाम गठबन्धन झन्डै दुईतिहाइनजिक छ । उनीहरूले ठूलो छाती बनाएर सबैलाई समेट्नुपर्छ । हामी पनि लडाइँ र झगडाको युग समाप्त गर्न चाहन्छौँ ।’ उनले पनि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील दस्ताबेज भएकाले संशोधन गरेर जानुपर्ने बताए । संविधान घोषणा हुँदा एक शक्ति सडकमा रहेको र अर्को शक्तिले दीपावली मनाइरहेको प्रसंग निकाल्दै यादवले संशोधनबाट त्रुटि सच्याउँदै सबैले मेरो भन्ने संविधान बनाउनुपर्ने बताए ।

नियमावली मस्यौदा समिति गठन
संघीय संसद् सञ्चालनको नियमावली बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समिति गठन भएको छ । प्रतिनिधिसभाको बैठकले १३ र राष्ट्रिय सभाले ९ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । १३ सदस्यीय समितिमा एमालेका पाँच, कांग्रेसका तीन, माओवादीका दुई सदस्य छन् । संघीय समाजवादी फोरम र राजपाबाट एक–एक सदस्य छन् भने स्वतन्त्र सांसद प्रेम सुवाल पनि समितिमा परेका छन् ।

राष्ट्रिय सभा नियमावली मस्यौदा समितिमा भने एमालेका तीन, कांग्रेस र माओवादीका दुई–दुई तथा राजपा र संघीय समाजवादी फोरमबाट एक–एकजना सदस्य छन् । दुवै समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाभित्र नियमावलीको मस्यौदा तयार पार्ने जिम्मा दिइएको छ । मस्यौदा समितिको पहिलो बैठकले समिति सभापति तोक्ने सदस्य एवं राजपा सांसद लक्ष्मणलाल कर्णले बताए ।

संविधानको धारा १०४ मा संघीय संसद्को प्रत्येक सदनले आफ्नो कार्यसञ्चालन गर्न नियमावली बनाउने उल्लेख छ । सोहीबमोजिम संघीय संसद्को दुवै सदनले नियमावली मस्यौदा समिति गठन गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्य
कृष्णभक्त पोखरेल – एमाले
जुलीकुमारी महतो – एमाले
बृजेशकुमार गुप्ता – एमाले
रवीन्द्र अधिकारी – एमाले
बिन्दा पाण्डे – एमाले
दिलेन्द्रप्रसाद बडू – कांग्रेस
मीनबहादुर विश्वकर्मा – कांग्रेस
मीनेन्द्रप्रसाद रिजाल – कांग्रेस
देवप्रसाद गुरुङ – माओवादी केन्द्र
रेखा शर्मा – माओवादी केन्द्र
लक्ष्मणलाल कर्ण – राजपा
विमलप्रसाद श्रीवास्तव – संघीय समाजवादी फोरम
प्रेम सुवाल – स्वतन्त्र (नेमकिपा)

राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सदस्य
गणेशप्रसाद तिमल्सिना – एमाले
परशुराम मेघी गुरुङ – एमाले
दिलकुमारी रावल थापा पार्वती – एमाले
सुरेन्द्रराज पाण्डे – कांग्रेस
राधेश्याम अधिकारी – कांग्रेस
दीनानाथ शर्मा – माओवादी केन्द्र
जीवन बुढा – माओवादी केन्द्र
बृजेशचन्द्र लाल – राजपा नेपाल
प्रमिला कुमारी – संघीय समाजवादी फोरम नेपाल

२६ मा सभामुख र ३० मा अध्यक्षको निर्वाचन
प्रतिनिधिसभामा २६ फागुनमा सभामुखको निर्वाचन हुने मिति तोकिएको छ भने राष्ट्रिय सभाको अध्यक्षका लागि ३० फागुनमा निर्वाचन हुने भएको छ । सभामुखका लागि २५ फागुनको अपराह्नसम्म मनोनयन दर्ता गर्नुपर्ने र अध्यक्षका लागि २८ फागुन अपराह्नसम्म मनोनयन दर्ता गर्ने समय रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री केपी ओलीले २७ फागुनमा प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनेछन् । २ चैतमा उपसभामुख र ४ चैतमा राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन मिति तोकिएको छ । प्रतिनिधिसभाको बैठक २६ गतेसम्म र राष्ट्रिय सभाको बैठक ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

क–कसले गरे सम्बोधन ?
प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गरे । स्वतन्त्र सांसदको हैसियतमा जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देन र नेमकिपाका प्रेम सुवालले पनि सम्बोधन गरे । राजपाका महतोले हिन्दी भाषामा संसद्लाई सम्बोधन गरेका थिए ।

राष्ट्रिय सभामा भने एमालेका गणेश तिमल्सिना, कांग्रेसका राधेश्याम अधिकारी, माओवादी केन्द्रका दीनानाथ शर्मा, राजपाका बृजेशचन्द्र लाल र संघीय समाजवादीकी प्रमिला कुमारीले सम्बोधन गरे । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्