स्वराजको भ्रमण राजनीतिक मर्यादाविपरीत : माओबादी केन्द्रमा खैलाबैला



नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमण कूटनीति र राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

सरकार परिवर्तनको संघारमा यस्तो खालको भ्रमण हुनुलाई उनीहरूले अस्वाभाविक भनेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भनेको यो भ्रमणको माओवादीकै शीर्ष नेताहरूले भने चर्को आलोचना गरेका हुन् ।

माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान करिब ५० मिनेटको भेटपछि दुई देशको मित्रता सौहार्दपूर्ण भएको टिप्पणी गरेका थिए ।

उनैका पार्टीका नेताहरूले भने सरकार कामचलाउ बनेका बेला छिमेकी देशको विदेशमन्त्री बिनाएजेन्डा नेपाल आउनु सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गरेका छन् ।

अाजको अन्नपूर्णमा खबर छ-माओवादी उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वराजको भ्रमणलाई राजनेताहरूले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको प्रमाणका रूपमा लिएका छन् ।

‘हुन त वाम गठबन्धनका नेताद्वय ओली र दाहालले राम्रो भन्नुभएकै छ । भारतीय पक्षले पनि शुक्रबार साँझ भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकै छ । त्यसैले राम्रै भयो होला’, उनले भने, ‘तर यसले कूटनीतिक आचारसंहिता उल्लंघन भएको छ ।’

नेताहरूमा निहित राजनीतिक स्वार्थका कारण आमजनताले दुःख र ग्लानिको अनुभूति गर्नुपरेको बताए । ‘ठूला छिमेकीको उपनिवेश बन्दासमेत पुर्खाहरूले स्वतन्त्र राखेको हाम्रो देशको स्वाभिमान आज गिराइँदै छ’, उनले भने ।

माओवादी प्रवक्ता पम्फा भुसालले वाम एकता गर्ने पार्टीका नेताले बोलाएर भएको भ्रमणप्रति आफ्नो विशेष टिप्पणी नहुने बताइन् । उनले भनिन्, ‘निर्वाचनपछि छिमेकीले भ्रमण गर्नु राम्रो मानिन्छ तर राज्य नै कामचलाउ भएको अवस्थामा कूटनीति मर्यादा र राजनीतिका लागि राम्रो भएन ।’

माओवादीकै अर्का नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले सरकार कार्यवाहक भएको अवस्थामा बिनाएजेन्डा स्वराज आउनु बेठीक भएको बताए । दक्षिण छिमेकले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका बढाउन खोजेको अनुभव आफूले गरेको गुरुङको भनाइ छ ।

औपचारिक पोजिसन भएको व्यक्ति बिनाएजेन्डा आउनु कूटनीतिक मर्यादाविपरीत हुने उनले बताए ।

गुरुङले भने, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका देखाउन खोजेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बिदाइ र वामपन्थी सत्ताको निकटतामा रहेको अवस्थामा भएको भेटघाटको अर्थ रहँदैन ।’

यो भ्रमणले कतै वाम गठबन्धनको एकतामै अप्ठ्यारो पार्ने त होइन भन्ने संकेत गरिरहेको धारणा उनले व्यक्त गरे । कार्यसूचीबिनाको भ्रमणले कुनै न कुनै प्रकारको चलखेलको पुष्टि गर्ने दाबी गुरुङको थियो ।

प्रतिक्रिया दिनुहोस्