को हुन् राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष नारायण दाहाल ?



काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

स्वर्गिय बुवा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेष्ठ सुपुत्र नारायण दाहाल ‘सरल’ माओवादी जनयुद्धलाई सक्रिय र ठूलो योगदान पुर्‍याउने योद्धा हुनुहुन्छ । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था र विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्य हुँदै प्रवासमा अनेकौं पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, सांगठनिक काममा सक्रिय हुदैँ आर्थिक र भौतिक साधन श्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्‍याउनु भएको छ । पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य र ३ नम्बर प्रदेश अध्यक्ष समेत रहनुभएका दाहालसँग वहाँको राजनीतिक जीवनका विविध पक्षहरुबारे गरिएको कुराकानीको आधारमा तयार पारिएको विशेष आलेख :

राजनीति नबुझ्दै कम्युनिष्ट समर्थक
कास्की जिल्लाको ढिकुरपोखरीमा परिवारको जेठो सन्तानको रुपमा नाराणय दाहालको जन्म बि.सं. २०१२ साल चैत्र १६ गते भएको हो । २०१९ सालमा ७ वर्षको उमेरमै प्रचण्ड परिवारसँगै चितवन बसाईसराई गरी शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कूले शिक्षा पुरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभयो । त्यो बेलाको गाउँले परिवेश सुनाउँदै दाहाल भन्नुहुन्छ, “शिवनगर (मुन नहर मूनी)मा बसोबास गर्ने करिब ९५ प्रतिशत मान्छेहरु स्वतस् कम्युनिष्ट हुन्थे । त्यसैले हामी पनि बाल्यकाल मै नबुझी कम्युनिष्ट पार्टीप्रति आस्थावान बन्न पुगियो । कम्युनिष्ट सत्ता आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले मलाई कम्युनिष्ट पार्टीप्रति आकर्षण बढ्दै गयो ।’

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निस्शुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाईने हुनाले स्कूले जीवनमै दाहालले धेरै चिनियाँ कम्युनिष्ट पार्टीका चीन सचित्र, रेडबुक जस्ता पुस्तकहरु पढ्नुभयो । २०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै २ घण्टा हिडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाई दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिनुभयो ।

क्याम्पस जीवनमै पुष्पलाल समूहमा आवद्ध
माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आवद्ध दाहालले २०३१ सालमा विरेन्द्र क्याम्पस भरतपुरमा पढ्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभयो । सदस्यता लिएको केही समयपछि ३ जनाको स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बन्नुभयो । काठमाडौं बस्ने दाहालका साथीहरुले पठाएको मोहन बिक्रमले नेतृत्व गरेको नेकपा चौथोँ महाधिवेशन को मुखपत्र ‘मशाल’ अध्ययनपछि २०३४ सालबाटै दाहाल चौथो महाधिवेशनको सदस्य नबन्दै मोहन विक्रमलाई पार्टी नेता मान्ने निर्णयमा पुग्नुभयो ।

२०३६ सालमा डिप्लोमा पास गरेर पार्टी जीवनमा होमिनु भएका दाहाल सोही समयमै एरिया पार्टी कमिटीको कोषाध्यक्ष छानिनुभयो । एरिया कमिटीमा १ बर्ष काम गर्नुभएका दाहाललाई मोहन विक्रम घरमै आएको बेला छलफल भई कमरेड प्रचण्डको सल्लाहमा पूर्णकालिन सदस्य भई भारत प्रवासमा पार्टी काम गर्न पुग्नुभयो । बुवाआमारश्रीमती र काखे सन्तान छाडेर सर्वहारा वर्गको मुक्तिका लागि दाहाल गोरखपुर पुग्नुभयो । भारत पुगे लगत्तै दाहालले जिल्ला पार्टीको मान्यता प्राप्त पार्टी कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्नुपर्‍यो । साथै प्रवासमा रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सचिवको रुपमा काम गर्न थाल्नुभयो । साथै संगठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबिच राजनैतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेल्नुभयो ।

प्रवासको पार्टी जिम्मेवारीमा पूर्ण समर्पित
२०३७ सालदेखि पार्टीको पूर्णकालिन सदस्य बन्नुभएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । समाजको सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुदैँ दोस्रो सम्मेलनपछि महासचिवको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी संगठन विस्तारमा समर्पित रहनुभयो ।

भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाउनु भएका दाहालले आफ्नो जीवनको ठूलो हिस्सा पार्टीको प्रवास कमिटी विस्तारमा खर्चिनु पर्‍यो । २०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किनु भएका दाहालको ईच्छा नेपालमै बसेर पार्टीलाई योगदान पुर्‍याउने थियो । तर दाहाल नेपाल आएपछि प्रवासको पार्टी काम र संगठन परिचालनमा केही जटिलता देखा परेपछि परिवार सहित २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत जानुपर्‍यो ।

प्रवास पुगेर पार्टी र एकता समाजको काम गर्दा गर्दै पार्टीको निर्णय अनुसार अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटिको जिम्मेवारीमा रहेर ३ बर्ष काम गर्नुभयो । त्यसपछि पुनस् प्रवासको संगठनको अध्यक्ष भई निरन्तर प्रवास पार्टी संगठनमा करिव दुई दशक विताउनु भएका दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारी पाउनुभयो । भारतमा रहँदा त्यहाँका भूमिगत कम्युनिष्ट पार्टीसँग भाईचारा सम्बन्ध स्थापित गर्नुभएका दाहाललाई भारत सरकारले वारेन्ट जारी गर्दै प्रवासको मोर्चा संगठन अखिल भारत नेपाली एकता समाज माथि प्रतिबन्ध लगायो । जुनबेला दाहाल प्रवास मोर्चा संगठनको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । खुल्ला रुपमा संगठन विस्तार र परिचालन गरिहनुभएका दाहालले २०५९ सालदेखि भारतमै पनि भूमिगत रुपमा काम गर्नुपर्ने अवस्था सिर्जना भयो ।

जहाँ पार्टी समस्या त्यहाँ दाहाललाई जिम्मेवारी
२०४६ सालदेखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्कनु भएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी हेडक्वार्टरको निर्देशनमा भारत जानुभयो । २०६० सालमा पार्टी निर्देशन मै नेपाल आउनु भएका दाहालले भेरी–कर्णाली क्षेत्रमा काम गरी तीन जिल्लाको पार्टी कमाण्ड सम्हाल्नुभयो । जनयुद्ध उत्कर्षको बेला भेरी, कर्णाली राज्य समितिको काममा जुट्दा धेरै पटक सेनाको घेरा र मोर्चामा बाँच्न सफल दाहालको जीवनी अहिले कथा जस्तो लाग्छ । शान्ति प्रक्रियापछि कास्कीको पार्टी कामलाई उठाउनुपर्ने देखिएपछि पार्टी नेतृत्वको निर्देशनमा वहाँले ईन्चार्जको रुपमा जिम्मेवारी बहन गर्नुभयो । कास्कीमा जिम्मेवारी बहन गर्दागर्दै हेडक्वार्टरकै आदेशपछि दाहाल ताम्सालिङ्ग राज्य क्षेत्रको जिम्मेवारी सम्हाल्न पुग्नुपर्‍यो । ताम्सालिङ्ग राज्यको जिम्मेवारीपछि राजधानी प्रदेश समेत रहेको नेवाः राज्य पार्टीको सचिव बन्नुपर्‍यो । साथै कहिले संयोजक, कहिले सचिव हुँदै नेवाः राज्य र ताम्सालिङ्ग राज्यको पार्टी काममा सक्रिय रहँदै पार्टी भित्रको अन्तर संघर्षमा कुशलतापूर्वक क। प्रचण्डको पक्षमा पार्टीलाई संगठित बनाई रहनुभयो ।

राजकीय भूमिका
तत्कालिन नेकपा माओवादीको मुख्य राजनीतिक एजेण्डा मानिएको संविधानसभा मार्फत नयाँ संविधान बनाउने उद्देश्य पुरा गर्न गठन गरिएको व्यवस्थापिका संसद् २०६३ सालमा दाहाल सदस्य बन्नुभयो । २०६४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित बन्नुभएका दाहालले नेपालको ऐतिहासिक संविधान सभा मार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भयो । अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिका समेत निर्वाह गर्नुभयो ।

स–परिवार युद्ध मोर्चामा होमिदा
२०२८ साल फागुनमा दुर्गादेवी पौडेलसँग मागी विवाह गर्नुभएका दाहालको परिवारमा दुई छोरा ९समिररदिनेश दाहाल० र एक छोरी (कल्पना दाहाल) गरी पाँच सदस्य रहेको थियो ।

२०३० मा जेठो छोरो जन्मिएको सात बर्षपछि पार्टीको पूर्णकालिन सदस्य हुँदै पार्टी प्रवासमा लामो समय बिताउनु भएका दाहालको २०४६ सालको जनआन्दोलन मोर्चामा खटिन नेपाल आई यतै बसेर पार्टीमा काम गर्ने इच्छा थियो । प्रवास पार्टी मै काम गर्नुपर्ने भएपछि परिवार सहित भारत फर्कनुभएका दाहालले श्रीमतीलाई समेत पार्टी कमिटी, महिला संगठन निर्माण र परिचालनको जिम्मेवारी दिनुभयो ।

युद्धमोर्चामा प्रत्यक्ष रुपमा होमिनुभएका दाहालको जेठो छोरा समिर दाहाललाई २०५८ सालमा पार्टीको पूर्णकालीन सदस्य बनाई जनयुद्धमा सहभागी गराउनु भयो भने २०६० सालमा जेठा छोरा बुहारीलाई पार्टी कामको लागि भेरी–कर्णालीमा जिम्मेवारी दिनुभयो । त्यसपछि २०६२ मा बैबाहिक जीवनमा बाँधिएका कान्छो छोरा दिनेश सहित बुहारीलाई समेत जनयुद्धमा होम्नुभयो । दाहाल परिवारका सबै सदस्य पार्टीमा पूर्णकालिन सदस्य हुँदा छोराहरु, श्रीमती र बुहारीहरु पार्टीद्वारा संचालित विभिन्न मोर्चा, संगठन र विभागमा काम गरेका प्रशस्त अनुभवहरु छन् ।

सिङ्गो परिवार जनयुद्धको मोर्चादेखि अहिलेसम्म पनि कुनै न कुनै रुपमा पार्टी जिम्मेवारीमा रही पुर्‍याएको योगदानप्रति गौरव गर्ने दाहाललाई छोराहरु र छोरीले औपचारिक शिक्षामा राम्रो गर्न नपाएकोमा खल्लो लाग्ने रहेछ ।

प्रवासका दु:
चौकीदारको रुपमा काम गर्ने अधिकांश नेपालीहरुलाई कम्युनिष्ट पार्टीबारे बुझाएर संगठन बिस्तार गर्नु सबैभन्दा चुनौतीपूर्ण काम भएको दाहाल बताउनुहुन्छ । गोरखपुरमा पार्टी कार्यालय संचालन गर्दा आर्थिक स्रोतको अभावले कतिपय दिन भोकभोकै बस्नुभयोे भने कतैबाट पैसा पाएमा १ किलो भन्दा धेरै चामल किन्ने हैसियत नभएको वहाँ सुनाउनुहुन्छ ।

प्रवासमा संघर्षपूर्ण जीवन भोग्नुभएका दाहालले २०३७ सालदेखि २०४९ सालसम्म शरीर नापेर नयाँ लुगा सिलाएर वा किनेर नलगाएको तितो अनुभव समेत सुनाउनुभयो । सहयोगीबाट प्राप्त हुने १०र२० रुपैयाँले तेल, आलु, चामल ल्याउनुपर्ने बाध्यताबिच संगठन विस्तार गरिरहनुभएका दाहालले कमै समय मात्र २ छाक खाना अघाउने गरी खान पाउनुभयो । आर्थिक अभावले थिलिएपछि कतिदिन त वहाँले तातोपानी र आलुको भरमा दिनहरु बिताएको अनुभव बताउनुभयो ।

प्रवासमा संगठन विस्तार गर्दा कम्युनिष्ट भनेपछि त्यहाँका मान्छेलाई यिनले सबै जानेका हुन्छन् भन्ने भ्रम पर्ने वहाँको अनुभव छ । संगठन बिस्तारको क्रममा कसैको घरमा न्वारान गर्नुपरे वा कोही विरामी भए औषधीको नाम समेत संगठनका नेताले नै भन्नुपर्ने हुन्थ्यो । कतिपय समयमा विज्ञानका जटिल प्रश्नहरुको उत्तर दिन नसक्दा यति पनि नजान्नेले किन कम्युनिष्ट भएको भन्ने प्रतिप्रश्न समेत सामना गर्नुपर्थ्यो । अप्ठ्यारो परिस्थितिको रमाईलो अनुभव सुनाउँदै दाहाल भन्नुहुन्छ, ‘कसैले मेरो छोराछोरीको न्वारान गर्दे भन्दा जानी नजानी गरिदिएको पनि छु । त्यति नगरे त उ पार्टी संगठनमा आउँदैथ्यो । त्योबेला प्रवासी नेपालीलाई चित्त बुझाएरै काम गरिन्थ्यो ।’

जनयुद्ध सफल गराउन आर्थिक/भौतिक सहयोग
कम्युनिष्ट पार्टीको संगठन र अखिल भारत नेपाली एकता समाजको कमिटीहरु भारतका २६ वटा राज्यमा क्रियाशील थिए । त्यो बेला भारतमा काँग्रेस आई र भाजपा पछिको ठूलो पार्टी आफ्नै भएको दाहालले निकै गर्वका साथ सुनाउनुभयो । भारतमा रहँदा दाहालले संगठन विस्तार र परिचालनको साथै जनयुद्ध सुरुहुनु पूर्व भारतमा क्रियाशील भूमिगत कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गराउने, नेपालमा रहेको पार्टी कार्यकर्तालाई भारतमा झिकाई भौतिक र प्राविधिक तालिम दिलाउने, उनीहरुको सुरक्षा गर्ने र आर्थिक संकलन गर्नुपर्ने दाहाल बताउनुहुन्छ ।

जनयुद्धमा आवश्यक हातहतियार र पार्टी कार्यकर्तालाई प्राविधिक हिसाबले सुरक्षित बनाउने भूमिका समेत वहाँले निर्वाह गर्नुभयो । २०५२ सालबाट सुरु भएको जनयुद्ध २०५५ सालमा पुगेपछि पार्टीले निकै ठूलो संकटको सामना गर्नुपर्‍यो । आफू प्रवासको नेतृत्वमा रहँदा नेपाली जनयुद्धलाई टिकाउन थप हतियार, तालिम, आर्थिक सहयोग र जनयुद्धका घाईतेको उपचारको साथै पार्टी मुखपत्र प्रकाशन गर्ने काम समेत प्रवास कमिटीको सहयोगमा गरेको थियो । यद्धपी नेपालमै खटिई पार्टी काम गर्न पाएको भए अझ देखिने गरी जनयुद्धको मोर्चामा खट्थे भन्ने कुराले दाहाललाई अझै बिझाउँदो रहेछ ।

पदभन्दा जिम्मेवारी बहनमा चिन्ता
पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारीबाट आफू सन्तुष्ट हुने बताउनुहुन्छ । पद मात्र ठूलो कुरा होइन । पदीय जिम्मेवारी अनुसार आफ्नो दायित्व हामी सबैले पुरा गर्नुपर्छ । पार्टी एकतापछि अहिले ३ नम्बर प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीमा रहँदा दाहालले गरेका कामबाट कसैले गुनासो गर्ने अवस्था आएको छैन । वहाँ भन्नुहुन्छ, ‘म निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्छु, निष्ठाको राजनीतिमा विश्वास गर्छु, पार्टी कमाण्डको निर्देशन पालना गर्छु, मेरो इतिहासमा बेइमान भन्ने चाहिँ हुँदैन ।’

गुम्दै गएको कम्युनिष्ट चरित्रप्रति चिन्तित
दाहालले आफ्नै जीवनमा भोग्नु र अनुभूति गर्नु भएका त्याग, बलिदान, किर्तिमान सम्झदाँ आज दन्त्य कथा जस्तो लाग्नसक्छ । दाहाल भन्नुहुन्छ, ‘प्रवासमा रहँदा २०३७ देखि २०४९ सम्म चौकीदारका फाटेका पुराना कपडा लगाएर पार्टी काममा सक्रियतापूर्वक लागियो । भोक लागेको बेलामा खान नपाईने र निन्द्रा लाग्दा सुत्नसम्म नपाईने अवस्था थियो ।’

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्नुहुन्छ । पुष्पलाल, अध्यक्ष प्रचण्ड र मदन भण्डारीकै आदर्शमा अहिलेको पार्टीलाई फर्काउनुपर्ने दाहाल कम्युनिष्ट आदर्शको निम्ति लडिरहने, लागिरहने कुरा निरन्तर जारी रहने भएकोले त्यसमा निराश चाहिँ हुनुहुन्न । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० क। केपी र क। प्रचण्डको नेतृत्वमा नयाँ विचारको विकास सहित वैज्ञानिक समाजवादमा पुग्ने कुरामा दाहाल पूर्ण विश्वस्त हुनुहुन्छ ।

नेकपामा कम्युनिष्ट आदर्श हराउँदै गएको बताउने दाहाल कम्युनिष्टको आदर्शबारे केन्द्रीय नेताहरुले नै सोच्नुपर्ने धारणा राख्नुहुन्छ । पार्टीभित्र बढ्दै गएको विभेद, विलासी जीवनशैली र पद लोलपुताको अन्त्य नभएमा कम्युनिष्ट आन्दोलनको भविष्य बारे भन्नै नसकिने पनि दाहाल बताउनुहुन्छ । निष्ठाको राजनीति गर्नेहरुको निम्ति नेतृत्वले योजना बनाई बिग्रन लागेको पार्टी जीवन सहि बाटोमा ल्याउन प्रेरित गर्नैपर्ने बताउने दाहाल त्यसो गर्न सकेमा मात्र कम्युनिष्ट आन्दोलन सफल हुनेमा विश्वास गर्नुहुन्छ ।

पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने दाहाल पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित हुनुहुन्छ ।

पार्टी नेता र जनताबीचको दुरी बढेको बताउने दाहाल जनतासँगको पार्टी सम्बन्ध चुनावको बेला हात जोड्दै अबिर लगाएर मात्र नहुने बताउनुहुन्छ । पार्टी नेताहरुको सम्पर्क ठूला घरानीया र ठेकेदारसँग बढ्दै गएको प्रति चिन्ता गर्ने दाहाल ठेकेदारको घरमा ब्ल्याक लेवल खानुभन्दा जनताकोमा गएर कोदोको ढिडो खानुपर्ने धारणा राख्नुहुन्छ । विचार र आचारणकै कारण कम्युनिष्ट पार्टीको छवि गिर्दै गएको धारणा राख्ने दाहाल कम्युनिष्ट आचारण र चरित्रमा नपुर्‍याई पार्टीको आन्तरिक जीवन सुधार नहुने धारणा राख्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्