कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक



बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए ।

सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्फ पनि तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।

वि.सं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उनले जानकारी दिए । “केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो”, अध्यक्ष खड्काले भने, “सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसाद बाहेक गहनासमेत चढाउने गर्छन् ।

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिक रुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ ।

गुठीका अनुसार साउन महिनामा मात्रै रु १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ । सो आम्दानीबाट रु नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खीर खुवाउने कार्यक्रम लगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ ।

कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराएका थिए । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्