गिरिको विचारलाई अनुशरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा



अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन् स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका उनले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित हुनुभएको र उनको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली काँग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए । “प्रजातान्त्रिक शक्ति र वामपन्थी लाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मसात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उनले भने ।

कांग्रेस नेता डा.शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताए । “पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो”, उनले भने । नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ । गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा.रामवरण यादव, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुगेका छन् ।

यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकार लगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ । भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९ः३० बजे निधन भएको हो ।

गिरिको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा त्यसपछि दिउँसो २ :०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएको छ ।
पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्