पूर्णरूपमा खुल्यो जमुनाह नाका



नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ ।

कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्नलगायत सामग्री बोक्ने सवारी साधन निर्वाध रूपमा सञ्चालन भए पनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

भारतले पनि नेपाली निजी सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदल यात्रुलाई मात्र आउजाउ गर्न दिइएको थियो । भारतीय सुरक्षा बल एसएसबीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

मन्त्रिपरिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार जमुनाह नाका भएर सवारी साधन सञ्चालन भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्