सकिएन पम्पिङ खानेपानी आयोजनाको काम



सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।

दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । हलेसी क्षेत्रका करिब तीन हजार ७५६ घरधुरी स्थानीय बासिन्दालाई वितरण गर्ने लक्ष्य राखिएको बृहत् खानेपानी आयोजनाको काम तोकिएको समय बितेको दुई वर्ष बित्न लाग्दासमेत ८२ प्रतिशतमात्र काम सम्पन्न भएको पाइएको छ ।

दूधकोशीको पानीलाई पम्पिङ गरेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्काको समयसीमा सकिएको १९ महिना बितिसकेको छ । यस्तै भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्न लागिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको समयसीमा सकिएको कम्तीमा १३ महिना बितिसकेको सम्झौतामा उल्लेख छ ।

मुख्य प्रसारण लाइनबाट वितरण लाइनसम्मको काम करिब ७५ प्रतिशमात्र सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख हिराकाजी महर्जनले जानकारी दिए । नगरपालिकाका सात वडाका स्थानीय बासिन्दाको खानेपानीको विकराल समस्या हल गर्न रु ९६ करोडभन्दा बढीको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको हो ।

दूधकोशी नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय बासिन्दा ठेकेदार कम्पनीको लापरवाहीका कारण आयोजनाको काममा ढिलासुस्ती भएपछि आजित बनेका छन् । विसं २०७४ असार २१ गतेबाट सुरु गरिएको आयोजना निर्माणको काम अहिले ठप्प रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

विसं २०७६ पुस १७ गते नै समयसीमा सकिएको मुख्य प्रसारण लाइनको कोभिड–१९ का कारण देखाउँदै गत असार मसान्तसम्म म्याद थप गरिएको थियो । गत असार मसान्तसम्मको समयसीमा सकिएपछि पुनः कोभिड–१८ कै कारण देखाएर छ महिनाको दोस्रो समयसीमा थपको प्रक्रिया अघि बढाइएको छ ।

दिवा–महादेवले खिम्तीले दूधकोशीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नुपर्ने सम्झौता छ । दूधकोशी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्न उक्त कम्पनीले जिम्मा लिएको हो ।

सम्झौताअनुसार दिवा–महादेव खिम्तीले ट्याङ्की निर्माण, पाइप लाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडानलगायतका काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले खानेपानी आयोजनामा अपेक्षित र सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै नगरप्रमुख इवन राईसहित हलेसी क्षेत्रका नेताको टोलीले विसं २०७६ भदौमा तत्कालीन खानेपानीमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्