विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर



सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए। बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्