बदलिइरहने बादलको मुड – हेर र पर्ख, बादल सचिवालय भन्छ मध्यमार्गीबाटो अपनाउँछौं



प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर बिवाद निम्त्याए सँगै उनले चालेको राष्ट्रघाती कदमविरुद्ध काँग्रेस, जसपा लगायतका राजनीतिक दल, वर्ग, क्षेत्र र समुदाय हिजोदेखि नै विरोधमा उर्लिएका छन् ।

कतिसम्म भने उनकै पार्टी र नेताकार्यकर्ता सडकमा कालो पट्टी बाँधेर नारा लाउँदै छन्– केपी ओली मुर्दावाद राष्ट्रघाती कदम खारेज गर । तर केपी ओलीलाई कुनै मतलब छैन । उनले एकातिर घोषणा गरे अर्कोतिर कानमा तेल हालेर बसेका छन् । उनी आफ्नो गुरुअस्त्र छोड्दै छन् । आफ्ना कदमकाविरुद्ध अलिकति पनि बिचलित छैनन्, हुँदैनन् पनि । किनभने उनको विगतको चरित्रलाई इतिहासले पुष्टि गरिसकेको छ ।

उनकै मन्त्रिपरिषदबाट ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । एक विज्ञप्ति जारी गर्दै प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले भने ओलीको कदम गलत र अप्रजातान्त्रिक भएको बताउँदै राजीनामा दिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको कदम गलत र जनताको मर्म विपरित भएको बताएका छन् । तर, बादल र भट्टले भने ओलीलाई नै साथ दिएका छन् ।

७ जनामन्त्रीले राजीनामा घोषणा गर्दा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छन् । राजनीतिक घटनाक्रम रहस्यमय बन्दै गएको अवस्थामा पूर्व नेकपा नेताद्धयले प्रचण्ड क्याप्प छाडेर ओलीको साथ दिएका हुन त ? सबैतिर चासोको बिषय बनिरहेको छ । यसले गर्दा पुर्व माओवादीहरु आश्चर्य चकित भएको राजनीतिक विज्ञहरु बताउँछन् । किनकी यसअघिसम्म पार्टी एकता जोगाउन उनीहरु तटस्थ रहने बताउँदै आएका थिए ।

सामाजिक सञ्जाल, समाचार माध्यम जताततै बादल र भट्टका बारेमा ओलीलाई साथ दिएर १० बर्षे जनयुद्धको धज्जी उडाएको भनि क्रिया प्रतिक्रिया भैरहेको बेलामा बादलले प्रम ओलीलाई र पार्टी अध्यक्ष दाहाललाई मिलाउन मध्यमार्गीबाटो अपनाएको बादलको सचिवालयले जनाएको छ । दुबैलाई मिलाउनकै लागि हामीले कोशिस गरिराखेका छौ, तर वातावरण सोचेजस्तो बनेन । हामीलाई सामाजिक सन्जालहरुबाटै साथीहरुले ओलीको भनेर घोषणा नै गर्दिसके । हिजो हामीले यो भन्दा पहिला पार्टी बिभाजन हुँदा पनि यसैगरी आफ्नै कम्रेड साथीहरुले गाली बेईजती र बिभिन्न कित्तामा हाल्ने काम गरे, अहिले पनि ठ्याक्कै त्यस्तै देखियो – सचिवालयका एक सदस्यले परिवर्तनखबरसँग दुःख पोखे ।

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्छ । तर अब बादल जी कता त केपी तिर की प्रचण्डतिर रु भनि गरिएको प्रश्नको जवाफ दिँदै उनले भने १० बर्षे जनयुद्ध ,जनआन्दोलनकै जगमा टेकेर हामी संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हामीले पक्ष र बिपक्ष भन्दा पनि देश र जनताको पक्षमा काम गर्दै आएका छौं ।

हामी हिजो पनि आज पनि बाम एकता र बाम ध्रुबिकरणकै पक्षमा छौ । अब परिस्थिति बदलिए जनयुद्ध जनआनदोलनको रक्षाको निम्ति संघर्षको अर्को तयारी गर्नुपर्ने हुनसक्छ । प्रचण्डका बिगत र बर्तमानमा धेरै कुराहरुमा समस्या छन् तर पनि हिजोको नेतृत्व उहाँ नै हो । उहाँले नै सहि निर्णय लिन सक्नुहुन्छ । आगामी दिनमा पनि उहाँको बिकल्प हुनै सक्दैन तर अब कसरी अघि बढ्नुहुन्छ ? कस्तो खालको निर्णय लिनुहुन्छ हेर्न बाँकी छ । बाँकी रह्यो केपी ओली क्याम्पको कुरा – त्यो त समयले निर्धारण गर्ला उनले थपे ।

बादल बदलिएकै हुन् त ? भन्ने चारैतिर शंका उपशंका बढिरहेको बेला आज गर्ने भनिएको ओलीइतर र प्रचण्डले डाकेका दुबै केन्द्रिय कमिटीमा उनी कतैपनि नजाने संकेत गरेका छन् । यता हिजो बादल समुहबाट पार्टी एकता गर्दाका नेताहरु पम्फा भुसाल, देब गुरुङ, लगाएका नेताहरुले मन्त्री क्वाटरमै गएर ओलीलाई सहयोग नगर्न र यदि ओलीलाई नै साथ दिने स्थिति पैदा भए आफूहरुले बादललाई साथ नदिने निर्णय गरेसँगै बादल थप अन्यौलमा परेका हुन् ।

को हुन बादल ?

वि.सं २०१२ साल वैशाख १९ गते पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा गुल्मीमा जन्मिएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी उत्तीर्ण गरेका छन् । बादलका पिता कर्णबहादुर थापा इण्डियन आर्मीको लेफ्टिनेन्ट कर्णेलवाट अवकाश प्राप्त व्यक्ति हुन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग वि.सं २०३१ मा रामपुर कृषि क्याम्पसमा भेट भएपछि शुरु भएको सहकार्य आजसम्म निरन्तर छ । माक्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका नेता थापालाई नेकपाका केन्द्रिय नेता अमिक शेरचनले कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘१० बर्षे जनयुद्व’ का एक मुख्य पात्र बादल हालका गृहमन्त्री हुन् । मिडियासँग सधैं तर्कने र सम्पर्क नै गर्न नचाहने उनी जनसम्पर्कमा निकै कमजोर मानिन्छन् । तर, पार्टीभित्र संगठन विभाग सम्हालेका उनी कुशल संगठकको रूपमा परिचित छन् ।

राजनीतिक यात्रा

१. ०३७ सालमा पार्टी सदस्यका लागि ‘लालसिंह’ नामबाट निवेदन दिएर राजनीतिक यात्रा सुरु
२. वि.सं २०४२ मा नेकपा (मशाल) को केन्द्रीय सदस्य
३. वि.सं ०४४ सालमा उनी वाग्मतीको इञ्चार्ज
४. वि.सं ०५२ सालमा जनयुद्धमा प्रचण्डसँगै वादल पनि होमिए
५. माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत जिम्मेवारी निर्वाह
६. संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित
७. पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री
८. वैद्यको नेतृत्वको तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित
९. पछिल्लो पटक राष्ट्रियसभा सदस्यमा निर्वाचित
१०. गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार प्रवेश

जेल जीवन

०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव बहिस्कारमा लागेका बादल पक्राउ परे । पक्राउपछि उनी भरतपुर र वीरगञ्जको जेलमा ९ र १० महिना बसेपछि छुटेका थिए ।

अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित भए । पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न माओवादी केन्द्रका विभिन्न नेताले चासो देखाएको र विवाद भएको भन्ने चर्चा चलिरहँदा पार्टीका अध्यक्ष दाहालले नेता थापाको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका थिए ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल अर्थात् रामबहादुर थापा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । त्यसपछि यो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका हुन्। संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने गृहमन्त्रालय सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्