गौतमबुद्ध विमानस्थलका दुईजना कर्मचारी ४ लाख घुससहित पक्राउ



१३ साउन २०७७, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुईजना चारलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको कार्यालय प्रमुख डा.भीष्म भुसालले जानकारी दिए ।

सेवाग्राहीसँग घुस लेनदेन गर्न यादव सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा. भुसालले बताए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान हुने भुसालले जनाए ।

प्रतिक्रिया दिनुहोस्