सीमा विवादमा गीतमार्फत् गायक पंगेनीको खबरदारी : ‘कोही बोल्दैनन् सीमा मिच्दा’



०१ जेष्ठ २०७७, काठमाडौं

‘बद्री पंगेनी’ नामै काफी छ । विभिन्न उपमा दिनै पर्दैन । यद्यपि उनलाई अधिकांशले जनताको गीत गाउने गायकका रुपमा अर्थ्याउँछन् ।

उनका गीतमा माया पिरतीका शब्दहरु मात्रै अटाउँदैनन् । आमा, देश, राष्ट्रियता अनि सार्वभौमिकता उनका गीतका सदावहार विशेषताहरु हुन् । यसैबीचमा गायक पंगेनीले फेरि एकचोटी देशको सीमा मिचिँदा पनि नबोल्ने तर बोलेजस्तो मात्रै गर्ने नेताहरुलाई झक्झक्याएका छन् ।

नेपाल–भारत सीमा विवाद चर्किरहेकै बेलामा सञ्चारकर्मी शिखर गजरकोटेले लेखेका समसामयिक गीत गाएर गायक पंगेनीले सबै नेपाली अनि नेपालीत्व बोकेका मनहरुलाई जुर्मुर्याउन भ्याएका छन् ।

‘अझै नी गणतन्त्र आको छैन है’, ‘शहीदको सपना’, ‘मुस्ताङमा स्याउ कुहियो’ज स्ता जनप्रिय गीत गाएका गायक पंगेनीले यो पटक भने सञ्चारकर्मी शिखर गजरकोटेको शब्दमा देशका लागि गीत गाए । 

|तस्वीरमा गायक पंगेनी। गीत रेकर्डिङ्को समयमा|

गीतमा सीमा मिचिँदा पनि नबोल्ने नेपाली नेतागत प्रवृत्तिसँगै व्यवस्था परिर्वतन भए पनि जनताको अवस्थामा उस्तै रहेको कुरा सुन्न सकिन्छ ।
गीतमा विशेषगरीः जनचाहना बमोजिमका कुराको उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।

सागर विरहीको संगीत संयोजन रहेको प्रगतिशील गीतको भिडिओमा बद्री पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेललगायतलाई देख्न सकिन्छ । यस्तै भिडिओलाई खेमराज थापाले छाँयाकन गरेका छन् भने सम्पादन तथा निर्देशन विनोद बमले गरेका छन् ।

गजरकोटे सोलुखुम्बुको हिमाल एफएमका स्टेशन म्यानेजरसमेत हुन् । उनले ‘पानी मिठो यारी खोलाको’, ‘बार लाउ है मायाले’, ‘यत्ति कुरा थाहा छकि थाहा छैन’, ‘पूर्वेली कान्छी’लगायतका दर्जनौं गीतको सिर्जना गरेका छन् ।

गीतको पूरा भाग
ध्यान दिएर सुन नेताज्यू, जनताले के भनेका छन्
त्यही काम छिटो गर नेताज्यू, जनताले जे भनेका छन्
कोही बोल्दैनन् सीमा मिच्दा,
कस्तो हुन्छ घाँटी थिच्दा,
नगरिदेऊ बोलेजस्तो
बोल्दा मुटु पोलेजस्तो
ध्यान दिएर सुन नेताज्यू….
फेरिएको छ व्यवस्था,
जनताको उही अवस्था,
हुने खाने चुस्दै गए,
हुँदा खाने उस्तै रहे,
ध्यान दिएर सुन नेताज्यू…
जनताले चाहेको के
जनताले पाएको के
सुख, शान्ति, विकास चाहे,
बन्द, हड्ताल, द्घन्द्घ पाए,
ध्यान दिएर सुन नेताज्यू…

भिडिओः

प्रतिक्रिया दिनुहोस्