लम्बिदो लकडाउन र व्यवस्थित दैनिकी



१६ बैशाख २०७७, काठमाडौं

विश्व यतिबेला निकै सङ्कटपूर्ण अवस्थामा छ। कोरोना भाइरस COVID19 को कारण हालसम्म ३० लाखको हाराहारीमा मानिसहरू सङ्क्रमित भइसकेको छ भने करिब २ लाख १० हजार मानिसले मृत्यूवरण गरिसकेका छन्। कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्नको लागी अहिले विश्वका धेरै देशहरू आंशिक या पूर्ण लकडाउनमा छन्। भाइरसले युरोप र अमेरिकालाई बढि आक्रान्त पारेको भए पनि जोखिम भने सबैजसो मुलुकहरूमा उच्च नैदेखिन्छ।

नेपालमा पनि हालसम्म ५२ जना व्यक्तीहरूमा यसको सङ्करमण देखा परिसकेको छ। पछिल्ला दिनहरूमा बढ्दै गएको सङ्क्रमणले नेपालमा जोखिमलाई अझ बढावा दिएको छ। जोखिमलाई कम गराउन देशलाई यतिखेर पूर्ण लकडाउनमा राखिएको छ। पछिल्लो पटक थपिएको लकडाउनको सिमा वैशाख २५ सम्म कायम गरिएको छ। एक महिनादेखि जारि लकडाउनले हामी सबैको दैनिकीलाई पूरै बदलिदिएको छ। लकडाउनको कारण घरभित्र नै बसिरहनुपर्दा एकातिर हाम्रो दैनिकी पट्यारलाग्दो भएको छ भने गर्ने काम नहुँदा मनमा अनावश्यक कुराहरू बढी खेल्ने गरेको छ। पट्यारलाग्दो दैनिकी, कोरोनाको बढ्दो जोखिम अनि मनमा अनावश्यक कुराहरू खेल्नाले  हाम्रो मानसिक स्थितिमा नकारात्मक असरहरू पर्न थालेको छ।

अहिले हामीमध्य धेरैजसोको दिनचर्या आवश्यकताभन्दा बढी सुतेर, सामाजिक सञ्जालहरू चलाएर, चलचित्रहरू हेरेर, विभिन्न पूष्तकहरू अध्ययन गरेर बितिरहेको छ। कतिले यो लकडाउनको समयलाई निकै उत्पादनसिल बनाउन सफल भएका छन् भने कतिको यसै बितिरहेको छ। हामीलाई दिनचर्या कटाउन कुनै समस्या छैन तर सोच्नुपर्ने कुरा यो हो कि हामीले यो दैनिकीलाई कतिसम्म उपलब्धीमुलक बनाउन सकेका छौँ। के हामीले कहिले सोचेका छौँ कि हाम्रो वर्तमानले हाम्रो भविष्यलाई प्रत्यक्ष असर पारिरहेको छ। हामी सोच्छौँ यो परिस्थिति नै यस्तो छ कि यहाँ गर्न सकिने केही छैन। लकडाउन नखुलेसम्म केहि पनि गर्न सकिन्न तर के परिस्थिति प्रतिकूल भयो भन्दैमा मनस्थितिलाई पनि कमजोर बनाउनु उचित हो त?

अहँ यो उचित हुनै सक्दैन। हामीले हाम्रो सोचमा परिवर्तन ल्याउने हो भने, समय र तनाव व्यवस्थापन गर्ने हो भने, सामाजिक सञ्जाल र इन्टरनेटको यथोचित प्रयोग गर्ने हो भने, अध्ययन तथा लेखन अनि पारिवारिक माहोललाई रमझम बनाउने मात्र हो भने पनि यो लकडाउनको दैनिकीलाई निकै व्यवस्थित र स्वस्थ बनाउन सक्छौँ।

हामीमध्ये धेरैलाई थाहा भएकै कुरा हो कि आवश्यकताभन्दा बढि सुत्नाले आलस्यता बढ्ने, अल्छि लाग्ने, सुताईमा अनियमितता आउने, शक्ती क्षय भएको तथा कमजोर भएको महसुस आदि हुने हुन्छ। कुनै काममा आफूलाई व्यस्त राख्न नसक्दा मनमा अनावश्यक कुराहरू खेल्ने, चिन्ता र तनाव बढ्ने, नकारात्मक सोचहरू आइरहने आदि हुन्छ। समय कटाउने नाममा आवश्यकताभन्दा बढी सामाजिक सञ्जालमा आफूलाई व्यस्त राख्नाले इन्टरनेट एडिक्सनको जोखिम धेरै हुन सक्छ जसले अन्तत्वगत्वः मानसिक समस्या निम्त्याउन सक्छ। सामाजिक सञ्जाल तथा मोबाइलफोनको अध्याधिक प्रयोगले आँखामासमेत असर गर्न सक्छ। कोरोनाको त्रास र जोखिम बढ्दै जाँदा आफ्नो तथा परिवारको विषयमा चिन्ता हुनु स्वभाविक हो तर अनावश्यक चिन्ता र आशङ्काहरू प्रकट गरिरहनाले यसले गम्भीर मानसिक समस्याहरू निम्त्याउन सक्छ।

तसर्थ यी सबै कुराहरूबाट हामी बेलैमा सजग र सचेत भएर आफूलाई शारिरिक तथा मानसिक रूपमा स्वस्थ राख्ने र आफ्नो दैनिकीलाई व्यवस्थित बनाउनतर्फ बेलैमा सबैले ध्यान दिनु जरुरि छ।

सकारात्मक सोच
हामी आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न र दैनिकीलाई व्यवस्थित बनाउन सबैभन्दा पहिले सकारात्मक सोचको विकास गर्नुपर्दछ। यसका लागी हामीले आफ्ना सफलता र राम्रा पक्षहरूको बारेमा सोच्ने, आशावादी बन्ने, जे हुन्छ सबै थोक राम्रैका लागी हुन्छ भनेर आफू तथा अरुलाई आश्वस्त गराउने आदि गर्न सक्छौँ। विश्वमा कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्थामा केही सकारात्मक लक्षणहरू पनि देखिन थालेका छन्। पछिल्ला दिनहरूमा विश्वको समग्र स्थितिमा सङ्क्रमणदर कम हुँदै गएको, वातावरण प्रदूषण धेरै कम भएको, सबै देशहरूले सावधानीहरू अपनाइरहेको आदिजस्ता कुराहरू आसा जगाउने खालका छन्। यियस्ता आसावादी हुने कुराहरू अध्ययन गर्ने, हरेक पक्षमा सकारात्मक गुणहरू खोज्ने बानिको विकास गर्नाले हामीमा सकारात्मक उर्जा सञ्चार हुन्छ जसले हामीलाई उर्जासील र उत्साहित बन्न अभिप्रेरित गर्दछ।

तनाव व्यवस्थापन
अहिले हामी निकै अप्ठ्यारो स्तितिमा गुज्रिरहेका छौँ। लामो समयदेखिको लकडाउन र स्थिति कहिले सामान्य बन्छ भन्ने कुराको अन्योलले गर्दा हामीमा तनाव सिर्जना हुनु स्वभाविक हो। अन्योल, चिन्ता र निराशापनले हामीलाई झन् तनाव बढाइरहेको हुन्छ। यस अवस्थामा हामी आफूलाई कुनै काममा व्यस्त राख्ने, सकारात्मक सोचको विकास गर्ने, परिवार, आफन्तजन् तथा साथीभाईसँग अन्तरक्रिया गरिरहने तथा नजिकका व्यक्तीहरूसँग आफ्ना कुराहरू आदानप्रदान गर्ने आदि गतिविधीले तनावलाई व्यवस्थित गर्न र सकारात्मक चिन्तनको विकास गर्न सक्छौँ। साथै नियमित रूपमा शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने तथा मोटिभेसनल भिडियोहरू हेर्नाले पनि तनाव व्यवस्थापनमा मदत पुग्छ।

समय व्यवस्थापन
हाम्रो दैनिकीलाई व्यवस्थित गर्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको समय व्यवस्थापन नै हो। आफ्नो सुत्ने र उठ्ने यकिन समय निर्धारण गर्ने र दिनभरी गर्ने महत्वपूर्ण गतिविधिहरूको सामान्य खाका अथवा कार्यसूची बनाएर त्यसको पालनामात्र गर्ने हो भने हाम्रो दैनिकी धेरै हदसम्म व्यवस्तित हुन्छ। कति घन्टा सामाजिक सञ्जालमा बिताउने, कति समय परिवारका सदस्यहरूसँग बिताउने, कति समय अद्ययन या यस्तै सिर्जनात्मक काममा आफूलाई व्यस्त गराउने भन्ने विषयमा आफू स्पष्ट भएर सोहीअनुसार अगाडी बढ्न सकेको खन्डमा पक्कै पनि हाम्रो समयको सहि सदुपयोग हुने छ र हामीले भोलीका दिनहरूमा विगत्लाई फर्केर पश्चाताप गर्नुपर्ने छैन।

सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग
हामीमध्ये धेरैजसको अभिन्न अङ्ग भइसकेको छ – सामाजिक सञ्जाल। फेसबुक, ट्विटर, म्यासेन्जर, युटुभ, टिकटक, इन्स्टाग्राम आदीजस्ता सामाजिक सञ्जालहरू धेरै प्रयोग गरिने सामाजिक सञ्जालहरू हुन्। यी माध्यमहरूबाट एकातिर हामीले मनोरञ्जन गरिरहेका हुन्छौँ भने अरकोतिर धेरैभन्दा धेरै सुचना, जानकारी र ज्ञान पनि हासिल गरिरहेका हुन्छौँ। भनिन्छ नि- अमृत पनि खान जानिएन भने त्यो वीष सावित हुन्छ, त्यसरी नै यी सामाजिक सञ्जालहरूको सहि प्रयोग गर्न सकेन भने यसले अन्ततः ठूलो क्षती गर्न सक्छ। एकातिर अत्याधिक सामाजिक सञ्जालको प्रयोगले यसको एडिक्सन अर्थात लत लाग्छ जसले मानसिक समस्या निम्त्याउन सक्छ। साथै यसमा प्राप्त हुने सबैजसो सुचनाहरू आधिकारिक र तथ्यपूर्ण नहुनाले अनावश्यक भ्रम र नकारात्मक सुचना प्रवाह हुन सक्छ। यसैको प्रयोगबाट अनावश्यक चिन्ता, निराशा र तनावहरूसमेत सिर्जना हुन सक्छ। अर्को मूख्य कुरा त के पनि हो भने यसले गर्दा साइबर ह्यारेशमेन्ट तथा क्राइमहरूको सिकारसमेत आफू बन्न सक्दछ। तसर्थ, सामाजिक सञ्जालको प्रयोग अपरिहार्य छ तर यसको प्रयोगलाई कुन हदसम्म गर्ने र कुन प्रयोजनको लागी गर्ने हो भन्ने कुराचाहीँ बेलैमा स्पष्ट हुनु जरुरी छ।

त्यस्तै यो लकडाउनको समयलाई उत्पादनसील बनाउन अहिले धेरै सङ्घसंस्थाहरूले अनलाईनमार्फत विभिन्न भर्चुअल सेसनहरू चलाइरहेको छ। विभिन्न युनिभर्सिटी तथा यु.एन्. का विभिन्न निकायहरूले पनि विभिन्न खालका अनलाइन कोर्सहरू गराइरहेको छ। यियस्ता सेसन तथा कोर्सहरूमा सहभागी भएर एकातिर आफ्नो ज्ञानको दायरालाई बढाउन सकिन्छ भने अर्कोतिर दैनिकीलाई स्वस्थ र व्यवस्थित बनाउन सकिन्छ।

अध्ययन तथा लेखन
लकडाउनको कारण अहिले सबैजसो कार्यालयहरू, व्यवसायहरू, विद्यालय तथा कलेजहरू बन्द छन्। यसको कारण हामी न त आफ्नो नियमित पढाईप्रती चिन्तित हुन आवश्यक छ न त आफ्नो पेशागत् जिम्मेवारीमा नै आफ्नो समय बेतित गर्नुपरेको छ। यस्तो अवस्तामा हामी आफ्नो रूची र इच्छाअनुसारका पूष्तकहरू अध्ययन गर्ने, कथा, कविता, गजल, गीत लेख्ने आदि जस्ता कामहरू गरेर आफ्नो अध्ययन तथा लेखन कार्यलाई थप मजबूत बनाउन सक्छौँ। त्यती मात्र नभइकन यसअघी आफूले अधूरा राखेका अन्य कामहरू जून घरमा नै बसेर गर्न सकिन्छ त्यसलाई निरन्तरता दिन सक्छौँ। जो व्यक्तीहरू आफ्नो परिक्षाको तयारीमा हुनुहुन्छ उहाँहरूको लागी पनि आफ्नो तयारीलाई थप सशक्त बनाएर राम्रो नतिजा हासिल गर्ने यो निकै उपयुक्त समय हो। यसरी आफूलाइ व्यस्त राख्नाले पक्कै पनि हाम्रो दिनचर्या अनावश्यक रूपमा यसै खेर जान पाउँदैन।

पारिवारिक अन्तरक्रिया
लकडाउनको कारण अहिले हामीमध्ये धेरैजसो परिवारमा नै बसिरहेका छौँ। परिवारलाई समय दिने, पारिवारिक सम्बन्धलाई अझ प्रघाट र सुमधूर बनाउने महत्वपूर्ण अवसको रूपमा हामी यस समयलाई स्विकार्न सक्छौँ। त्यसकारण परिवारका सदस्यहरूसँग बसेर कुराकानी गर्ने, छलफल गर्ने, विभिन्न योजनाहरू बनाउने, एकअर्काको काममा सहयोग गर्ने आदिजस्ता धेरै कामहरू गरेर हामी पारिवारिक माहोललाई रमणीय बनाउन सक्छौँ जसले गर्दा हाम्रो समय यसै अनावश्यक काममा खर्च हुन पाउँदैन र दैनिकी व्यवस्थित र स्वस्थ हुन्छ।

यी यस्ता उपायहरूलाई अवलम्बन गर्न सकेको खन्डमा पक्कै पनि हामी लकडाउन र कोरोना भाइरसको जोखिमका बाबजूत पनि स्वस्थ, मस्त र व्यस्त भएर आफ्नो जीवनयापनलाई अगाडि बढाउन सक्छौँ। परिस्थिति हाम्रो हातमा छैन तर मनस्थिति भने पक्कै हाम्रै हातमा छ। हामीले जे चाहन्छौ, जे सोच्छौँ अनि जस्तो व्यवहार र जीवनशैली अपनाउछौँ, त्यसरी नै हाम्रो जीवनरथ अगाडी बढ्ने हो। तसर्थ, आफूँ पनि खुशी रहौँ, अरूलाई नि खुशी राखौँ। आफू बाचौँ, अरूलाई नि बचाऔँ।

प्रतिक्रिया दिनुहोस्