कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’



२२ चैत २०७६, काठमाडौं

नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ ।

अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।

चन्द्रागिरिमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा
काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकामा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । चन्द्रागिरि नगरपालिकाले प्राथमिक अस्पताल थानकोटमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर शुक्रबारदेखि १५ श्ययाको क्वारेन्टाइन सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

“चन्द्रागिरिले आवश्यकतानुसार मनमोहन अस्पतालमा ४०, श्रीकृष्ण माध्यामिक विद्यालयमा ४० र महालक्ष्मी आधारभूत विद्यालयमा २५ क्वारेन्टाइन थप गर्न लागेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताउनुभयो । यस्तै चन्द्रागिरिले आइसोलेशन वार्ड निर्माणको समेत तयारी गरेको छ ।
राहत वितरण एकद्वार प्रणालीमार्फत चन्द्रागिरिले नगरपालिकाभित्र गरिने राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने भएको छ । चन्द्रागिरिमा शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको हो । कसैले चन्द्रागिरिभित्र राहत तथा रकम सहयोग गर्न चाहेमा नगरपालिकालाई जानकारी दिएर मात्र सहयोग गर्नुपर्ने भएको छ । चन्द्रागिरिले नगरपालिका भित्रका अत्यावश्यक सेवा सञ्चालन गर्ने पसलअगाडि हात धुनका लागि पानीको धारासमेत जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्