दैनिक उपभोग्य सामग्रीको पसल तीन घण्टा खुल्ने



२२ चैत २०७६, कैलाली/तिलकराज ओझा

धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल आजबाट तीन घण्टाका लागि मात्रै खुल्ने भएका छन् । शुक्रबार यहाँ बसेको सरोकारवालाको बैठकले आजबाट लागू हुने गरी अतिआवश्यकभित्र पर्ने पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

खाद्य उद्योग निरन्तररूपमा सञ्चालन गर्न दिने र यस्ता उद्योगका कामदारलाई आवतजावतका लागि स्थानीय सरकारसँग समन्वय गर्न सकिने नगरप्रमुख वडको भनाइ छ । त्यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ग्राहकसँग सामाजिक दूरी तीन फिट कायम गर्न अनुरोध गरिएको छ । दैनिक उपभोग्य सामग्रीको ‘होमडेलीभरी’ गर्न चाहने व्यवसायीलाई भने स्थानीय सरकारसँग समन्वय गरेर कारोवार गर्न दिने निर्णय भएको जनाइएको छ । यस्तै बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरूपमा रोक लगाउनेसमेत निर्णय भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

महिलाका लागि छुट्टै क्वारेन्टाइन
उपमहानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार धनगढीमा रहेको बी पोलिटेक्निक इन्स्टिच्युटमा २२ श्ययाको महिला क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै आवश्यकताका आधारमा महिला क्वारेन्टाइन कक्षको व्यवस्था गरिएको बताइएको छ ।

संवेदनशीलतालाई हेरेर सबै स्थानीय तहले छुट्टै महिला क्वारेन्टाइन कक्ष स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । महिलाका लागि बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार तयार गरिएको उपप्रमुख भट्टले बताउनुभयो ।

जेसीजद्वारा तीन लाखको खाद्यान्न सहयोग
धनगढी जेसिज परिवारले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । धनगढी जेसीजका अध्यक्ष श्याम पाठकका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई १५० बोरा चामल, २४ बोरा दाल, ५२ बोरा सोयाविन, दुई बोरा चिउरा, दुई बोरा भुजा, ३४ कार्टुन तेललगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो ।

बाह्वन साझेदारी वन व्यवस्थापन समितिले अतिविपन्न तथा गरिब परिवारलाई भन्दै विपद् व्यवस्थापन समितिलाई रु एक लाख ५० हजार सहयोग गरेको छ । साना किसान सहकारी संस्थाले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि १० क्विन्टल चामल सहयोग गरेको छ ।
यस्तै धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले रु ४५ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । राहत सामग्री खरिदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कँुवरको संयोजकत्वमा थालिएको आर्थिक सहयोग सङ्कलन अभियानमा हाल अमेरिकामा बसोबास गर्ने धनगढी जेसीजका पूर्वसदस्य रोहित भट्टले रु एक लाख १७ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी उपमहानगरपालिका–३ का समाजसेवी तथा युवा उद्योगपति दीपबहादुर ऐरले आफ्ना स्व पिता वीरबहादुर ऐरको स्मृतिमा रु २१ हजार १५५ बराबरको खाद्यान्न सामग्रीहरु सहयोग गर्नु भएको छ । उक्त खाद्यान्न सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्त र वडा नं ३ अध्यक्ष बलबहादुर ऐरले विपन्न परिवारलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

प्रदेश सरकारद्वारा खाद्य सामग्री वितरण शुरु
सुदूरपश्चिम प्रदेश सरकारद्वारा बेसाहारा, अतिविपन्न, वृद्धवृद्धा तथा मजदुरलगायतका परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण शुरु गरिएको छ ।
माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनले छाक टार्न समस्यामा परेकालाई विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वसँग समन्वय गरेर प्राप्त भएको राहत सामग्री मुख्यमन्त्री त्रिलोचन भट्टको हातबाट वितरण गरिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले खासगरी गरिब, अतिविपन्न, मजुदरलाई विभिन्न राहत व्याकेज बनाएर राहत बाँड्ने कार्यक्रमअन्तर्गत दुःखी, असहाय, वृद्धवृद्धालाई खाद्यान्नको अभाव नहोस् भनेर कैलालीका पाँच स्थानमा खाद्यान्न वितरण गरेको छ । अतिविपन्न, बेसहारा, गरिबलगायतका लागि काम गर्दै आएका धनगढीको दृष्टि फाउण्डेशन र नेपाल मानव सेवा समाज, अत्तरियाको महिला तथा बालबालिका सेभ हाउस र अपाङ्ग विद्यालय र बर्दगोरियाको सहारा घर प्रत्येकलाई १००/१०० पोका दरले जम्मा १३ क्विन्टल खाद्यान्न सामग्री वितरण गरिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताउनुभयो ।

वितरण गरिएका सामग्रीमा चामल, दाल, तेल, चिनीलगायतका खाद्यान्न रहेका छन् । “खाद्य सङ्कट भएका जिल्लामा पनि राहतस्वरुप ती सामग्री पुर्‍याउने गरी प्रदेश सरकारले तयारी अगाडि बढाएको छ”, मन्त्री सुवेदीले भन्नुभयो, “त्यस्ता श्रमिक वर्ग जो खाना नपाएका छन् उनीहरुका लागि पनि खाद्य सङ्कटबाट प्रदेशका कोही पनि जनता भोकभोकै बस्नु र मर्नु नपरोस् भन्ने उद्देश्यका साथ खाद्यान्नको व्यवस्थाका लागि प्रदेश सरकार क्रियाशील भएर लागेको छ ।” आजबाट शुरु गरिएको राहतको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्री सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्