आपतकालिन कोष स्थापना



०८ चैत २०७६, तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको सङ्क्रमण देखिन थालेकाले त्यसको रोकथाम गर्न तत्कालका लागि रु पाँच लाख बराबरको आपतकालिन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

पालिकाको बैठकले आपतकालिन कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषको रकमबाट कोरोना सङ्क्रमणका विषयमा सचेतनामूलक कार्यक्रमका साथै डेङ्गु नियन्त्रणका लागि सरसफाइ कार्यक्रम गरिने योजना रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरि सरसफाइ तथा झाडी फडानी लगायतका सचेतनामूलक कार्यक्रम गरी डेङ्गु नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी व्यावसायिक शुल्कमा ५० प्रतिशत छुट दिने गाउँपालिकाले निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण व्यापार व्यवासय प्रभावित हुँदै गएकाले राहतस्वरुप व्यावसायिक शुल्कमा छुट दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसका कारण अहिले सबै क्षेत्र प्रभावित भइरहेको र त्यसमा पनि पर्यटन, उद्योग, व्यापार व्यवसायसमेत मारमा परेका कारण व्यवसायीलाई केही राहत प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

गाउँपालिकाले यस सङ्कटको अवस्थामा मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी नगर्न, हल्लाको पछाडि नलागी आवश्यक सावधानी अपनाएर भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

कोभिड– १९ को सङ्क्रमणले विश्व अर्थतन्त्रलाई सङ्कटमा पारिरहेको अवस्थामा वित्तीय संस्थालाई ऋणमा केही सहुलियत दिन तथा घर मालिकलाई भाडामा केही सहुलियत दिने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको उहाँले बताउनुभयो ।

केही दिनयता बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ह्वात्तै घटेको छ । पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटक नआउँदा सुनसान बन्दै गएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा सवारी साधानको दैनिक चाप घट्दै गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्