पाल्पामा डायलाइसिस सेवा सञ्चालनमा



०८ चैत २०७६, रामपुर

पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो ।

शुक्रबार शुभारम्भका अवसरमा चार बिरामीले सेवा लिएका छन् । दशवटा अत्याधुनिक मेशिनसहित डायलाइसिस सेवा सञ्चालन गरिएको हो । करिब पाँच करोडको लागतमा मुटुरोगी तथा मिर्गाैला बिरामीलाई लक्षित गरी सेवा सञ्चालनमा आएसँगै पाल्पामा मिर्गौलासम्बन्धी उपचार नहुँदा बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

हाल दैनिक ३० बिरामीको नियमित डायलाइसिस गर्न सकिने पाल्पा सेन्टरका संयोजक बाबुराम बोहराले बताउनुभयो । सेन्टरमा एक जना मेडिकल अधिकृत, १५ कर्मचारीबाट २४ सैँ घण्टा सेवा प्रदान गरिनेछ । हाल १० मेशिनबाट बिरामीको मिर्गाैला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेशिनसमेत सञ्चालन गरिने बताइएको छ ।

विगत पाँच वर्षदेखि बुटवल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेशिनबाट २४ सैँ घण्टा सेवा प्रदान गर्दै आएको संस्थाले गत एक महिनादेखि दाङको लमहीमा पनि दश वटा मेशिन जडान गरी सेवा दिन थालेको छ ।

सङ्क्रमणबाट बच्न घरदैलो सचेतना
कोभिड–१९ को सङ्क्रमणबाट बच्न रामपुरमा घरदैलो सचेतना अभियान थालिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक कर्मचारी, विद्यार्थी, पत्रकार, स्वयंसेवकलगायतको टोलीले घरदैलोमा नै पुगेर नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणबारे जानकारी दिने गरिएको छ ।

रामपुर नगरपालिका–६ को कार्यालयबाट घरदैलो सचेतना अभियान शुरु गरिएको छ । सो अभियानको शुभारम्भ नगर प्रमुख रमणबहादुर थापाले गर्दै रोग लागि हालेमा आत्तिनभन्दा पनि आत्मबल बढाएर सजगता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नगरपालिकाले विभिन्न स्थानमा हेल्प डेस्क राख्ने, आइसोलेसनका लागि पाँच वटा श्यया तयार पारेको बताउँदै मास्क उत्पादन कार्य गर्न लागेको उहाले बताउनुभयो ।

घरघरमा टोली विभाजन भएर नागरिकलाई जनचेतना दिने कार्यमा जुटेको वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । “स्वयंसेविका, शिक्षक विद्यार्थी, राजनीतिक दल, सामाजिक व्यक्ति सबैलाई समूहमा घरघरमा परिचालन गरेका छौँ, पर्चा बाड्ने, सङ्क्रमणबाट सर्तक रहन आग्रह गरेका छौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो । भीडभाडमा ननिस्कन, हात नमिलाउन, अनिवार्य मास्कको प्रयोग गर्न सचेत गराउने कार्यमा लागेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताउनुभयो ।

जिल्लाका दशवटै स्थानीय तहले कोभिड–१९ बाट बच्न र यो रोगबाट संयमता अपनाउन सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । स्वासप्रस्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट कोरोना भाइरस सर्ने हुँदा यस्ता क्रियाकलापमा सचेत रहन स्थानीय तहले आह्वान गरेको छ । नियमितरुपमा साबुनपानीले हातधुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न सर्वसाधारणमा जानकारी दिन थालिएको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाले स्वास्थ्यकर्मीबीच छलफल गरी नागरिकलाई सचेत गराउन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

“विभिन्न सञ्चारमाध्यम र स्वास्थ्यकर्मीबाट कोरोना सङ्क्रमणबारे जानकारी दिइरहेका छौँ, आवश्यक कामबाहेक घरदेखि टाढा नजान, हात नमिलाउन सन्देश प्रवाह गरिरहेका छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्