बलात्कारको अभियोगमा पूर्व डिएसपी खिउजुविरुद्ध पक्राउ पूर्जी



२३ माघ २०७६, काठमाडौं

पूर्व डिएसपी राजकुमार खिउजुविरुद्ध जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ।

बिहीबार (आज) खिउजुविरुद्ध जबरजस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भएको हो। महानगरीय प्रहरी परिसर ललितपुरले जबरजस्ती करणीमा खिउजुविरुद्ध अदालतमा पक्राउ पूर्जी माग गरेको थियो।

परिसर प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार खिउजुविरुद्ध एक महिलाले जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दिएकी थिइन्। ललितपुरकी ती महिलाले जाहेरी दिएपछि घटनाको अनुसन्धानका लागि खिउजुलाई पक्राउ गर्नुपर्ने देखिएकाले अदालतसँग परिसरले अनुमति मागेको थियो।

जाहेरी परेपछि अनुसन्धानका लागि खिउजुलाई पक्राउ गर्नुपरेको प्रवक्ता एसपी सिंहले बताइन्। प्रहरी प्रधान कार्यालयका अनुसार खिउजुले एक महिनाअघि नै राजीनामा दिएका थिए।

प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले उनको राजीनामा स्वीकृत भइसकेको बताए। बलात्कार आरोप लागेपछि खिउजु फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रवक्ता सिंहले बताइन्।

जाहेरी दिने महिलाले २०७६ जेठमा आफूलाई खिउजुले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन्। उनले जाहेरी दिन खोजेपछि खिउजुले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्