पहिलो पटक पर्दामा एकसाथ देखिदैँ दिपिका र ऐश्वर्या



०७ माघ २०७६, काठमाडौँ

नायिका दिपिका पादुकोण अभिनीत चलचित्र छपाक ले सोचेजस्तो व्यापार गर्न सकेन । चलचित्रलाई क्रिटिक्स र दर्शकले दुवैले त्यति रुचाएनन् पनि । यसैबिच दिपिकाले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले प्रदिप सरकारको फिल्म गर्ने भएकी हुन् ।

१९औं शताब्दीकी चर्चित भारतीय गायिका विनोदिनी दासीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्ममा उनले अभिनय गर्न लागेकी हुन् । केही दिन अगाडि निर्देशक प्रदीप र अभिनेत्री दीपिकाबीच कागजी सम्झौता भएको बताइएको छ ।

विनोदिनी मा दिपिकासँगै ऐश्वर्याले पनि काम गर्ने भएकी छिन् । ऐश्वर्याले पनि यो चलचित्र साइन गरिसकेकी छिन् तर भारतीय मिडिया अनुसार चलचित्रमा विनोदिनी को भूमिका भने ऐश्वर्याले नै निभाउने भएकी छिन् । ऐश्वर्या र दिपिकाले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । दुवै चर्चित नायिका भएकाले दर्शकको पनि यी दुईलाई एकसाथ हेर्ने चाहना थियो । त्यो अब पुरा हुने भएको छ ।

विनोदिनी दासी एक प्रसिद्ध बंगाली भाषाकी नाट्य अभिनेत्री थिइन् । १२ वर्षको उमेरमा उनले अभिनय करिअर सुरुवात गरेकी थिइन् र २३ वर्षको उमेरसम्म यो क्षेत्रसँग जोडिरहिन् । यसपछि उनले सन् १९१३ मा आफ्नो आत्मकथा ‘द स्टोरी अफ माई लाइफ’ लेखेर प्रकाशित गरेकी थिइन् । उनी आफ्नो आत्मकथा लेख्ने थिएटरकी पहिलो दक्षिण एसियाली अभिनेत्रीमध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्