पदमको गीतमा किरण र एलिसाको प्रेम



काठमाडौं । गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । शनिबार गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन् । राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । रिकेश गुरुङ गीतका एरेञ्जर हुन् ।

गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्मा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । एलिसाको रातो रिबनमा किरणको मन अल्झिएको बयान गीतले गर्छ । भिडियोमा उनीहरुको नृत्य छरितो देखिन्छ । गायक भट्टराई स्वयं पनि भिडियोमा प्रस्तुत छन् ।

युमी बालामीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा पिटर गुरुङको छायांकन तथा विष्णुहरी तिमल्सिनाको सम्पादन छ । गायक भट्टराईले गीतको अडियो र भिडियो दुवै बलियो रहेकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरेका छन् । यसअघि उनले ‘झरी झरी’, ‘कहीँ कतै तिम्रो’, ‘बेबी चढ्यो रे’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्