फोरजी सेवाका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल प्रयोग गर्नु आवश्यक



१९ पुस २०७६, काठमाडौं

नेपाल टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक देखिएको छ ।

हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको टेलिकमले ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुने जानकारी गराएको छ ।

कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको हुँदा यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सकिने बताएको छ ।

नेपाल टेलिकमले हाल मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ र यस सेवाका प्रयोगकर्ता मुलुकभर करिब २८ लाख नाघिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्