सिद्धबाबा प्रकरणमा वकिलको दावी, ‘थुनामा पठाउने आधार भेटियो’



१३ पुष २०७६, काठमाडौं

आफ्नै अनुयायी बलात्कारको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको थुनछेक बहस सोमबार पनि हुने भएको छ।

आइतबार कार्यालय समयसम्म थुनछेक बहस नसकिएपछि गिरीलाई लगाइएको अभियोगमाथिको थुनछेक सोमबारसम्मका लागि सारिएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। श्रेस्तेदार पोखरेलका अनुसार कार्यालय समय सकिएकाले बार र बेन्चको सहमतिमा बाँकी थुनछेक सोमबार हुनेछ।

पीडित महिलातर्फका अधिवक्ताहरूले भने बहस गरिसकेका छन्। जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधीवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाले बहस गरेपछि प्रतिवादी गिरीतर्फका अधिवक्ताहरूले बहस थालेका थिए। प्रतिवादी गिरीतर्फका ६ जना अधिवक्तामध्ये तीन जनाले बहस सकेका छन्।

अधिवक्ताहरू मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी छ। वकालतनामा दर्ता भएकामध्ये तीन जनाको मात्र बहस बाँकी रहेकाले सोमबार अपरान्हसम्ममा अदालतको फैसला आउन सक्ने बताइएको छ। थुनछेक बहस गरेका वादीतर्फका अधिवक्ताहरूले अडियो भ्वाइस प्रमाणित हुनु नै गिरीका लागि पूर्पक्षमा पठाउने पर्याप्त आधार भएको बताएका छन्।

भोला बरालमार्फत गिरी र अनुयायबीच भएको टेलिफोन कुराकानीलाई स्वम् बरालले समेत स्वीकार गरेको र गिरीका केही बयान बाझिएकाले समेत उनीमाथि लागेको अभियोग पुष्टि हुने पर्याप्त आधार रहेको उनीहरूको तर्क छ। गिरीतर्फका अधिवक्ताहरूले भने अभियोग प्रमाणित हुने आधार नरहेको बताए ।

सोमबार थुनछेक बहस सकिएपछि अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको सवालमा सुनसरी जिल्ला अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि कारागार चलानमध्ये कुनै एक फैसला गर्नेछ। अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ।

गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एक नम्बर इजलासमा परेको छ।

प्रतिक्रिया दिनुहोस्