आजको सम्पादकीय : ज्ञानेन्द्र सरकारका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस ‘झण्डा अनेक, धन्दा एक’



११ पुष २०७६, काठमाडौँ

आज प्रकाशित विभिन्न मुख्य दैनिक पत्रिकाले राजनीतिक नियुक्तीमा हुने गरेको अशोभनिय कार्य, अर्थतन्त्रमा देखिएका परिवर्तन एवं पर्यटन क्षेत्रका कमीकमजोरी र राजनीतिक दलमा देखिएका समस्यका विषयमा सम्पादकीय लेखेका छन् ।

न्यायपरिषद्को रिक्त सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको कोटाबाट शाही शासनका बेला महान्यायाधिवक्ता रहेका लक्ष्मीबहादुर निरालालाई नियुक्तिको सिफारिस गरेको विषयमा आज नागरिक दैनिकले सम्पादकीय लेखेको छ । ‘कुनै व्यवस्थामा नियुक्त हुँदैमा अर्को व्यवस्था आउँदा तिनको क्षमता र योग्यता उपयोग हुन पाउँदैन भन्ने हुँदैन तर त्यस्ता नियुक्तको सांकेतिक महत्व अवस्य पनि हुन्छ,’ नियुक्तिको नियति शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला महान्यायाधिवक्तामा नियुक्त हुने योग्यता भएका व्यक्तिलाई अहिलेको शासन व्यवस्थाले समेत उपयुक्त ठान्नुको अर्थ बुझ्न सकिएको छैन ।’ यो नियुक्तीले संस्था बन्ने होइन, भत्किने उल्लेख गर्दै सम्पादकीयमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने बेला यस्तै एउटा अभूतपूर्व राजनीतिक एकता देखिएको छ’ भनिएको छ ।

उता कान्तिपुर दैनिकले गौतम बुद्ध जन्मथलो परिसरमा विदेशी मुलुकहरुले बनाएका झन्डै तीन दर्जन विहार र गुम्बाहरु नियमित गेष्ट हाउसका रुपमा सञ्चालन हुनु पर्यटकीय विकासको समस्या भएको उल्लेख गर्दै ‘लुम्बिनीभित्रका विहारमा नियमन जरुरी’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘नीतिविपरीतको बसोबास अधिकार कसैलाई पनि दिनु हुँदैन,’ सम्पादकीयमा भनिएको छ, ‘यस्तो क्रियाकलापले स्थानीय पर्यटन व्यवसायीको आर्थिक कारोबारमात्र प्रभावित भएको छैन, राज्य पनि करको लाभबाट बञ्चित भएको छ ।’ त्यसैगरी आजको आर्थिक अभियानले पनि पर्यटन क्षेत्रकै विषयमा सम्पादकीय लेखेको छ । ‘पर्यटनमा बहकिएको प्राथमिकता’ शीर्षमा लेखिएको सम्पादकीयमा भनिएको छ– आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई दिगो पर्यटनको आधार बनाउन विगतमा भएका कमीकमजोरीको अध्ययन हुनुपर्छ, साथै मन्त्री वा सरकार फेरिएपिच्छे नयाँनयाँ घोषणा गर्ने तर कामचाहिँ नहुने परिपाटीको अन्त्य हुनु जरुरीछ ।

पुनःनिर्माणका कारण नेपालको अर्थतन्त्रमा औषत ४.५ प्रतिशत विन्दुको योगदान रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको उल्लेख गर्दै कारोबार दैनिकले ‘अर्थतन्त्रमा पुनःनिर्माणको योगदान शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएकोछ, ‘भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा गत दशकमा घट्दै गएको औद्योगिक क्षेत्रको योगदानलाई केही हदसम्म बढाउने उपक्रम गरेको देखिन्छ ।’

गोरखापत्रले पछिल्ला दशक आर्थिक कूटनीति र विकास साझेदारीले विश्वभर परराष्ट्र सम्बन्ध र कूटनीतिक लयमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै ‘मुलुकको छवि चम्काउने कूटनीति’ शीर्षकमा सम्पादकीय लेखेको छ । विकासशील तथा अल्पविकसित मुलुकहरुले पनि कूटनीतिक क्षमतामार्फत विकास र समृद्धिमा विश्वको ध्यानाकर्षण गर्न सफल भएको उल्लेख गर्दै सम्पादकीयमा त्यसतर्फ नेपालले पनि चनाखो भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।

नयाँ पत्रिका दैनिकले भने दैनिक उत्पादन हुने फोहोरको सही व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै ‘मोहरमा आगो’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘फोहोर व्यवस्थापनको नाममा खाल्टोमा गाडिएको या डढाइएको फोहोरसँगै हामी मोहरलाई गाडिरहेका या खरानी पारिरहेका छौं’ सम्पादकीयमा भनिएको छ, ‘फोहोरको सही सदुपयोग गरेर आम्दानी गर्नेतर्फ देशका सबै नागरपालिकाको ध्यान दिनुपर्ने देखिन्छ ।’

अर्कोतर्फ नेपाल समाचारपत्रले नेतैपिच्छे गुट सिर्जना गरिएकै कारण नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थाका रुपमा पुगेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । पार्टीको आन्तरिक विवादले केन्द्रीय समिति बैठक मात्र हैन पार्टीको संरचनालाई पूर्णणा दिने, भातृ संस्थालाई चलायमान बनाउने, १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेजस्ता अनिवार्य कार्य पनि कांग्रेसले गर्न नसकेको सम्पादकीयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्