यसैकारण मज्जाले नाच्नुहोस्



०६ पुष २०७६, काठमाडौं

कला र मनोरञ्जनका लागि मात्रै नभएर नृत्य स्वास्थ्यका दृष्टिकोणले समेत उत्तिकै लाभदायिक मानिन्छ। यसले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मदत गर्दछ।

दैनिक करिब एक घन्टा पसिना निकालेर नाच्दा विभिन्न रोगबाट समेत टाढा रहन सकिन्छ। नाच्दा एक सयदेखि चार सयसम्म क्यालोरी घट्ने भएकाले तौल व्यवस्थापन गर्न सजिलो हुन्छ।

बिहानको समयमा नृत्य गर्दा वा सिक्दा झन् प्रभावकारी हुन्छ। नियमित नृत्य गरेमा शारीरिक रूपमा फिट रहन सकिन्छ  साथै, रक्तसञ्चार राम्रो हुन्छ र समग्र वृद्धि–विकासमा मद्दत पुग्छ ।

नृत्यले शरिरमा सकारात्मक ऊर्जा पैदा गर्छ। एक्लोपना, डर, चिन्ता र डिप्रेसनजस्ता समस्याबाट टाढा राख्छ। संगीतको तालमा नृत्य गर्दा मन शान्त रहन्छ र मस्तिष्क क्रियाशील हुन्छ।

नृत्य गरेरै तनावबाट राहत महसुस गर्न सकिन्छ। खासगरी, कामकाजी मानिसले साँझतिरको समय नृत्य गर्न उचित हुन्छ। साँझको नृत्यले दैनिक कामका कारणले हुने तनाव हटाउन र शान्त महसुस गर्न मद्दत पुर्याउँछ। त्यस्तै, शरिरमा स्फूर्तिसमेत महसुस गराउँछ।

नाच्दा आत्मविश्वास बढ्छ। शरिरमा छुट्टै किसिकको ऊर्जा आउने भएकाले हिच्किचाहटसमेत टाढा भाग्छ। आजभोलि अधिकांशले मोबाइल, कम्प्युटर, टिभीमा अत्यधिक समय बिताउने गर्दछन्। यस्तो निष्क्रिय जीवनशैलीले विशेषगरी बालबालिका बढी प्रभावित हुने गरेका छन्।

बालबालिकालाई सामाजिक सञ्जालको लतबाट टाढा राख्न, पढाइको बोझबाट रिफ्रेस गराउन पनि नृत्य सिकाउन जरुरी छ। यसले स्मरणशक्तिसमेत बढाउँछ।

प्रतिक्रिया दिनुहोस्