खेलाडीलाई उपचार सहयोग



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

भारोत्तोलनका पूर्व खेलाडी सञ्जयकुमार महर्जनलाई ५ लाख तथा सुटिङ खेलाडी सविता बस्नेतलाई १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइयो । कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

महर्जनको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ । प्रशिक्षणका दौरान चोट बोकेका महर्जनले दुखाई कम गर्न ३ वर्ष ‘पेन किलर’ औषधि सेवन गरेका थिए । त्यही ओषधि सेवनका कारण महर्जनको मृगौलामा समस्या उत्पन्न भएको थियो । सविता ‘ब्रेस्ट क्यान्सर’ बाट पीडित छिन् । सविताको ‘रेडियोथेरापी’ सकिएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्