थुलुङ[राई]सामाको जग्गा एकलौटी निर्णयमा विक्री, २१ लाख बढी घोटला



१६ मंसिर २०७६, काठमाडौं

थुलुङ(राई) सामाको जग्गा विक्रीको रकममा घोटला भएको छ।

जग्गा विक्रीको रकममा कम्तीमा २१ लाख ४० हजारभन्दा बढी हिनामिना भएको तथ्य फेला परेको हो। संस्थाका कार्यवाहक अध्यक्ष राम थुलुङले भने जग्गा विक्रीबाट कूल १ करोड ८५ लाख मात्र प्राप्त भएको बताएका छन्।

तर, जग्गा खरिद गर्ने बाराही प्रपर्टी हाउजिङ्ग एण्ड लिजिङ्ग कम्पनीका मार्केटिङ्ग प्रमुख छवि बोहोराले भने जग्गाको खरिदपछि पाससम्मको प्रक्रिया चल्दा कूल २ करोड ३३ लाख तिरेको परिवर्तन खबरलाई जानकारी दिएका छन्।

जग्गा विक्रीबारे कार्यवाहक अध्यक्ष राईसँग बुझ्दा संस्थाको विधानुसार सबै प्रक्रिया पुर्याएर विक्री गरिएको बताउँछन्।

“संस्थाप्रति नकारात्मक धारणा राख्ने केहीले यो विषयलाई अनावश्यक टिप्पणी गरिरहेका छन्। हामी सबैको सल्लाह अनुसार राम्रो मूल्य पाएकोले बेचेको हौं।” उनले भने, ‘विक्रीबाट प्राप्त रकम रु. १ करोड ८५ लाख संस्थाकै खातामा छ। समुदायलाई अनुकूल पर्ने अर्को ठाउँमा नयाँ जग्गा खरिदको प्रक्रिया अगाडि बढिरहेको छ।’

कार्यवाहक अध्यक्ष राईले जग्गा २ करोड ५० लाखसम्ममा पनि किन्ने मान्छे आएको तर पछि जग्गा हेर्दा भीर–भिरालो हुनुका साथै कम क्षेत्रफल भएकाले डेढ करोड मात्र मूल्य आउने भनेपछि आफूले रोकेको बताए।

‘यो मूल्य हामीले राम्रो पाएका हौं। जग्गा मिलाउन थालेको भए ५० लाख खर्च गरेर मात्र नयाँ संरचना बनाउन सकिन्थ्यो। हामीलाई १ करोड ८५ लाखमा किन्ने प्रस्ताव आएपछि सबैको निर्णयबाटै जग्गा बेचिएको हो।’ उनले भने।

यता, जग्गा विक्री भएको मूल्य अत्यन्त न्यून भएको भन्दै असन्तुष्ट भएका थुलुङ समुदायले संस्थाको संस्थापक सचिव जनीकुमार राईको संयोजकत्वमा ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ समेत गठन भएको छ।

समितिले सामाको अवैधानिक केन्द्रीय समितिले जग्गा बेचेर लाखौँ घोटाला गरेको आरोप लगाएको छ। समितिका संयोजक जनीकुमार राईले समुदायको नाम बेचेर खानेहरुविरुद्व सबै थुलुङ समुदायलाई सु–सूचित गर्दै एकतावद्व हुन समिति गठन गरिएको बताएका छन्। “यो अवैधानिक समितिका सीमित व्यक्तिहरुले व्यक्तिगत आर्थिक लाभका लागि जग्गा बेचेका हुन्। यो जग्गाको मूल्य सामाको पदाधिकारीले दावी गरेजस्तो त्यति धेरै कम हुनै सक्दैन। यसमा एउटा गिरोह समूह नै बनाएर लाखौँ रकम हिनामिना गरिएको छ।”उनले भनेका छन्।

किरात राई थुलुङको साझा संस्थाको रुपमा परिचित संस्थाको स्थापना १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा थुलुङ किरातहरुको भाषा, संस्कृति भेषभूषा तथा मुन्दुम जोगाउने उदेश्यले भएको थियो।

‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ द्वारा ध्यानाकर्षण पत्रः

प्रतिक्रिया दिनुहोस्