के ज्ञानेन्द्र साँच्चै उट्पट्याङ हुन्?



१३ मंसिर २०७६, काठमाडौं

गत बुधबार बसेको ‘नेपालका लागि नेपाली’ अभियानको केन्द्रीय कार्यसमितिको बैठकले ज्ञानेन्द्र शाही उर्फ ज्ञानेन्द्र बहादुर शाहीलाई सम्पूर्ण रुपले अभियानको जिम्मेवारीबाट निष्कासित गर्‍यो।

कतिपय सरोकारवाला तथा जानकारहरुले ज्ञानेन्द्रको व्यक्तिगत स्वार्थ जे भएपनि उनले चलाएका भ्रष्टाचारविरुद्धको अभियान भने प्रशंसनीय भनेर पनि भन्ने गर्छन्। तर, बुधबारको बैठकले किन शाहीलाई निष्कासित गर्ने निर्णय गर्यो? भ्रष्टाचारविरूद्धको अभियानका क्रममा पाँच महिनामा तीन पटक कुटाइ खाएका ज्ञानेन्द्रलाई आखिर किन अभियानबाट हटाइयो? यो अहिले सबैको चासोको विषय बनेको छ।

भएको के हो?

गत ३ मंसिरमा अभियानको सचिवालय बैठक बसेको थियो। त्यहाँ विशेषगरी दुई थरीका एजेण्डहरु उठेका थिए।

(१) यो अभियानमा संलग्न व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कि नगर्ने? (२) नेपालमा राजतन्त्र पुनः स्थापनाका लागि अभियान चलाउने कि नचलाउने? बैठकको एजेण्डामाथि संयोजक सुरेन्द्र भण्डारीलगायत बहुसंख्यक अभियन्ता राजतन्त्रको लागि वकालत गर्ने पक्षमा उभिएका थिए। र उनीहरु सम्पत्ति छानबिनको विपक्षमा रहेका शाहीको आरोप छ।

गत २ र ३ असोजमा अभियानको गोदावरी घोषणा पत्रले भ्रष्टाचारमाथि आक्रामक अभियान चलाउने निर्णय गरेको थियो। पञ्चायतकालदेखि अहिलेका नेतासम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बहस चलेको थियो।

गत ३ मंसिरको बैठकमा ज्ञानेन्द्रले गोदावरी घोषणापत्रको पहिलो बुँदाको छलफलमा आफ्नै सदस्यको सम्पत्ति छानबिन गर्न सचिवालय बैठकमा माग गरे। ‘हामी आफैँभित्र कति शुद्ध छौं र अरूको सम्पत्ति छानबिन गर्ने?’ भन्दै उनले कुरा उठाएका थिए।

पञ्चायतकालदेखि गणतन्त्रसम्मका पूर्वप्रशासकदेखि पूर्वप्रहरीहरु सबैको सम्पत्ति छानबिन गरौं भनी आफूले प्रस्ताव गरेको र संयोजक सुरेन्द्र केसीले असहमति जनाएको शाहीको भनाइ छ।

उनका अनुसार सचिवालयका २२ मध्ये एक दर्जन सदस्य बैठकमा उपस्थित थिए। अधिकांशले शाहीले उठाएका कुरा मन पराएनन्। बैठक चल्दै थियो, शाही असहमति राख्दै निस्किए।

त्यसपछि उनी राजधानीबाहिर गए। बुधबार उनी डडेल्धुरा पुगेका थिए। त्यही दिन अभियानको केन्द्रीय समिति बैठकले ‘शाहीलाई निष्कासन’ गरेको विज्ञप्ति निकाल्यो।

के ज्ञानेन्द्र साँच्चै उत्पट्याङ नै हुन् त?

पछिल्लो समय शाहीलाई राजावादी भनेर नाम दिन थालिएपछि उनले आफू गणतन्त्रवादी हुँ भनेर हिँड्न थालेका थिए।

त्यसो त ‘नेपालका लागि नेपाली’ अभियानले वर्तमान नेपालको संघीयता र धर्मनिरपेक्षता खारेजी गरी राजाको पुनः स्थापना गर्नुपर्छ/हुनुपर्छ भन्नेजस्ता एजेण्डासहितका गतिविधि संचालन गर्दै आएको छ।

‘नेपालका लागि नेपाली’का संयोजक तथा वरिष्ठ अधिवक्तासमेत रहेका सुरेन्द्र भण्डारीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा शाहीलाई सम्पूर्ण रुपले ‘नेपालका लागि नेपाली’को जिम्मेवारीबाट निष्कासित गरिएको उल्लेख छ। ‘अब उप्रान्त उहाँले दिने अभिव्यक्ति, कार्यक्रम तथा गतिविधिहरुमा ‘नेपालका लागि नेपाली’ अभियानको कुनैपनि संलग्नता, सहभागिता र समर्थन रहने छैन।’विज्ञप्तिमा भनिएको छ।

तर, स्मरण रहोस् ज्ञानेन्द्र शाही ‘नेपालका लागि नेपाली’को संस्थापक हुन्। भ्रष्ट्राचार, राजतन्त्र र गणतन्त्रका विषयमा अभियानका अन्य सदस्यहरुसँग शाहीको वैचारिक विविधता भने पहिल्यैदेखि रहँदै आएको देखिन्थ्यो।

भ्रष्टाचारलाई उन्मुलन मात्र गर्न सकियो भने राजतन्त्रभन्दा गणतन्त्र नै  राम्रो हो भन्ने अभिव्यक्तिले अभियानका अरुलाई चित्त बुझेको थिएन।

‘म अझै अभियानमै छु’

यता ‘नेपालका लागि नेपाली’ले ज्ञानेन्द्र शाही निष्कासितको विज्ञप्ति सार्वजनिक गरिरहँदा उनी आफू भने दार्चुला पुगेर आफू अझै अभियानमै रहेको बताएका छन्।

उनले आफूले अकुत सम्पत्तिमाथि छानबिन हुनुपर्छ भन्ने आवाज उठाउन थालेपछि यस्तो कदम चालिएको तर्क गर्छन्। “म अभियानबाट बाहिरिएको छैन। म अझैसम्म अभियानमै छु। म अभियानको अवधारणाबाट बाहिर पनि गएको छैन।’ उनले भनेका छन्।

यस्तै उनले आफू अभियानकै अवधारणभित्र रहेको जिकिर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्