चिनियाँ सार्वभौमसत्ता रक्षाको निम्ति पनि नेपालसँगको सम्बन्ध महत्वपूर्ण पाटो हो : मुख्य सचेतक देव गुरुङ



१९ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य तथा लमजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित देव प्रसाद गुरुङ नेकपा संसदीय दलका मुख्य सचेतक समेत हुन् ।

बौद्धिक, शालीन, भद्र र कम बोल्ने गुरुङ अन्तर्राष्ट्रिय राजनीतिका समेत विश्लेषक हुन् । परिवर्तन खबरले चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमण सेरोफेरोमा उनकै निवास ललितपुर पुगी गरिएको कुराकानीको सारसंक्षेप :

चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणलाई तपाईले कसरी हेर्नुभएको छ ?
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन लाग्नु अत्यन्तै खुशीको कुरा हो । भ्रमण सफलताको कामना पनि गर्न चाहन्छु । नेपालको राष्ट्रिय हित र आर्थिक दृष्टिकोणले यो भ्रमण अत्यन्तै महत्वपूर्ण छ ।

भ्रमणले नेपालको परराष्ट्र नीतिमा कस्तो असर पार्ला ? किनभने नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्झौता र प्रशिक्षणले जुन धक्का दियो राष्ट्रपति भ्रमणले त्यस्तै नकारात्मक असर नपर्ला र ?
दुईटा पार्टीबीचको सम्बन्ध र देश–देशबीचको सम्बन्ध फरक विषय हुन् । दुई पार्टीबीचको सम्बन्ध मात्र होईन । माक्सर्वादी कम्युनिष्ट पार्टीहरु बीचको सम्बन्ध, अनुभव आदान–प्रदान जुनसुकै देशका पार्टीहरु बीचमा पनि हुन सक्छ । दुई पार्टीबीचको सम्बन्ध बैचारीक पाटो हो । देश–देशबीचको सम्बन्ध कुटनीतिक वा मित्र राष्ट्रको हैसियतमा वा वर्तमान विश्व परिवेशको दृष्टिकोणबाट हेर्दा राष्ट्रपति सीको यो भ्रमण निकै महत्वपूर्ण छ ।

यहाँले भ्रमणलाई राष्ट्रिय हितको विषयमा महत्वपूर्ण छ भन्नुभयो, के जोड्न खोज्नु भएको हो ?
अहिलेको विश्व परिवेशमा नेपालको भू–राजनीतिक परिस्थितिको सन्दर्भबाट हेर्नुपर्छ । अहिले विश्व सभ्यताको केन्द्र एशिया बन्न खोज्दै छ, जुन हिजो पनि थियो । पछिल्लो समयमा पश्चिम तर्फ सभ्यताको विकास हुदै गयो जसको साथ–साथै औधोगिक पूजीवादको विकास भयो । जुन प्रकारान्तरमा एकाधिकार पूजीवादको विकाससँगै आर्थिक र राजनीतिक केन्द्र पश्चिम नै बन्न पुग्यो ।

शक्तिको होडबाजीमा नै पहिलो र दोश्रो विश्व युद्ध भएका थिए । अहिले पनि सानो–सानो आकारमा क्षेत्रीय झडपहरु भईरहेका छन् । पछिल्लो समय चीन लगायत अरु एशियाली देशहरुको अर्थतन्त्र विकास तीब्र गतिले बढिरहेको छ भने करिव एक दशकदेखि पश्चिमा अर्थतन्त्र ह्रासोन्मूख अवस्थामा छ । यस्तो अवस्थामा आर्थिक सङ्कटबाट मुक्त हुँदै आफ्नो प्रभुत्व कायम राख्न अमेरिका र पश्चिमा जगतलाई चुनौती थपिएको छ । शोभियत संघको पत्तन पछि एकधु्रवीय विश्वव्यवस्था अहिले ब्रिक्सको गठनपछि बहुधु्रवीय विश्वव्यवस्थातर्फ जादै गरेको र आर्थिक बृद्धि पनि तीब्रतर गतिमा बढ्दै जाँदा पश्चिमलाई चीनले उछिन्ने देखिन्छ ।

अहिले चीन र एशियाको आर्थिक सम्मृद्धिलाई नियन्त्रण गर्दै कसरी पश्चिमा प्रभुत्व कायम गरिरहने भन्ने अस्वस्थ प्रतिश्पर्धा चलिरहेको छ । जुन आर्थिक प्रतिश्पर्धामा मात्र सिमित नरही फौजी युद्धको दिशामा जाने हो की भन्ने शंका समेत बढ्दै गएको देखिन्छ ।

अमेरिका र पश्चिमा जगत अरब राष्ट्रहरुको प्राकृतिक श्रोतसाधन माथि प्रभाव जमाउन आन्तरिक द्वन्दलाई चर्काउँदै त्यहाँको प्राकृतिक श्रोत माथि प्रभुत्व जमाउँदै अरबमूलको अर्थतन्त्र कमजोर बनाउन सफल भए । यहि प्रयोग एशियाली देशमा गर्दै युद्ध थोपरेर एशियाकै अर्थतन्त्र सखाप बनाई आफ्नो पभुत्व कायम राख्न सकिन्छ भनेर उनीहरु एशियातिर युद्ध सार्दै छन् । विभिन्न प्रकारका झडप पार्ने कोसिस गरिरहेका छन् ।

यस्तो अवस्थामा एशियाली मूलुकहरुबीचको एकता, शान्ति, समृद्धिको खाँचो हो । चिनियाँ राष्ट्रपति सी भ्रमणले छिमेकी मुलुक, भारत र चीन बीचमा रहेको भू–परिवेष्ठित मुलुक नेपाल मार्फत पश्मिाहरुले चीनलाई घेरावन्दी गर्ने क्रममा इण्डो प्यासाफिक सैन्य गठबन्धनको माध्यामले चीनलाई घेराबन्दी गर्ने, त्यसमा पनि सीमा जोडिएको नेपालको भूमी प्रयोग गरी स्वतन्त्र तिब्बतको मुद्धा उचालेर बढि भन्दा बढि चलखेल गर्न खोजेको देखिन्छ ।

यो अवस्थामा चीनको सार्वभौम सत्ताको सुरक्षाको निम्ति, एक चीन नीति अवलम्बनको निम्ति र पश्चिमाहरुले नेपालको भूमी प्रयोग गरी तिब्बतमा ल्याउन सक्ने विभाजनको अवस्था रोक्नको निम्ति, चीनलाई पनि सोभियत संघलाई जस्तै गरि विखण्डन गराउन सकिन्छ भन्ने कुरा नेपाल जस्ता सीमावर्ति मुलुकहरुमा गरिने गतिविधीले निर्धारण गर्छ । त्यसैले चीनको सार्वभौमसत्ता रक्षाको निम्ति नेपालसँगको सम्बन्ध अत्यन्तै महत्वपूर्ण पाटो हो ।

चीनले यो कुरा बुझेको छ कि छैन ?
मलाई लाग्छ, सायद यो कुरा चीनले बुझेको हुनुपर्छ । चीनले आफ्नो सार्वभौसत्ता रक्षाको निम्ति पनि नेपालको रक्षा अनिवार्य सर्त हो । नेपालको रक्षाको निम्ति शान्तिपुर्ण बाटोमा जानुपर्ने, पञ्चशीलको  सिद्धान्तको बाटोमा जानुपर्ने, असंलग्नताको बाटोमा जानुपर्ने नेपालको पनि आवश्यकता हो । यसैले नेपालको पनि रक्षा हुन्छ । शैन्य रणनीतिको प्रक्रियामा कतै न कतै फस्न पुग्यो भने नेपाल जस्तो सानो मूलुकमा पश्चिमाहरुले शैन्य शक्ति तैनाथ गर्ने मौका पाउन सक्छन् । यस्तो अवस्थामा चीन र भारतलाई सह्य हुदैन । त्यस्तो अवस्थामा झडप पनि हुनसक्छ । जसलाई नेपाली सेनाले रक्षा गर्न कठिन हुनेछ। त्यसैले हामीले कुटनैतिक ढंगले आफ्नो स्वाधिनताको रक्षा गर्ने हो । सैन्य गठबन्धनमा लाग्न थालियो भने नेपालको स्वाधिनता गम्भिर खतरामा पर्छ ।

यो कोणबाट हेर्दा शान्तिपुर्ण, आर्थिक समृद्धि र विकासको नमूनाबाट सिक्दै जाने हो भने अहिले शान्तिपूर्ण विकासको प्रतिश्पर्धामा चीनले अघिसारेको बिआरआईमा साझेदारी गर्न खोजि रहेको छ ।

राष्ट्रपति सीको भ्रमण मार्फत नेपालले के पाउला ?
अहिलेको परिवेशमा नेपाल र चीनको स्वाधिनताको रक्षाको निम्ति दुई मुलुकबीचको सम्बन्ध आदान–प्रदानले मैत्रीपूर्ण सम्बन्धले ठूलो महत्व राख्छ । आर्थिक विकासको कोणले हेर्दा चिनियाँ बिआरआईको अवधारणा आफ्नो मूलुक मात्र नभएर छिमेकी र विश्वका कुनैपनि मूलुकको विकासमा साझेदारी गर्न तयार छ । विकासमा साझेदारी गर्नुपर्ने मूलुकहरुमा पुर्वाधार विकास, व्यापार, पारवहान लगायतका बाटाहरु खुलाउने यो अवस्थाबाट नेपालले लाभ लिने सम्भावना रहन्छ ।

केरुङ–काठमाडौं–लुम्बिनीसम्मको रेल मार्गको अवधारणाले मुर्त रुप लिनेछ । सुचारु रुपले खुल्न नसकेका अरु नाकाहरु खुल्ने र दुई मूलुक जोड्ने सडकको पुर्वाधार निर्माण मार्फत कनेक्टीभिटी हुने दिशामा महत्वपूर्ण योगदान हुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्