कहाँ के गर्दैछन्, जनयुद्ध सुरु गर्ने माओवादीका १९ केन्द्रीय नेताहरु?



०१ असोज २०७६, काठमाडौं

तत्कालीन महान् जनयुद्धका शुत्राधारा १९ हस्तिहरु नेपाली राजनीतिक रंगमञ्चका फरक–फरक स्थानमा उभिन पुगेका छन्।

देशमा अहिले जनयुद्ध छैन। त्यसो त युद्ध सुरु गर्ने तत्कालीन माओवादी आफै पनि अस्थित्वमा छैन। तत्कालीन माओवादी अहिले तत्कालीन एमालेसँग एकता गरेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नामबाट अगाडि बढिरहेको छ।

जनयुद्ध सुरु गर्दा पार्टीका महामन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले नेकपाको एक अध्यक्ष छन्।

तत्कालीन माओवादीका एक शीर्ष नेता मोहन वैद्य ‘किरण’ नेकपा (क्रान्तिकारी माओवादी) पार्टी बनाएर महासचिव छन्।

यस्तै डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले समाजवादी पार्टीमा रमाउँदै छन्।

जनयुद्ध सुरु गर्नेमध्ये प्रचण्डसहित नौ जना मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छन्।

विस्तृतमा हेर्नुहोस्ः

१, पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ १ फागुन विसं २०५२ मा जनयुद्ध सुरु गर्दा नेकपा (माओवादीका)का महामन्त्री थिए।

कास्कीको ढिकपोखरीमा २६ मंसिर २०११ मा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए। काठमाडौंमा ०४६ मा सेक्टर काण्ड घट्यो। त्यसअघि महामन्त्री रहेका मोहन वैद्य ‘किरण’ले राजीनामा दिएपछि महामन्त्री भएका प्रचण्डले ०५१ मा राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन गर्दै नेकपा (माओवादी)बनाए।

जनयुद्धको कार्यदिशा तय गरेर अगाडि बढे। उनले १० वर्षे जनयुद्धको १० वर्ष नेतृत्व गरे।

विसं ०६४ को संविधानसभा निर्वाचनमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएर २ भदौ ०६५ मा प्रधानमन्त्री भएका प्रचण्ड २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थाजस्ता नारा प्रचण्डले उठाएका हुन्। जुन ३ असोजमा संविधानसभाबाट संविधान जारी भएसँगै संस्थागत भयो।

यसबीचमा प्रचण्डले आफूबाट अलग्गिएका रामबहादुर थापा ‘बादल’लाई समाहित गराएर नेकपा (माओवादी केन्द्र) बनाए। २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमोल)सँग एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाए। त्यसपश्चात् अहिले उनी पार्टीका एक अध्यक्ष छन्।

२, मोहन वैद्य ‘किरण’

जनयुद्ध सुरु गर्दा मोहन वैद्य ‘किरण’ दोस्रो तहका नेता थिए।

त्यतिबेला उनी पोलिटब्यूरो सदस्य थिए। वैद्य प्रचण्डका पनि गुरु मानिन्थे। तर, १९ चैत विसं २०४५ मा पञ्चायत चुनावलाई असफल पार्ने उद्देश्यसहित त्रिपुरेश्वरमा रहेको राजा महेन्द्रको सालिकमा मोसो दलियो र केही प्रहरी चौकीमाथि आक्रमणको प्रयास असफल भयो, जसलाई सेक्टर काण्ड भनियो।

त्यसपछि वैद्यले महामन्त्रीको पदबाट नैतिकताको आधारमा भन्दै राजीनामा दिए। उनको राजीनामापछि प्रचण्डले पार्टीको नेतृत्व सम्हाले।

उनी ०६९ सालमा एमाओवादीबाट ठूला हिस्सा लिएर निस्किए। र, नेकपा–माओवादी गठन गरे। उनीसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ले अलग पार्टी बनाए। अहिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारबाट प्रतिबन्धित छ।

रामबहादुर थापा ‘बादल’लगायत पूर्ववत नेताहरु पार्टीमा फर्किए। वैद्य क्रान्तिकारी माओवादीको महामन्त्री छन्।

३, डा. बाबुराम भट्टराई

खोप्लाङ गोरखामा विसं २०११ मा जन्मिएका डा. बाबुराम भट्टराई जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए।

त्यस समय पार्टीका पोलिटब्यूरो सदस्य रहेका उनी तेस्रो तहका नेता थिए। जनयुद्धमा उनले क्रान्तिकारी जनपरिषद्का संयोजक भएर ‘जनसत्ता’को नेतृत्व गरेका थिए।

०६४ मा प्रचण्डको मन्त्रिपरिषद्को अर्थमन्त्री बनेका भट्टराई ११ भदौ ०६८ मा प्रधानमन्त्री बनेका थिए। दोस्रो संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति भएर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका उनले संविधानसभाको अन्त्यतिर संविधानप्रति नै असन्तुष्टि जनाएका थिए।

संविधान जारी भएको छैटौँ दिन ९ असोजमा एमाओवादी र व्यवस्थापिका–संसद् सदस्य परित्यागको घोषणा गरेका भट्टराईले नयाँ शक्ति पार्टी निर्माण गरे।

त्यसपछि अहिले उनी उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग एकता गरेर निर्माण भएको पार्टी समाजवादीको अध्यक्ष छन्।

४, राम बहादुर थापा ‘बादल’

१९ वैशाख विसं २०१२ मा गुल्मीमा जन्मिएका थापा जनयुद्ध सुरु गर्दा पोलिटब्यूरो सदस्य थिए।

जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए। प्रचण्ड नेतृत्वको २०६४ को मन्त्रिपरिषद्मा उनी रक्षामन्त्री थिए। उनकै कार्यकालमा तत्कालीन प्रधानसेनापति रुकमांगद कटुवाललाई बर्खास्त गर्ने निर्णय भयो।

जुन निर्णयले एमाओवादीको सरकार ढल्यो। माओवादी विभाजन हुँदा उनी वैद्यतिर लागे। उनी विसं २०७३ जेष्ठमा वैद्यबाट अलग्गिएर पुनः प्रचण्डसँग एकता गरे।

उनी अहिले गृहमन्त्री छन्। नेकपा बनेपछि उनी सचिवालय सदस्य छन्।

५, सिपी गजुरेल ‘गौरव’

१७ बैशाख २००५ मा सिन्धुलीमा जन्मिएका सिपी गजुरेल जनयुद्ध सुरु गर्दा ४७ वर्षका थिए।

जनयुद्ध सुरु गर्दा पोलिटब्यूरो सदस्य रहेका गजुरेल वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको नेता छन्। उनी क्रान्तिकारी माओवादीको मध्य ब्यूरो इन्चार्ज हुन्।

एमाओवादी विभाजनपछि बनेको माओवादीमा उपाध्यक्षको भूमिकामा रहेका उनी अघिल्लो संविधानसभामा सदस्य थिए। उनी जनयुद्धको अन्तिमतिर भारतीय जेलमा बसेका थिए।

६, पोष्ट बहादुर बोगटी ‘दिवाकर’

नुवाकोटमा ३ साउन विसं २०१० मा जन्मिएका पोष्ट बहादुर बोगटी ‘दिवाकर’ जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए।

जनयुद्ध सुरु गर्दा उनी ४२ वर्षका थिए। लामो समय पश्चिम नेपालमा काम गरेका बोगटी अघिल्लो संविधानसभामा नुवाकोट ३ बाट निर्वाचित भएका थिए। उनी दुई पटक मन्त्री बने।

एकीकृत माओवादीको महासचिव रहेकै समयमा हृदयाघातका कारण उनको ३० भदौ ०७१ मा निधन भयो।

७, देव गुरुङ ‘कान्छाबहादुर’

देव गुरुङ जनयुद्ध सुरु हुँदा केन्द्रीय सदस्य थिए।

उनी जनयुद्ध सुरु गर्दा करिब ४० वर्ष पुगेका थिए। पहिलो संविधानसभामा मनाङ र कास्कीबाट निर्वाचित उनी स्थानीय विकासमन्त्री, कानून न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत बनेका थिए।

०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागेका थिए। प्रचण्ड–बादलको एकतामा बादलसँगै आएका गुरुङ लम्जुङबाट प्रतिनिधिसभा सदस्य छन्।

उनी नेकपाको स्थायी समिति सदस्यसमेत हुन्।

८, टोप बहादुर रायमाझी ‘अनिल’

२५ कात्तिक विसं २०१८ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए।

त्यसबेला उनी ३४ वर्षका थिए। दुवै संविधानसभा र प्रतिनिसिभामा अर्घाखाँचीबाट निर्वाचित उनी स्थानीय विकास, भौतिक योजना, उपप्रधान तथा ऊर्जामन्त्री बने।

माओवादी स्थापना भएदेखि नै भट्टराईको पक्षमा रहेका उनी भट्टराईको नयाँ शक्ति निर्माण अभियानलाई भने साथ दिएनन्। अहिले उनी नेकपाको स्थायी समिति सदस्य छन्।

९, हरि बोल गजुरेल ‘शीतलकुमार’

६ बैशाख विसं २०१२ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु हुनुअघि नै माओवादीका केन्द्रीय सदस्य थिए।

जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए। दोस्रो संविधानसभा र प्रतिनिधिसभामा सिन्धुलीबाट निर्वाचित उनी कृषि मन्त्री बने।

प्रचण्डलाई साथ दिंदै आएका उनी एकीकृत माओवादी पार्टी हुँदा कोषाध्यक्ष थिए। र, हाल नेकपाको स्थायी समिति सदस्य छन्। उनी नेकपाको कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख छन्।

१०, हरिभक्त कँडेल ‘प्रतीक’

१४ साउन विसं २०११ मा जन्मिएका कँडेल जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए।

काठमाडौंमा कलेज पढ्दा उनी प्रचण्डका ‘रुम पार्टनर’ थिए। माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे।

उनी वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवक्ता तथा पूर्वी ब्यूरो इन्चार्ज छन्।

११, अग्निप्रसाद सापकोटा ‘कञ्चन’

झन्डै १५ वर्ष शिक्षण पेसा अँगालेका अग्निप्रसाद सापकोटा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए।

२४ फागुन विसं २०१४ मा सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा दुवै संविधानसभा र प्रतिनिधिसभामा सिन्धुपाल्चोकबाट विजयी बनेका थिए।

उनी सञ्चार र वनमन्त्री बने। माओवादी विभाजनमा प्रचण्डलाई साथ दिएका उनी अहिले नेकपाको स्थायी समिति सदस्य छन्।

१२, लोकेन्द्र विष्ट मगर ‘अभ्यास’

विसं २०२१ मा रुकुममा जन्मिएका लोकेन्द्र विष्ट मगर जनयुद्ध सुरु हुँदा ३१ वर्षका थिए।

त्यसबेला उनी माओवादीको केन्द्रीय सदस्य थिए। तर, उनी जनयुद्ध सुरु हुनुको केही महिनाअघि नै पक्राउ परे। विसं ०५१ मा पक्राउ परेर विसं ०५८ मा छुटे। उनी जनयुद्ध उत्तरार्द्धमा पुग्दै गर्दा विसं ०६१ मा भारतमा पक्राउ परेर भारतीय जेलमा पनि बसे।

पहिलो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति भएका विष्ट स्वास्थ्य र पर्यटमन्त्री बने।

उनी अहिले राजनीति छाडेर दाङमा कृषि फार्म चलाएर बसेका छन्।

१३, पम्फा भुसाल ‘विद्युत’

विसं २०१९ साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा ३३ वर्षकी थिइन्।

जनयुद्ध सुरु गर्ने माओवादीको १९ सदस्यीय कार्यसमितिमा उनी एक्ली महिला थिइन्। उनी जनमोर्चा नेपालकी अध्यक्ष पनि थिइन्।

विसं ०६४ को निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएकी उनी मन्त्री बनिन्। विसं ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्यको साथमा लागिन्।

प्रचण्ड–बादल एकतामा उनी बादलसँगै आइन्। ललितपुरबाट प्रतिनिधिसभामा आएकी भुषाल अहिले नेकपाको स्थायी समिति सदस्य छिन्।

१४, मातृका यादव

विसं २०१६ सालमा सप्तरीमा जन्मिएका यादव जनयुद्ध सुरु हुँदा माओवादी केन्द्रीय समितिमा रहेका एकमात्र मधेसी समुदायका नेता थिए।

जनयुद्ध सुरु गर्दा उनी ३६ वर्षका थिए। विसं ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मशालसँग माओवादीले एकता गर्दा असन्तुष्ट भएर उनी पार्टीबाट बाहिरिए।

उनले पार्टीबाट बाहिरिएर नेकपा (माओवादी ब्यूँताए।

त्यसपश्चात् विसं २०७३ जेष्ठमा भएको माओवादीहरुको एकीकरण अभियानमा उनी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए।

वर्तमानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका उनी नेकपाको स्थायी समिति सदस्य छन्।

१५, दिनेश शर्मा ‘सागर’

१७ साउन विसं २०१६ मा काभ्रेमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए। त्यो बेला उनी ३६ वर्षका थिए।

शर्मा माओवादी विभाजित हुँदा वैद्य पक्षमा लागे। उनी अहिले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको नेता छन्।

१६, यान प्रसाद गौतम ‘आलोक’

यानप्रसाद गौतम जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए।

विसं २०१७ बैशाखमा काभ्रेको पोखरीचौरमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ३५ वर्षका युवा नेता थिए।

महत्वाकांक्षी नेता गौतममाथि माओवादीले संस्थागत रूपमै ‘पार्टी हेडक्वार्टरमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोर रहेको, आर्थिक अराजकता रहेको र नोकरशाही कार्यशैली अंगीकार गरेको’ आरोप लगाएर आन्तरिक कारबाही गर्‍यो।

त्यसलाई ‘आलोक प्रवृत्ति’ भनेर माओवादीले पार्टीका तल्लो तहसम्म प्रशिक्षित गर्‍यो।

गौतम पार्टीको आन्तरिक कारबाहीमा रहेकै समयमा विसं २०५९ मा रोल्पाको उवामा तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा मारिएको माओवादीले बताउँदै आएको छ।

१७, दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’

१२ चैत विसं २००३ मा चितवनको गीतानगरमा जन्मिएका दण्डपानी न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए।

जनयुद्ध सुरु हुँदा उनी ४९ वर्षका थिए। उनी माओवादीको तत्कालीन १९ सदस्यीय केन्द्रीय समितिमा उमेरले वैद्यपछि पाका नेता थिए।

उनी ५३ वर्षका हुँदा ७ जेष्ठ विसं ०५६ मा काठमाडौंको कलंकीबाट प्रहरीले गिरफ्तार गर्यो। उनी हालसम्म राज्यपक्षबाट बेपत्ता छन्। बेपत्ता पारिनेमा उनी माओवादीको पहिलो र शीर्ष नेता हुन्।

१८, नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’

४ पुस विसं २०१४ मा दाङमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए।

त्यस समय उनी ३८ वर्षका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि कुनै पनि सुविधाको पद नलिएका उनी माओवादी विभाजित हुँदा वैद्य पक्षमा खरो रूपमा उत्रिएका थिए।

प्रचण्ड–बादल एकीकरणमा माओवादीको मूल धारमा फर्किएका उनी अहिले नेकपाको केन्द्रीय सदस्य छन्।

उनी नेकपाको पुस्तकालय तथा अभिलेखालय विभाग प्रमुख छन्।

१९ फणीन्द्र आचार्य ‘अनल’

जनयुद्ध सुरु गर्दा चितवनका फणीन्द्र  आचार्य केन्द्रीय सदस्य थिए।

तर, केन्द्रीय समितिका १८ जना पूर्ण भूमिगत भएर जनयुद्धमा लाग्दा उनी लागेनन्।

उनले चितवनको भरतपुरमा सरकारी अस्पतालअगाडि व्यापार सुरु गरे। शान्ति प्रक्रिया सुरु भएपछि उनी पुनः माओवादीको सम्पर्कमा आए।

माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे। अस्वस्थ रहेका आचार्य हिजोआज घरमै आराम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्