आज कँडेल र लामिछानेको बयानपछि २३ वकिलको बहस, सुरक्षामा कडाइ



०९ भदौ २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकणमा पक्राय परेका रवि लामिछाने र युवराज कँडेलको आज थप बयान जिल्ला अदालत चितवनमा हुँदैछ । अहिले युवराज कँडेलको बयान जारी हुँदैछ र कँडेलको बयानपछि लामिछानेको बयान हुनेछ भनेर चितवन आदलतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् ।

रुकु’ भनिने अस्मिता कार्कीको बयान भने आइतबार नै भएको थियो । यसअघि सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ बमोजिम आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । मुद्दा दायर भएपछि आरोपीहरुको बयान सुरु गरिएको हो । लामिछाने र कँडेलको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

बहसका लागि प्रतिवादीका पक्षबाट १५ जना कानुन कानुन व्यावसायी ९वकिल० र वादीका तर्फबाट सरकारी वकिलसहित ६ जनाले बहस गर्नेछन् । अन्य दुई जना पनि बहसमा सहभागि हुने श्रेस्तेदार गिरीले बताए । गिरीका अनुसार बहस गर्ने कानुन व्यावसायीको संख्या बढ्न सक्ने छ ।

रवि र युवराजको बयानपछि दुवै पक्षका कानुन व्यवसायीको दुईतर्फी बहस हुनेछ । बहसपछि अदालतले आफ्नो आदेश सुनाउनेछ । जसमा पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्नेमध्ये एक आदेश हुने कानुन व्यवसायीको भनाइ छ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएको अवस्थामा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले आइतबार राति सूचना जारी गर्दै निषेधित क्षेत्र तोकेको चितवन संवाददाता सूर्य अधिकारीले जनाएका छन् । हिरासतमा रहेका लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुको प्रर्दशन चर्किएपछि प्रशासनले यस्तो कदम चालेको हो । निषेधित क्षेत्र तोकिएपछि जिल्लाको सुरक्षा अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्