हाँडीगाउँलाई सम्पदा शहर बनाउन सरोकारवाला जुट्दै



०२ भदौ २०७६, काठमाडौं

हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्द्धन र विकासको लागि आयोजित विशेष कार्यशाला गोष्ठीमा जनप्रतिनिधि र सम्पदाविद्हरुले नेपालको सबैभन्दा पुरानो सांस्कृतिक महत्व बोकेको हाँडीगाउँलाई सम्पदा शहर बनाउन एक मत भएका छन् ।

कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै इतिहासकार तथा संस्कृतिविद् प्रा.डा. यज्ञनाथ आचार्यले हाँडीगाउँ लिच्छवीकालिन राजधानी भएको जयदेव द्वितीयको शिलालेखमा उल्लेख भएको बताउँदै, धार्मिक महत्व बोकेको कैलाशकुट भवन समेत यही क्षेत्रमा भएको अनेकौं प्रमाणहरु रहेको बताए ।

बौद्ध र हिन्दु धर्मावलम्वीहरुको केन्द्र रहनुको साथै कलात्मक मूर्तिहरु, मन्दिर, चैत्य, पार्टी पौवा, नृत्य, संगीत, शिलालेख आदिले यसको ऐतिहासिकतालाई पुष्टि गरेको बताउँदै हाँडीगाउँ वास्तुकलामा उत्कृष्ट र कलात्मक भएको बताए ।

संस्कृति तथा इतिहासविद् डा. सुदर्शन राज तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लिच्छवीकालिन राज्य मानेश्वर, हाँडीगाउँमै रहेको बताउँदै कैलाशकुट भवनको अनुसन्धान गरिरहेको बताए ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टुरिष्ट म्यापमा हाँडीगाउँलाई समेट्नुपर्ने, यस क्षेत्रका कला संस्कृति र इतिहासलाई प्रस्तुती र बजारीकरण गर्ने तिर ध्यान दिनुपर्ने बताए ।

इतिहास पर्यटन र जीवनशैली नजोडिकन समुदायको समुन्नती नहुने भन्दै त्यसतर्फ ध्यान दिन स्थानीय तथा प्रादेशिक सरकारलाई अनुरोध गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मठमन्दिर र गुठीहरु बहालमा लगाएर व्यक्तिले उपयोग गरिरहेको बताउँदै नेपाल भ्रमण वर्ष २०२० मा हाँडीगाउँ क्षेत्रलाई समेट्दै स्थानीय नागरिकको आर्थिक बृद्धि र आय आर्जनसँग जोड्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य नारायण सिलवालले हाँडीगाउँको समग्र विकासलाई माथि उठाउन संरक्षण र पर्यटकीय हिसाबले अघि बढाउन एकीकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिदैं हाँडीगाउँको समग्र विकासलाई ठोस रुपमा अगाडि बढाउन पशुपति विकास कोष वा लुम्बिनी बिकास कोष जस्तै हाँडीगाउँ विकास कोष बनाउनुपर्नेमा जोड दिए ।

इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले हाम्रा पूर्खाहरुले दान गर्ने परम्पराको थालनी गरेकोमा अहिलेको पुस्ता अरुको खाने वा सार्वजनिक जग्गा मिच्ने मानसिकताबाट अघि बढेकोले सार्वजनिक सम्पत्ति र पुरातात्विक, ऐतिहासिक सम्पदाको संरक्षण हुन नसकेको बताउँदै हाँडीगाउँको विकासको लागि स्थानीय जनता र जनप्रतिनिधिहरुले आवश्यक पहल गर्नुपर्ने बताए ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले हाँडीगाउँ क्षेत्रको विकासको लागि पर्यटन तथा होटल संघ मार्फत गर्नुपर्ने जुनसुकै सहयोगको लागि आफू तयार रहेको बताए ।

ललितपुर महानगरपालिका पर्यटन सल्लाहकार तथा पर्यटनविद् दिलेन्द्र राज श्रेष्ठले हाडीगाउँलाई हेरिटेज टुर क्षेत्र बनाउन र नेपाल भ्रमण वर्ष २०२० मा समावेश गराउन पहल गर्नुपर्ने बताउँदै हाँडीगाउँको मौलिकता गुमेको कारण यसलाई सेलिङ गर्न गाह्रो हुने बताए ।

संस्कृति तथा इतिहासविद् प्रा.डा. धनबहादुर कुँवरले जयवर्माको मूर्ति नेपालको सबैभन्दा पुरानो मध्यको एक रहेको बताउँदै कैलाशकुट दरबार यही क्षेत्रमा रहेको धेरै आधारहरु भएकोले विज्ञ मार्फत राज्यको तर्फबाट उत्खनन र संरक्षण गर्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा निर बहादुर कार्की, गणेश मानन्धर, रोचक घिमिरे, भरत शर्मा, बद्री नेपाल, राजीव रेग्मी, लगायतले आफ्नो धारणा राखेका थिए ।

विशालनगर हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचालन उत्तम शर्माले गरेका थिए भने त्रिशक्ति महिला समूहको तर्फबाट मिना श्रेष्ठले स्वागत, महानगरपालिकाका सम्पदा तथा पर्यटन विभाग प्रमुख ई. राम बहादुर थापाले स्वागत मन्तव्य, शहरी योजना आयोग कामपाका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष रमेश डंगोल लगायत समाजसेवी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्