चिण्डो तोडफोड हुनु सभ्यता माथिको प्रहार: थुलुङ राई संस्कृति प्रतिष्ठान



 

१८ अषाढ २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको प्रवेशद्वारमाथि राखिएको चिण्डो तोडफोड भएकोप्रति थुलुङ राई संस्कृति प्रतिष्ठानले आपत्ति जनाएको छ ।

राई संस्कृतिसँग जोडिएको चिण्डो तोडफोड हुनु सभ्यता माथिको सिधा प्रहार भएको प्रतिष्ठानको ठहर छ ।

अध्यक्ष निर्कुधन राईले फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्ता घृणित र अपमानित कार्य गर्नेलाई कुनै पनि हालतमा कारबाही हुनुपर्ने माग गरेका छन् ।

“देशमा लामो समयसम्म भएको जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त भएको राजनैतिक परिवर्तनसँगै सबै भाषा, संस्कार, संस्कृती, र धर्मलाई संरक्षण गर्ने अधिकार अनुसार नै स्थानीय सरकारको अगुवाइमा निर्माण भएको प्रवेशद्वारमा यस्तो हर्कत देखाउनु निन्दनीय कार्य हो ।” उनले लेखेका छन् ।

त्यस्तै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई तथा प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले यस्ता गैरकानूनी कार्य गर्ने तत्वलाई पत्ता लगाई कानूनको कठघरामा ल्याउने भन्दै आक्रोश व्यक्त गरे ।

प्रवेशद्वारमाथि राखिएको चिण्डो गएराति तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्