एउटा किवंदन्ती जस्तैः ४ वर्षदेखि दाम्लामा शिव कुमाल



०८ अषाढ २०७६, काठमाडौं

कोही नाम्लोमा बाँधिएका छन् । कोही जन्मेदेखि ओछ्यानबाट निस्कन सकेका छैनन् ।

कसैको कम्मरभन्दा तलको भाग नचल्ने समस्या छ । कसैको टाउको नचल्ने समस्या छ ।

कसैको कान नसुन्ने व्यथा छ । ती कुमालहरुको आफ्नै कथा छ ।

पाल्पा, रिब्दीकोट गाउँपालिकाको वडा नं १ अन्तर्गत एउटा जोगिथुम कुमालबस्ती छ । जहाँ सयौंको सख्यांमा माथि भनिएजस्तै समस्याहरुबाट ग्रस्त मानिसहरु भेट्टाईन्छन् ।

बस्तीमा बालबच्चादेखि बृद्धबृद्धासम्म यी र यस्तै समस्याका शिकार बनेका छन् । उनीहरुमा चेतनाको कमी छ । पारिवारिक स्थिती नाजुक छ । त्यसैकारण अस्पताल गएर उपचार गर्न पनि सक्दैनन् ।

कसैलाई शारिरिक समस्या छ । कसैलाई मानसिक असन्तुलनको पिंडा छ । कसैलाई धेरै दुःख छ यहीँ समस्याको कारण, अनि कोही बेचैन छन्, यहीँ समस्याबाट थोरै पनि टाढिँन नसक्दा ।

१०० भन्दा बढी घुरधुरी रहेको त्यो गाउँका अधिकांश व्यक्तिहरु अशिक्षित भेट्टाईन्छन् । एउटै घरमा तीनदेखि पाँच जनासम्म अपाङ्ग हुनाले झनै बस्ती नै झनै कायर भएको जस्तो महसुस हुन्छ ।

अनि सपाङ्गहरु जत्ति छन्, तिनीहरु पनि परिवारको अन्य अपाङ्ग सदस्यहरुलाई हेर्नै नसकी अपाङ्गै हुन्छन् ।

कोही भन्छन् कुल बिग्रियो । कोही भन्छन् पितृ रिसायो । कोही भन्छन् देउता झस्कियो । अनि कोही कोही त बोक्सीले दुःख दियो पनि भन्छन् ।

पूरै अन्धविश्वासले छानो लाएको बस्तीमा बाँचेका ती कुमालहरुको यो समस्या साझा जस्तै बन्दै गएको छ ।

यीनै समस्याहरुको कारणबाट गाउँ/बस्तीका प्रायः बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा छन् । किताब देखेका छैनन् । कलमको स्वरुप थाहा छैन । अनि कपीको बनावट थाहा पाउँदैनन् ।

किनकी, पूरै समाज नै त्यस्तै खालको छ । २१ औं सताब्दीको यो समय । त्यो समाजलाई नियालिरहँदा लाग्छ, उनीको जीवनै अभिषाप छ ।

अझैसम्म गाउँमा जन्मेका बच्चाहको समस्या त्यस्तै हुने गरेको अपाङ्ग पुनस्थापन कार्यक्रम पाल्पाका संयोजक कृष्ण गहतराज बताउँछन् ।

यसको कारण केहो भनेर सोध्दा वडा नं १ का अध्यक्ष विष्णु गैरे भन्छन्, “यसका धेरै कारणहरु हुन सक्छन्, तर यसको एउटा कारण भनेको चाहिँ छिट्टो विवाह पनि हुन सक्छ ।”

कुमालबस्तीका बालबालिकाहरुको सानै उमेरमा विवाह हुने गरेको अध्यक्ष गैरे बताउँछन् ।

बस्तीमा शिव कुमार कुमाल नाम गरेका एक बालक छन् । उनी विगत ४ वर्षदेखि एउटा किलामा फलामको सिक्रीले बाँधिएका छन् ।

परिवारमा उपचार गराउने हैसियत छैन । स्थिती धेरै नाजुक छ । नजिकका एकाध अस्पताल पुर्याएपनि ठिक नभएपछि सिक्रीमा बाँधिएको उनको परिवारका अन्य सदस्य बताउँछन् ।

गाउँका कुमालहरुसँग आफ्नै प्रशस्त जग्गाजमिन छैन । त्यसैले अधिकांश दिनहरु ज्यालामजदुरीमा बिताउँछन् ।

देशमा लोकतन्त्र आईसक्यो । मुलुक संघीयतामा गईसक्यो ।

देशमा सुख, शान्ति अनि समृद्धि आउने क्रम जारी छ । नेपालमा देश नभएपनि व्यक्ति धनी बनिसके ।

देश अलिकति भएपनि समृद्धिमा पुग्यो । तर, त्यो कुमाल बस्तीको समस्याको कथा कुनै किवदंन्तीभन्दा कमको छैन ।

देशमा स्थानीय सरकार गठन भएको पनि लगभग ढाई वर्ष बित्यो । देशको ७५३ ओटा स्थानीय तहहरुको आ–आफ्नै खालका समस्या त होलान् । तरपनि रिब्दीकोट गाउँपालिकाको जोगिथुम कुमाल बस्तीको जस्तोभने कमै विरलै होलान् ।

गाउँपालिकाले पनि सो बस्तीको लागि धेरै कामहरु गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी बताउँछन् ।

बस्तीका लागि गाउँपालिकाले शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा साथै अन्य विकास निर्माणको काम पनि उत्तिकै ध्यान दिएको उनी बताउँछन् ।

तर, ती सबै कार्यहरुको बाबजुद पनि कुमालहरुको समस्या भने ज्यूँको त्यूँ छन् ।

प्रतिक्रिया दिनुहोस्